त्यस दिन बिहानैदेखि प्रधानमन्त्री श्री ३ मोहनशमशेरको अनुहार अँध्यारो थियो। हतास र आक्रोशित पनि देखिन्थे। उर्दीअनुसार भाइ–भारदारहरू सिंहदरबार पटाङ्गिनीको पहिलो चोकमा आयोजित ‘भारदारी सभा’का लागि जम्मा भइसकेका थिए।
श्री ३ मोहन सिंहदरबारको तेस्रो तलामा कोटरीको बैठकबाट निस्के। र, उपस्थित भारदारहरूलाई सम्बोधन गर्दै सोधे, ‘पटकपटक श्री ५ त्रिभुवन र मौसुफका उत्तराधिकारीहरूलाई भारतीय दूतावासबाट फर्किबक्सन अनुरोध गर्दा सुनुवाई भएन। शाह वंशलाई मान्ने हाम्रो परम्परा भएकाले मौसुफकै वंशजका माहिला शाहज्यादा श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने कुरामा तिमीहरूको के विचार छ?’
श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने निर्णय सर्वशक्तिमान श्री ३ मोहनले सुनाइसकेपछि कसैले विरोध गर्न सक्ने कुरा थिएन। खाद्य विभागका प्रमुख गयाप्रसाद शाहले ‘श्री ५ त्रिभुवनसँग कुराकानी गर्ने हो कि’ भन्नेबाहेक कसैले विमति जनाएनन्।
सबैले ‘हो मा हो’ मिलाएपछि युवराज श्री ५ महेन्द्रका माहिला छोरा शाहज्यादा ज्ञानेन्द्रलाई राजाका रूपमा गद्दीमा राख्ने प्रक्रियाले वैधानिकता पायो।
अघिल्लै दिन मामाघर बागदबारबाट सिंहदरबार ल्याइएका शाहज्यादा ज्ञानेन्द्रलाई दिउँसो हनुमानढोका दरबार पुर्याइयो। त्यहाँ माहिला बडागुरुज्यू हेमराज पाण्डेले श्री ३ मोहनको उपस्थितिमा साढे ३ वर्षीय ज्ञानेन्द्रलाई श्रीपेच पहिर्याए।