कुलमानजी फेरि जानुभो, तिहारको छेक पारेर। टोलमै रहेको बट्टाइ फार्मको जेनरेटर ‘दहाडन’ चल्न थालेपछि मैले यस्तै सोचेँ। आज त केही लेख्छु आयातित ‘बम धमाका’ छाप संस्कृतिका पटके प्रहारहरूले जतिनै मनको शान्ति भंग गरे पनि, यस्तै सोचेर पलेटी कसेको थिएँ।
एकैछिनमा कोकिलकंठी तारादेवीले गाएको, नातिकाजीको संगीतले सजिएको दिनेश अधिकारीको मुटु छियाछिया पर्ने गीत ‘सोचेजस्तो हुन्न जीवन…’ चरितार्थ भएजस्तो पो लाग्यो।
त्यसै त प्रसन्न भएर घाम नलागेको बेला मूड बिग्रन अब के नै चाहिन्थ्यो र? यस्तै हो भने जेनरेटरको ‘दहाड’ बीच कसरी निदाउन सकिएला खै!
पंक्तिकारलाई अझै सम्झना छ, केही वर्षअघि घण्टौँको व्यग्र प्रतिक्षापछि जब चिमहरू, फ्लुरोसेंट ट्युबहरू बल्थे, जब फ्रिज, कम्प्युटर, टिभी चल्न थाल्थे तब टोलका बालबालिकाहरू ‘बत्ती आयो…बत्ती आयो…’ भन्दै एकै स्वरमा चिच्याउँथे।