जसले तारेको माछा जनकपुरबाट काठमाडौंसम्म पुग्छ

सेतोपाटी

रोहित महतो

तीस वर्षअघि उनी जनकपुरको एउटा कपडा पसलमा काम गर्थे। महिनाको छ सय रूपैयाँ कमाइले श्रीमती, छोराछोरीको गुजारा गर्न सम्भव नभएपछि उनी विकल्पको खोजीमा थिए।

पसलमा बस्दा प्राय: त्यस्ता व्यक्तिसँग उनको संगत भयो जो माछा खान एकदमै रूचाउँथे। त्यसैबाट प्रेरित भएर माछा होटल खोल्ने उनलाई जुक्ति फुर्‍यो।

जनकपुरधाम उपमहानगरपालिका–४ का सरोजप्रसाद साहले त्यसपछि जानकी मन्दिरको दक्षिणी गेटछेउ होटल खोले।

'परिवारमा कसैले होटल चलाएका थिएनन्, बुवाले खानदानको नाम डुबाउने भयो भनेर खुब चिन्ता मान्नुभयो,' उनले भने, 'मलाई भने कम लगानीमा चलाउन सकिने होटल व्यवसाय नै ठिक हुन्छ भन्ने लाग्यो। सानो छाप्रोमा होटल चलाउँदा पैसा डुब्ने जोखिम पनि कम थियो।'

सरोजले टेबल-कुर्सी, भाँडाकुँडा, चुह्लो लगायत सामान किन्न सुरूमा १० हजार रूपैयाँ लगानी गरे। बिस्तारै होटल चल्दै गयो। सबै खर्च कटाएर दिनकै तीन-चार सय रूपैयाँ बचत हुन थाल्यो। सरोजको निम्ति त्यो लाख बराबर थियो।

आज सरोज ६० वर्षका भए। जानकी मन्दिर र राजदेवी मन्दिरबीच गल्लीमा रहेको उनको 'घरेलु होटल आनन्द' जनकपुरमै चर्चित छ। बाँसको खम्बाले ठड्याइएको टहरा र जस्ताको छानामुनि प्लास्टिक र काठका पुराना टेबल-कुर्सी राखिएको उनको होटलले देहातको कुनै पसलको झल्को दिन्छ।

प्रकाशित मिति: : 2021-11-06 20:09:00

प्रतिकृया दिनुहोस्