पूर्व बग्ने गण्डकीय, पश्चिम बग्ने भेरी
गयाे बरै लाल्छि जाेवन, आउने छैन फेरी
हे... बाँचुन्जेल तेराे र मेराे, मरेपछि ढुङ्गाकाे चाैघेराे।
माथिकाे गीत दाङकाे मज्गाई नयाँ बस्तीका जयबहादुर गन्धर्वले आफ्नाे दायाँ काँधमा सारङ्गी अढ्याएर रेट्दै गाएका हुन।
घाेराही र तुलसीपुरकाे बीचमा पर्ने मज्गाईकाे न्यानाे हावा खाएर उकालो लागेका उनी दसैंकाे मुखमा हिमालकाे चिसाे हावा खान जुम्ला आइपुगेका छन्।
घर–घरमा गएर जुम्लीलाई सारङ्गीकाे धुनमा मुग्ध गराइरहेका उनलाई जुम्लाकाे सिमी प्याराे लाग्छ। सिमीकाे दाल खाँदा जिब्राे रसिलाे हुन्छ। परिवार खुशी हुन्छन्। त्यसैले सारङ्गीकाे धुनसँग सिमी साँट्न बेलाबेला जुम्ला आइरहन्छन्, उनी।
ठिक यतिबेला जुम्लीका घर–घरकाे छतमा सिमीका मिण्डा (छतमा राखिएकाे सिमीका खात) फिजारेर, चुटेर भित्र्याउने बेला भएकाे छ। हेरिकनै मन अघाउने सिमी उत्पादन गरेका जुम्लीलाई दुई माना सिमी कसैलाई सित्तैमा दिँदा पनि घाटा लाग्दैन। त्यसमाथि जयबहादुर त सारङ्गीकाे धुन सुनाउँछन्। अनि जुम्लीहरू खुशी हुँदै सिमी दिएर बिदाइका हात हल्लाउँछन्।
पहिलाे पटक २०६३ सालमा हिमालय क्षेत्रले उनकाे मन तानेकाे थियाे। त्यसछि जुम्लाकाे चिसाे हावा खान कहिले हरेक वर्षजसाे त कहिले एक दुई वर्ष बिराएर भए पनि उनी आइरहन्छन्।
उनी पहिलाे पटक जुम्ला आउँदा गाडी पुगेकाे थिएन। बाटाे बन्दै थियाे। दैलेखकाे खिड्की जिउलासम्म कच्ची बाटाे थियाे। त्यहाँसम्म जेनतेन गाडीमा आए। त्यसपछि हिडेर जुम्ला पुगे।
उनलाई जुम्ला उपत्यकामा बजाएकाे सारङ्गीकाे धुन गाउँ–गाउँसम्म पुगेजस्ताे लागेछ। जहाँ– जहाँ उनी पुगे, उतैउतै सारङ्गीकाे धुन पुग्याे। आफ्ना पाइला मेट्दै, छायाँलाई साथी बनाउँदै चाैधबीस दरा उक्लँदा लुम गाउँ भेटियाे। त्यहाँ उनले बजाएकाे सारङ्गीकाे धुनमा लट्ठ भएका गाउँले भेटिए। उनलाई कताकता आफन्त भेटिएजस्ताे लाग्याे। त्यसपछि लुम गाउँका मान्छेहरु सँधैका आफन्त भए।
'उसबेला हिँडेर जुम्ला पुगेँ। अहिले त गाडी छ। एक पटक आएकाे ठाउँकाे माया लागिहाल्दाे रहेछ,' उनले भने, 'लुम गाउँमा आफन्त बनाएकाे छु। सुरुमा त्यतै जान्छु। आइहाले अब मंसिर महिनाभरि यतै बसेर अलिकति सिमी लिएर जान्छु।'
उनी लुम बसेर चाैधबीस दराभरि सारङ्गीकाे धुन सुनाउँछन्। सारङ्गीकाे र्याँइर्याँइमा प्याराेडी गीत गाउँछन्।
नमुछे आमा दहीमा टिका, नछरे जमरा।
दैवले पर्दा उठायाे आमा, आउँदिन फर्केर।
गाउँघरमा बिरलै देखिने सारङ्गीकाे धुन र मिठा गीत सुन्दा बदलामा गाउँलेहरु सिमी दिन्छन्। सारङ्गीकाे धुन सुन्न गाउँलेहरुकाे भीड नै लाग्छ। बिएल नेपाली सेवासँग भेट हुँदा उनी जुम्ला पुगेकाे भर्खरै दुई दिन भएकाे थियाे। जुम्ला बजार कालेखाेलीमा लुमकै इष्टकाे हाेटेलमा बसिरहेका थिए। एक दुई दिन बजारमा सारङ्गी बजाएर लुम हिँड्ने तरखरमा थिए।
अहिले उनी ४५ वर्षका भए। उनले बच्चैदेखि सारङ्गी बजाउन सिकेका हुन्। 'दर सन्तान सबैकाे जीवन सारङ्गी बजाउँदै गयाे,' उनले भने, 'हामी त आमाकाे पेटमै सारङ्गीकाे धुन सुन्दै जन्म्याैं।'
तर, अब गाउँघरमा उस्तरी सारङ्गी बज्दैन। परम्परागत पेशाले परिवार पाल्न नसक्ने भएपछि धेरैले सारङ्गी बजाउन छाेडेका छन्। नयाँ पुस्तामा जीजुबाजेकाे परम्परागत पेशाप्रति आकर्षण छैन। पढाइलेखाई गरेका बच्चाहरु बचाउन लाग्दैनन्।
'बच्चाहरु बजाउन मान्दैनन्। अब त पढाइलेखाकाे जमाना पनि आयाे। सारङ्गी बजाएर बाह्रै मास खाना पनि पुग्दैन,' उनले भने, 'अनि किन बाजाउनु जस्ताे मान्छन्। हामीले सारङ्गी बजाएरै जेतनेत गुजारा गर्याैं। अब त जाेवन जाने बेला पनि भैगाे।'
जयबहादुर पनि बाह्रै साम सारङ्गी बजाउँदैनन्। बाबू बाजेले जसरी वर्षभरि सारङ्गी बजाउँदा हुनेखानेहरुकाे टाेकाई खानुपर्छ। अपमान सहनुपर्छ। 'सँधै सारङ्गी बजाउँदै हिँडियाे भने मान सम्मान पाइदैन। दिनेहरु पनि ठूलाे मन गर्दैनन्,' उनले भने, 'कहिलेकाहीँ सारङ्गी बाेक्दा परम्परागत पेशा पनि नछाडेजस्ताे देखिन्छ। मान्छेहरु रहर मान्छन्। आफ्नो मन पनि सन्तुष्ट हुन्छ।'
उनकाे घरमा श्रीमती, एक छाेरा र एक छाेरी छन्। छाेरा छ कक्षामा पढ्छन्। छाेरी पाँच कक्षमा। ढ्यारी, मजदुरीले नै उनकाे परिवार चलेकाे छ। तर, पनि दसैँ तिहारकाे समयमा उनी सारङ्गी बजाउन हिँडरिरहन्छन्।
यस्ताे बेला सारङ्गी बजाउँदा दैनिक हजार, १२ सय जति कमाई हुन्छ। जुम्लातिर आउँदा सिमी पाइन्छ। महिनाभरि बस्याे भने एक भारी जति सिमी जम्मा हुन्छ।
'एक पटक आएकाे ठाउँकाे माया लाग्दाे रहेछ। एक दुई वर्ष बित्याे कि यी डाँडापाखाकाे याद आइहाल्छ। यहाँकाे चिसाे पानीकाे तिर्खा लागिहाल्छ,' उनले भावुक हुँदै भने।
सारङ्गी गन्धर्व समुदायको बाजा हाे भनेर अन्तर्राष्ट्रिय समुदायलाई समेत थाहा छ। तर, याे नेपालमा लाेपुन्मुख स्थितिमा छ। 'भेट भएकाहरु टिभीमा देख्नु र प्रत्यक्ष देख्नु धेरै फरक रहेछ भन्छन्,' उनले भने, 'गाउँघरमा देखेपछि सम्मान गर्छन्।'