सामान्य लाग्ने निमेष, मिनट, घण्टा, दिन, साता, महिना, साल, युग, कालले आ-आफ्नै इतिहास बोकेका हुन्छन्। तिनको पृष्ठभूमि नेपथ्यमा रहन्छ तर इतिहासमा कमै मितिले नाम लेखाउँछन्। यस्तै एउटा मौलिकताको इतिहास नेपाल संवतसँग जोडिएको छ। हरेक वर्ष कार्तिक शुल्क प्रतिपदाका दिन नेपाल संवतको नव वर्ष प्रवेश हुन्छ।
पृथ्वीनारायण शाहले सन् १७६९ अर्थात् विसं १८२६ मा काठमाडौं उपत्यकामाथि विजय हासिल गरे। त्यतिन्जेल उपत्यकाका तीन राज्यले नेपाल संवत चलाउँथे। त्यसपछि भने विक्रम संवत चलाउन थालियो।
पृथ्वीनारायण शाहले उपत्यका जितेसँगै व्यवस्थामा परिवर्तन आउनु स्वाभाविकै थियो। त्यसमध्ये एक थियो, चलिरहेको नेपालसंवतको सट्टामा विक्रम संवत। मध्यकालसम्म राजपत्र तथा सिक्कामा समेत अंकित रहेको नेपाल संवतको प्रयोगमा त्यसपछि एक प्रकारको ‘ब्रेक’ लाग्यो।
एक जर्नलमा उल्लेख भएअनुसार राजा राघव देवको पालामा २० अक्टुबर ८७९ मंगलबारदेखि नेपाल संवतको प्रचलन सुरु भयो। मध्यकालभर (८७९-११९९ इ.सं) नेपाल संवत राजकीय संवतको रूपमा स्थापित थियो। मल्लकालीन समय (१२००-१७६९ इ.सं) सम्म यो कायम रह्यो। त्यसअघि भने लिच्च्छवी काल (४६४-६०४ इ.सं.)सम्म शक संवत चलाइन्थ्यो, उपत्यकामा। यस्तै, जुम्लाको खस राज्यमा पनि नेपाल संवत चलनचल्तीमा थियो। १४ औं शताब्दीमा पनि नेपाल संवत चलिरहेकै थियो।