मन बिसाउने ताल ! [फोटो फिचर]

महेन्द्रनगरका भरत रावत। जसले एक दिन टिकटक हेर्दै थिए। हेर्दै जाँदा जखेरा तालमा बनाएको एउटा भिडियो देखे। यसअघि जखेरा तालका बारेमा उनले सुनेका पनि थिएनन्।

टिकटककाे भिडियाेमा सेतो भुईँमा हरियो अक्षरले लेखेको दाङको लमही नगरपालिका वडा नं. ३ स्थित चुरे पहाडको फेदमा अवस्थित ‘जखेरा ताल’ देखेका रावलको मनमा अब भने त्यहाँ पुग्ने इच्छा पलायो।

‘यसका बारेमा मलाई पहिले त थाहा थिएन, एक दिन टिकटकमा भिडियाे हेर्दै जाँदा देखेँ, अनि यहाँसम्म आउने इच्छा जाग्यो आए,’ बिएल नेपाली सेवासँग रावलले भने।

जखेरा ताल परिसरमा विहान ९ बजे भेटिएका उनले आफूले सोचेको भन्दा ताल राम्रो भएको प्रतिक्रिया दिए। ‘टिकटकमा त अक्षर मात्र देखेंको थिए, अरु केही देखेको थिएन। त्यसैले मेरो मन तानेको हो। यहाँ आउँदा अझ राम्रो रहेछ,’ रावलको भनाई छ।

अघिल्लो दिननै एक्लै लमहीमा आएर बास बसेका उनी विहानै ताल हेर्न पुगेका थिए। अरु साथीहरु कता? भन्ने प्रश्नमा उनले भने, ‘छैनन् अरु। म एक्लै हो। ताल हेर्न मन लाग्यो, हिजो बाइक स्टार्ट गरे आएँ।’

रावल जस्तै सुर्खेतबाट ताल हेर्नका लागि विहानै आएका युवराज शर्मा पनि भेटिए। साथीहरुसँग रहेका शर्माले दाङ आउनु अन्य काम केही नभएर ताल हेर्नका लागि आएको बताए।

‘तालका बारेमा सुनेको थिए। फोटोहरु पनि देखेको हो। हेर्न आउन मन लागे पनि समय मिलेको थिएन। आज मिल्यो आइपुगेको छु,’ उनले भने।

तालसँगै वरपर रहेको हरियाली रमणीय वातावरणले मन लोभ्याएको उनको भनाई छ। रावल र युवराज जस्तै जखेरा ताल हेर्न आउनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।

दाङकाे लमही बजारदेखि ५ कि.मी. पूर्व (पूर्व–पश्चिम राजमार्ग हुँदै) र त्यसपछि १ कि.मी. उत्तर तर्फ यो ताल रहेको छ। अहिले ताल क्षेत्रलाई आकर्षक बनाउँदै लगेपछि पर्यटक आउने क्रम बढेको स्थानीय बताउँछन्।

अहिले दैनिक ३०० बढी पर्यटक ताल क्षेत्रको अवलोक गर्न आउने गरेका छन्। यो संख्या तिहारपछि त ह्वात्तै बढ्ने लमही नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए।

आन्तरिक पर्यटकका लागि जखेरा ताल रोजाईको क्षेत्र हो। विशेष गरेर वनभोजका लागि पनि यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। साथै जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन्। जलविहार गर्न ५ वटा डुङगा रहेका छन्। करिब सात विगाहा क्षेत्रफलमा ताल फैलिएको छ।

जखेरा ताल र धार्मिक महत्व 

जखेरा ताल एक धार्मिक स्थल पनि हो। तालभित्र र बाहिर गरेर यहाँ चार वटा मन्दिर रहेका छन्। तालभित्र नै दुई वटा मन्दिर छ। तालको उत्तरतर्फ गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ। मन्दिरमा जानका लागि डुङ्गा चढ्नु पर्छ।

यस तालमा मेलाहरु पनि लाग्ने गर्दछ। माघी (माघे सङ्क्रान्ति) र शिवरात्रीमा यहाँ मेला लाग्छ। शिवरात्रीमा यहाँ भजनकृतन पुजापाठसमेत गरिन्छ। अन्य समयमा पनि यहाँ पुजापाठ गर्ने गरिन्छ।

राजमार्गको नजिकै भएकाले जखेरा तालमा पुजापाठ गर्न भारतबाट पर्यटकहरु आउने गर्छन। विशेष गरेर प्युठानको स्वर्गद्धारी जाँदा भारतीय पर्यटक यस तालको पनि अवलोकन गर्ने गरेका छन्।

दुई करोड बराबरको लागानी

जखेरा तालको संरक्षण तथा आकर्षक बनाउनका लागि स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि ४ वर्षमा दुई करोड बराबरको लगानी भइसकेको छ। प्रदेश तथा स्थानीय सरकार र सांसद विकास कोषको गरी दुई करोड बराबरको लागानी भएको वडाध्यक्ष चौधरीले बताए।

ताल क्षेत्र पहिले भन्दा आकर्षक बनाएको भन्दै त्यसले गर्दा पनि पर्यटकको रोजाईमा पर्दै उनको भनाई छ। उनका अनुसार पहिले पिकनिक खाने समयमा (दिउँद) मात्र धेरै पर्यटकहरु तालमा आउने गर्दथिए। अहिले भने त्यस संख्या बढ्दै गएको उनको भनाई छ।

लोकल कुखुराको लागि परिचित 

जखेरा ताल क्षेत्र लोकल कुखुराका लागि परिचित बन्दै गएको छ। यहाँ मासु पारखीहरुका लागि विशेष गरेर लोकल कुखुरा पाइने गर्दछ। ‘घुम्नेसँगै लोकल कुखुराको मासु खानेका लागि जखेरा ताल रोजाइको क्षेत्र बनेको छ,’ वडाध्यक्ष चौधरीले भने।

उनले जखेरा तालले आन्तिरिक रोजगारी सिर्जना पनि गरेको बताए। ‘लोकल कुखुरा पाल्नेदेखि मासु बेच्नेको व्यवसाय राम्रो भएको छ। साथै अन्य व्यवसाय गरेर रोजगारी सिर्जना गरेको छ,’ चौधरीको भनाई छ।

यस्तो छ जखेरा तालको इतिहास

जखेरा तालमा पानीको मुल छैन। यहाँ आकाशबाट आएको पानी जम्मा हुने गर्दछ। आजभन्दा लगभग ६०/६५ वर्षअघि सोनपुर गाविसका प्रायः जमिनहरू सुख्खा थिए र पछि वर्षाको पानी सङ्कलन गरी सिंचाइ गर्नका लागि दिबु चौधरीले यसको बाँध निर्माण सुरु गरेका थिए।

यस कार्यमा स्थानीय सोनपुर गविसका गाउँहरू टिकुलीगढ, फल्कापुर र श्रीगाउँका वासिन्दाले पनि साथ दिए। यहाँ पानी जम्मा हुन थाल्यो। यो थारु समुदायको बाहुल्यता रहेको क्षेत्र हो। थारु भाषामा पानी जम्मा गर्ने ठाउँलाई जखेरा भनिन्छ। पछि यही जखेरा भन्ने ठाउँ नै जखेरा तालका नामले परिचित बन्याे।

प्रकाशित मिति: : 2021-11-02 16:00:00

प्रतिकृया दिनुहोस्