समुद्री सतहबाट तीन हजार नौ सय फिट उचाइमा पर्छ, उपल्लो मुस्ताङको ध्ये गाउँ। सोही गाउँका बासिन्दा हुन्, ४७ वषीय पासाङ गुरुङ। उनी अहिले करिब १२ किलोमिटर तलको थाङचुङमा बसाइँ सरेका छन्। उनले पुख्र्यौली थलो ध्ये गाउँ छाड्नुको कारण भने अनौठो छ। केही समययता यो गाउँमा पानीको चरम अभाव भएको छ। पानीबिना जीवन चलाउन हम्मे परेपछि उनका लागि थाङचुङमा बसाइँ सर्नुको विकल्प भएन।
हिमाली भेगको पानीको स्रोत नै हिउँ पग्लिएर बग्ने र मुल फुट्ने पानी हो। हिउँ पग्लिएको पानीबाटै आफू पिउन, घरपालुवा पशुलाई दिन र सिँचाइ गर्न पुग्थ्यो। त्यही स्रोत सुकेपछि हिमाली भेगको यो गाउँका बासिन्दामा संकटमा परे। र, धमाधम पानी पाइने नजिकका बस्तीमा बसाइँ सरिरहेका छन्।
यो समस्या आएको एक दशक बित्यो। यस १० वर्षमा उनीहरूले जेनतेन गुजारा पनि चलाए। तर, अब त्यही गुजारा पनि नचल्ने भयो। अनि बसाइँ सर्नुमै जीवन जिउने आधार देखे।
‘पानीका मुहान सुक्न थालेपछि वर्षमा एक बाली उत्पादनमा पनि हुन छाड्यो,’ पासाङ भन्छन्, ‘उत्पादन नभएपछि भेडा, च्याङ्ग्रा पाल्नसमेत समस्या पर्न थाल्यो, त्यसैले गाउँ छोड्न बाध्य भयौँ।’
उनको परिवार आठ सदस्यीय छ। ध्ये गाउँमा बसेर जीवन धान्न गाह्रो भएपछि थाङचुङ झरिसक्यो उनको परिवार। करिब तीन वर्षयता परिवार थाङचुङमै छ। पासाङ भने बेलाबेलामा पुख्र्यौली थलो पुग्छन्। र, घर र जमिनको रेखदेख गर्छन्। तर, अब फेरि पुख्र्यौली थलो फर्किने सोच उनले त्यागिसकेका छन्। भावुक हुँदै उनी भन्छन्, ‘समयमा वर्षा नहुँदा पानीको अभावले नै प्यारो गाउँ छाड्नुपयो।
’उनका अनुसार ध्ये गाउँमा पानीको मुहान सुक्न थालेको १० वर्ष बित्यो। न त समयमा हिउँ पर्छ, न हिउँ पग्लेको पानीबाट मुल नै फुट्छ।