ग्लास्गोमा देउवाले उठाउनुपर्ने नेपालका मुद्दा

सेतोपाटी

काठमाडौँ

संयुक्त अधिराज्यको ग्लास्गोमा यही कात्तिक १५ र १६ गते हुने २६औं राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार त्यसतर्फ जाँदैछन्। यो ग्लास्गो जलवायु सम्मेलन आखिर हो के? किन हाम्रा लागि महत्वपूर्ण छ? आज म यसबारे चर्चा गर्दैछु।

बाह्र वर्षअघि सन् २००९ डिसेम्बरमा डेनमार्कको कोपनहेगनमा १५औं राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन हुँदा नेपालले कालापत्थरमा मन्त्रिपरिषद बैठक गरेको थियो। उक्त बैठकले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको बढ्दो तापक्रमप्रति विश्वको ध्यानाकृष्ट गरेको थियो। त्यस्तै, मालदिभ्सले समुद्रमुनि मन्त्रिपरिषद बैठक गरेर बढ्दो समुद्री सतहले आफ्नो अस्तित्व मेटिन लागेको खबर संसारलाई सुनाएको थियो।

यसपालि भने हिमाली क्षेत्रतर्फ विश्वको ध्यान खिच्न नेपालले कालापत्थर मन्त्रिपरिषद बैठक गरेन। माल्दिभ्सजस्ता टापु देशहरूमा पनि बढ्दो समुद्री सतहलाई लिएर चिन्ता जताउन मन्त्रीहरू अक्सिजन सिलिन्डर बोकेर पानीमुनि गएनन्।

कोपनहेगनमा १५औं जलवायु परिवर्तन सम्मेलनअघि कालापत्थरमा मन्त्रिपरिषद बैठकपछि पूर्वप्रधानमन्त्री माधव नेपाल। माल्दिभ्समा समुद्रको पानीमुनि आयोजित मन्त्रिपरिषद बैठकमा एक मन्त्री। यति हुँदाहुँदै ग्लास्गोमा हुने जलवायु सम्मेलन (कोप-२६) मौसमी विपत्तिको गम्भीर प्रभाव भोगिरहेका नेपालसहित थुप्रै साना र ठूला देशका लागि महत्वपूर्ण छ।

केही महिनाअघि मात्र जर्मनी, चीन र अन्य देशमा आएका विनाशकारी बाढीका तस्बिर ग्लास्गो यात्रामा जान लागेका विश्व नेताका दिमागमा आलै हुनुपर्छ। सम्भवत: जलवायु परिवर्तनकै कारण ती अप्रत्यासित विपद् आइपरेका हुन्। तिनको सामना गर्न सक्ने गरी पूर्वाधार नबनेकाले धेरै जनधन क्षति भएको विज्ञहरूको मत छ।

प्रकाशित मिति: : 2021-10-29 11:07:00

प्रतिकृया दिनुहोस्