मुरीका मुरी धान भित्र्याउँथे, अहिले एक-एक मुठीको दु:ख छ

बेमौसमी बाढीले दिएको सास्ती

सेतोपाटी

राजु अधिकारी

सबैतिर धान रोप्ने चटारो हुँदा मोरङ, जहदा क्षेत्रका धेरै किसान पानी कम भएको रनाहामा थिए। जब धान भित्र्याउने बेला भयो, बेमौसमी झरीले निम्त्याएको बाढीले धान सखाप पारिदियो।

अब वर्षभर के खाने? पीडाको रनाहा फेरि दोहोरियो। ‘अबको केही दिनमा मनका मन (तराईमा ४० किलोग्रामलाई एक मन भन्ने चलन छ) धान खलियानबाट भित्र्याइन्थ्यो,’ मोरङ, जहदा-२ का किसान दिनेश्वर साह भन्दै थिए, ‘यसपटक एक-एक मुठी जम्मा गर्न पनि दु:ख छ।’

उनको ६ बिघाको धानखेतमा सिघिंया खोलाको लेदोसहितको बाढी पस्यो। डुबेको बालीबाट बीउ जोगाउने धान निकाल्न पनि मुस्किल भयो।किसानका अनुसार धानको धेरैजसो भाग बाढीले पुर्यो। बाँकी रहेको बाली खेतैमा उम्रिएर भुर्कुट। जोगिएको धान भिजेर उम्रन थालेपछि खान पुग्ने धान संकलन गर्न गाह्रो भयो।

दिनेश्वर आफैं अघिल्ला वर्षहरूमा डेढ–दुई सय मन धान बेच्थे। त्यसबाट प्राप्त खर्चले परिवार चलाउने, नानीहरू पढाउने, औषधि उपचार गर्ने सबै खर्चबर्च जोहो हुन्थ्यो। खेतीपातीका लागि लगानी त्यहीँबाट पुग्थ्यो। ‘यसपटक के गर्ने साह्रै दोधार छ,’ उनले भने, ‘६ बिघाबाट खान पुग्ने धान निस्कन पनि मुस्किल छ।

धान र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिने जहदाका सयौं किसानले बेमौसमी बाढीको कहर भोगेका छन्। जहदा-४ का ६३ वर्षीय लालबहादुर सिंहले एक महिनाअगाडि एक बिघामा लगाएको तरकारी खेतीमा बाढी पस्दा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको बताए ।

प्रकाशित मिति: : 2021-10-28 10:43:00

प्रतिकृया दिनुहोस्