विद्यार्थीलाई निकालेर भोज हुँदा मेस चल्छ, बिहे हुँदा जन्ती सुत्छन् विद्यालयमा

सेतोपाटी

रोहित महतो

मंगलबार दिउँसो साढे ११ बजे। विद्यालयमा आयोजना गरिएको भोजमा थरिथरिका परिकार बन्दै थियो।

विद्यालयको प्रांगणमै भाँडाकुडा छरेर खाना पकाउनेहरू हतारिँदै काममा लागेका थिए। केही शिक्षक कक्षामा थिए भने केही अफिसमा बसेर गफमा मस्त थिए।

धनुषाको औरही गाउँपालिका-२ स्थित श्री माध्यमिक परबाहा देउरीका विद्यार्थी पढ्ने दुई वटा कोठा भोज सामग्री तथा परिकारले भरिभराउ थियो। भोजका ती समाग्री राख्नकै लागि ७ र ८ कक्षाका विद्यार्थीलाई विद्यालयकै अर्को भवनमा सारिएको थियो। दोस्रो घन्टी लागेको थियो। तर कक्षा ८ मा पढाउने शिक्षक थिएनन्। विकल्प नहुँदा विद्यार्थीले कुराकानी गर्दै समय बिताउँदै थिए।

भोजको मगमग बास्नाको आनन्द लिइरहेका ती विद्यार्थीहरू छुट्टीको घन्टी बज्ने पर्खाइमा थिए। केही शिक्षकहरू भोजभतेर गर्ने स्थानीयसँगै गफिँदै थिए। फोटो खिच्न थालेपछि स्कुलमा पत्रकार पुगेको भेउ पाएका स्थानीयसँगै शिक्षकसमेत कड्किए।

कक्षामा शिक्षक नहुँदा खाली बसेका विद्यार्थीसँग सञ्चारकर्मीले कुराकानी गर्न लाग्दा उनीहरू आक्रोशित बने।

‘विद्यार्थीसँग के कुरा गर्नुहुन्छ? जे कुरा गर्नुछ हामीसँग गर्नुस्। तपाईंहरूलाई कसले फोन गरेर बोलायो? नाम भन्नुस् न,’ आक्रोशित हुँदै एक शिक्षकले भने।

स्थानीय श्रीकृष्ण यादवको मृत्यु भएको १३ औं तिथिमा भोज आयोजना गरिएको थियो।

विद्यालयमै भोजभतेर आयोजना गरिएको यो पहिलो पटक भने होइन। विद्यालयका प्रधानाध्यापक रामनाथ साहका अनुसार विद्यालयमा मरण-हरणदेखि बिहे भोज र जन्ती राख्ने काम हुनु सामान्य बनिसकेको छ।

भोजभतेरले विद्यालयमा अध्ययरत एक हजार बढी विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ। यहाँ १२ कक्षासम्म पढाइ हुन्छ।

‘समाजकै स्कुल हो। समाजले नै त्यस्तै गर्न भन्छ भने हेडसरले रोक्न मिल्दैन। कहिलेकाहीँ केटाहरूको झुण्डै आउँछ। हामीलाई गर्न मिल्दैन भन्न डर लाग्छ,’ प्रधानाध्यापकले भने।

प्रकाशित मिति: : 2021-10-27 14:38:00

प्रतिकृया दिनुहोस्