डोल्पामा हवाई टिकटको बेथिति: बिरामीलाई घर फर्काइन्छ, नेता र कर्मचारीको घरमै पुग्छ टिकट (भिडियासहित)

टिकट पाउन सीडीओदेखि मन्त्रीसम्मको शक्ति लगाउने पर्ने

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, मुगुलगायतका जिल्लाहरुमा आवतजावतका लागि सडक यातायातको राम्रो सुविधा छैन।

डोल्पा र मुगु सडक खण्डमा जोडिए पनि सडक स्तरउन्नति नहुनुका साथै पक्की पुलहरु नहुँदा दर्जनौं ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यसकारण पनि कर्णालीका जिल्लामा सडकमार्गबाट यात्रा गर्न जोखिमसँगै अत्यन्तै झन्झटिलो छ। कर्णालीमा सडकको विकल्प हवाई यातायात मात्रै हो।

जहाजमा सजिलै र छोटो समयमै विशाल पहाड छिचोल्दै गन्तव्यमा पुग्न सकिने भएकाले कर्णालीका नागरिकहरु हप्तौं कुरेर भए पनि हवाई जहाज नै रोज्ने गर्दछन्।

जुफाल एयरपोर्टमा यात्रु खचाखच

डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरु खचाखच भरिन थालेका छन्। दसैँ मनाएर शहर फर्किने सर्वसाधारण, विद्यार्थी र डोल्पाका पर्यटकीय क्षेत्रहरुमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण जुफाल विमानस्थलमा यात्रुहरुले खचाखच भरिएका हुन्।

दैनिक दुईदेखि तीन वटा मात्रै हवाई उडान हुने भएकाले यात्रुहरु चाप बढ्दै गएकाे नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

पहुँच हुनेलाई एकछिनमा टिकट 

जुफाल विमानस्थलमा पहुँच हुनेहरू एकै दिनमा उड्ने गरेका छन्। एयरलाइन्सका कर्मचारी, पाइलट, सिडिओ, सांसद र मन्त्रीका मान्छेहरु एकदिनमै उड्ने गरेका हुन्।

जहाजको आशामा जुफाल विमानस्थल पुग्ने सर्वसाधारणहरु हप्तौं कुर्दा पनि टिकट पाउँदैनन्। एयरलाइन्समा आवद्ध कर्मचारी र नेताहरुसँग चिनजानका व्यक्तिहरुले मात्रै टिकट पाउने गरेको एयरपोर्टमा पुगेका यात्रुहरुको गुनासो छ।

'आफू दमको विरामी छु, यसैको उपचारका लागि नेपालगञ्ज जान खोजेको थिएँ, तीन दिनसम्म कुर्दा पनि टिकट पाएको छैन्', काइके गाउँपालिका गज बुढाले बिएल नेपाली सेवासँग दुखेसो पोखे।

'होटेलमा बस्दा, खाँदा धेरै खर्च भइसक्यो, अझ कति दिन टिकटको आशमा बस्नुपर्ने हो थाहा छैन्, कहाँ कसरी टिकट पाइन्छ थाहाँ छैन्' उनले थपे।

फोक्सुण्डो घुम्न आएका ललितपुरका अमन थापाले टिकट नपाएर तीन/चार दिनदेखि एयरपोर्टमै थन्किएको बताए।

'टिकट कहाँ कसरी बाँडिन्छ केही पनि थाहाँ नहुँदो रहेछ, टिकट कसरी पाइन्छ भनेर सोध्दा आफ्ना चिनजान भएका ठूला मान्छेसँग फोन गराउनुस् नत्र टिकट पाइदैन भन्छन्,अनाइनबाट टिकट बुक गर्न पनि सकिँदो रहेनछ' थापाले भने।

'कर्मचारी र पाइलटका मान्छे मात्र उड्ने रहेछन्,भोलि पनि नौ/दश जना पाइलटका मान्छेहरु उड्दैछन भन्ने सुनेको छु, आफूसँगका साथीहरु पनि चार/पाँच दिनदेखि यतै छन्' उनले थपे।

'एयरलाइन्सका कर्मचरी चिनेका छैनौँ, फोन गर्दा फोन उठ्दैन अब कसरी घरपुग्ने ठूलो चिन्ता छ' उनले भने।

बिरामी समेत उड्न पाउँदैन्

जुफाल विमानस्थलबाट बिरामीले समेत उड्न नपाउने गुनासो गरेका छन्। थप उपचारका लागि जिल्ला अस्पतालले रिफर गरेका र आकस्मिक घटनामा परेर घाइते भएका विरामीहरु समेत उड्न नपाउने सर्वसाधारणको गुनासो।

एयरलाइन्सका कर्मचारीहरुले विरामीहरु पनि छानेर आफू निकटका मात्र हाल्ने र अरुलाई बेवास्ता गर्ने गरेको ठूलिभेरी नगरपालिकाका स्थानीय जितेन्द्र शाहीले बताए।

आफ्नै आखैँ अगाडि एक जना स्थानीय गम्भीर बिरामीलाई टिकट नदिएर पहुँचको भरमा आएको अर्को मान्छे उडाउँदा मन खिन्न भएका उनले बताए।

'जुफाल एयरपोर्टमा टिकट वितरण कहाँ गरिन्छ अत्तोपत्तो छैन्, अफिस एकातिर हुन्छ, टिकट अर्कोतिर वितरण हुन्छ, जुफालका स्थानीय होटेल सञ्चालकसँग टिकट साँटगाँठ गरिन्छ, चार/पाँच वटा टिकट एक दुई दिन अगाडिनै उनिहरुलाई दिइन्छ तर, एउटा सामान्य नागरिक एउटा टिकट लिन एयरलाइन्सका हाकिमका भान्सा कर्मचारीको खेत–खेतमा  पुगेर टिकटको हारगुहार गर्नुपर्छ,'शाहीले दुखेसो पोखे।

'मन्त्री र टिकेट दलालीहरु आएको केही समय भित्रै हातमा टिकट थमाइन्छ तर आम सर्वसाधारण नागरिक हप्तौँसम्म एयरपोर्टमै रुमल्लिदा पनि टिकट पाउँदैन्, के हवाई सुविधा धनीले मात्रै पाउने हाे ?' उनले प्रश्न गरे।

वर्षौदेखि एयरलाइन्सहरुको मनोमानी चलिरहँदा पनि कसैले चासो नदिएको उनको भनाई छ। विकट जिल्लाहरुमा एयरलाइन्सले जबसम्म 'फस्ट काम फस्ट सर्भिस' सेवा लागु गर्दैनन् तबसम्म डोल्पाली नागरिकहरुले यसरी दु:ख पाइरहने उनले बताए।

फोनबाटै टिकट

डोल्पामा उडान गर्ने तारा, समिट एयरलाइन्सको टिकट बितरण एकद्धार प्रणालीबाट नभएको यात्रुहरुले गुनासो गरेका छन्। जुफाल एयरपोर्टमा हवाई टिकट कहाँ पाउँछ, कसरी पाउँछ स्पष्ट नभएको यात्रुहरुको गुनासो छ।

'पहुँचवाला र तपाईंलाई चिनेका सर्वसाधारणले सीधै तपाईंलाई फोन गरेर टिकट बुक गराउलान तर आम सर्वसाधारणले टिकट कसरी पाउँछन्, सबैले तपाईंलाई चिनेका हुँदैनन्, सबैसँगको तपाईंको फोन नंम्बर हुँदैन' सोमबार जुफाल एयरपोर्टमा निजी एयरलाइन्सका कर्मचारीलाई एक यात्रुले सोधे।

'सर्वसाधारर्णले जहाज चढ्न नपाईने हो कि ठूलाबडा र टिकेट दिए वापत थप पैसा खुवाउनेले मात्रै उड्न पाउँछन् ?' उनले अर्को प्रश्न गरे। यतिखेर टिकटकै लागि जुफाल विमानस्थलमा प्रत्येक दिनजसो यात्रु र कर्मचारी बीच हात हालाहालको स्थिति सिर्जना हुने गरेको छ।

पहुँच र शक्तिको भरमा टिकट नबाँडेर विधि र प्रक्रियामा टिकट बाँड्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि एयरलाइन्सका कर्मचारीको एउटै बोली छ– टिकेट प्याक छ।

बल्ल तल्ल कर्मचारी पत्ता लगाएर टिकट मिलाई दिन आग्रह गर्दा सधैँ कर्मचारीले टिकट प्याक भएको मात्रै बताउने गरेको यात्रुहरुले बताए। डोल्पामा चिनजान र पहुँच नभएका सर्वसाधारणले जहाज चढ्न युद्ध लडे जस्तै गरेर संघर्ष गर्नुपर्ने उनीहरुको भनाइ छ।

'एक पटकमा एउटा जहाजले सत्र/अठार जनासम्म बोक्छ तर पाँच वटा टिकट बाँडेको हुँदैन सिट प्याक भईसक्यो भनिन्छ, यो सबै टिकटमा चहलखेल गर्न एयरलाइन्सका कर्मचारीको जुक्ति हो' युवा नेता तुलबहादुर बोहोराले भने।

यदि सबैलाई समान रुपमा हवाई सेवा प्रदान गर्ने हो भने हवाई टिकट वितरण एकद्धार प्रणालीबाट निश्चित ठाउँ तोेकेर गर्नुपर्ने उनले बताए।

टिकटको झमेलाले दसैँ मान्न घर आउँदैनन् दुर्गमका नागरिक

दुर्गमका कतिपय नागरिकहरु टिकटको झमेलाले दसैँ मान्न समेत घर आउँदैन्।

जुफाल एयरपोर्टमा हुने टिकटको झमेलाका कारण उनीहरु चाडपर्वमा घरजाने चाहानालाई जवर्जस्ती बिर्सेर मन खिन्न बनाएर जहाँ छन त्यही बस्ने गर्छन्।

जिल्ला बाहिर पढ्न पठाएका बालबालिकालाई चाडपर्वमा ल्याउन र लैजान अनेक पहुँच देखाउनु पर्ने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय कालुप्रसाद हमालले बताए।

'हप्ता दिन एयरपोर्टमा कुर्दा पनि सजिलै टिकट पाइँदैन्, कतिपयको परीक्षा छुटेर भविष्य नै अन्धकार हुन्छ, वर्षौदेखि डोल्पाली विद्यार्थीहरुले जुफाल एयरपोर्टमा टिकटको समस्या झेलिरहेका छन्', उनले भने।

विद्यार्थीलाई प्राथामिकतामा राखेर उडाउनु पर्ने उनको भनाई छ। टिकट माग्न जाँदा एयरलाइन्सका कर्मचारीहरुले राणा शासनभन्दा पनि अधिकको व्यवहार देखाउने गरेको हमालको भनाइ छ।

आफ्ना कार्यकर्ता उडाउन मन्त्रीले नै फाेन गर्छन्

विकट जिल्लामा उडान भर्ने जहाजलाई भरपर्दो सुविधा प्रदान गर्न लगाउनुको सट्टा कर्णाली प्रदेशका सांसददेखि मन्त्रीले आफ्ना कायकर्ता उडाउन एयरलाईन्सका कर्मचारीलाई सिफारिस गर्ने गरेकाछन्।

नेपाल एयरलाइन्सलाई उडान गर्न लगाउनुको सट्टा प्रशासक, सांसद मन्त्री आफै आफ्ना मान्छे उडाउन निजी एयरलाइन्सका कर्मचारीसँग हवाई टिकटको हारगुहार गर्ने गरेका हुन्।

एयपोर्टमा पुगेकै दिनमा आफ्ना मान्छेलाई उडाउन सीडीओ सांसददेखि मन्त्रीसम्मको फोन आउने गरेको समिट एयरलाइन्सका कर्मचारीले बताए।

'अहिले चाडपर्वको समय छ, एयरपोर्टमा यात्रुहरु खचाखच छन्, जसले जे भने पनि विरामीहरुलाई प्राथाकिकता साथ उठाएका छौँ' समिट एयर जुफालका प्रमुख पूर्णजंग शाहीले भने।

'एक दिन एक/दुई वटा मात्र उडान हुँदा सबैलाई उठाउन सकिएको छैन्, त्यसैमा पनि आफ्ना मान्छे उडाउन दबाब दिँदै हाकिमदेखि मन्त्रीहरुकोसम्म फोन आउँछ सबैलाई मिलाएर हाल्नुपर्ने बाध्यता छ' शाहीले भने। उडान थप गरे यात्रुहरुले सहजै टिकट पाउने उनको भनाई छ।

उडान थप गर्न माग

प्रत्येक वर्ष जुफाल एयरपोर्टमा हुँदै आएको हवाई टिकटको समस्यालाई समाधान गर्न दैनिक उडान थप गर्न माग गरिएको छ। यदि डोल्पामा उडान भर्ने तारा र समिट एयरले दैनिक पाँच वटासम्म उडान गरे सबैले हवाई सुविधा पाउने सर्वधारणको भनाइ छ। त्यति मात्र नभई सरकारी एयरलाइन्सलाई उडान गर्न डोल्पालीले माग गरेका छन्।

प्रकाशित मिति: : 2021-10-27 20:34:00

प्रतिकृया दिनुहोस्