अक्कासे सरकार, अक्कासे राज्य !

अनलाइनखबर

देवेन्द्र गौतम

कस्तो अक्कासे रैछ !

पश्चिम पहाडको गाउँले परिवेशमा बाल्यकाल बिताउनुभएको भए तपाईंका दाइ-दिदी, बुबा-आमा, हजुरबा-हजुरआमा, काका-काकीले प्रकटमा अलिकति रिसाएर तर भित्रभित्र शायद आहृलादित हुँदै बोलेको यो वाक्य तपाईंका कानमा पटक-पटक ठोक्कियो कि?

ठोक्किएन भने मेरा दुई थोपा आँसु स्वीकार्नोस् किनभने तपाईं साह्रै ‘ज्ञानी’ बालक हुनुहुँदोरहेछ। चराचुरूङ्गी जस्तो फुर्रफुर्र गर्दै ‘उड्ने’ एउटा उमेर हुन्थ्यो। बाँसका सुपला काटेर बनाइएको फिरफिरेको बीचमा सिन्को घोचेर मसिना औंलाहरूले त्यसलाई समाई खूब दौडिन्थ्यौं हामी।

हावासँगै दौडिंदा त्यो फिरफिरे जोडले घुम्थ्यो, हामी दङ्ग पथ्र्यौं। जानी-नजानी उकाला-ओराला बाटाहरूमा, पाखापखेराहरूमा ‘एयरोडाइनामिक्स’को साधारण प्रयोग गर्दै बतास जस्तै बतासिंदा हामी अर्थात् साना वैज्ञानिकहरू लड्थ्यौं, कहालिंदै रुन्थ्यौं, कहिले अभिभावकहरूले फुल्याउनुहुन्थ्यो, कहिले आफैँ फुलिन्थ्यौं। लड्थ्यौं, उठ्थ्यौं अनि फेरि दौडिन्थ्यौं।

टालाटुलीको भकुण्डो बनाएर, नाम्लाको नेट बनाएर ‘भलिबल’ खेल्थ्यौं, रन खेल्थ्यौं, डण्डिबियो खेल्थ्यौं। अँ चङ्गा पनि उडाउँथ्यौं साँच्चै।

यसरी थोरै पढेर, धेरै खेलेर बित्यो हाम्रो बाल्यकाल।

 

प्रकाशित मिति: : 2021-10-27 10:22:00

प्रतिकृया दिनुहोस्