माओवादीले सम्झौताबमोजिम कर्णालीकाे सत्ता–हस्तान्तरण नगरे समर्थन फिर्ता लिन्छाैँ : कांग्रेस 

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुसार राजीनामा नदिए नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।कांग्रेस कर्णाली प्रदेशसभाका सचेतक हिमबहादुर शाहीले सहमतिअनुसार मुख्यमन्त्री शाहीले तत्काल राजीनामा दिनुपर्ने बताए।

'कांग्रेसलाई सहज रुपमा सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छाैं,' उनले भने, 'हामीले मुख्यमन्त्रीसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका थियौं।

उनले यदि माओवादीले कार्तिक १५ गतेभित्र सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए। उनले भने, 'माओवादी पूर्वसहमतिबाट पछाडि हटेमा मन्त्रीबाट राजीनामा दिएर समर्थन फिर्ता लिन्छाैं।'

नेकपा माओवादी केन्द्रले भने वर्तमान सरकारलाई नै पूरा कार्यकाल निरन्तरता दिने निर्णय गरेको छ। शनिबार सम्पन्न कर्णाली प्रदेशको विस्तारित बैठकले तत्काल प्रदेश सरकार नछाड्ने निर्णय गरेको थियो।

माओवादीको कर्णाली प्रदेश कमिटी अन्य प्रदेश सरकार छाडेर भएपनि कर्णाली सरकार जोगाउने पक्षमा उभिएको छ। तर कांग्रेसले भने आलोपालो सरकार चलाउने सहमति कार्यान्वयन हुनुपर्ने अडान लिएको छ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आधा कार्यकाल नेपाली कांग्रेसलाई छोड्ने सहमति गरेका थिए।

यद्यपि माओवादीले अहिले केन्द्रबाटै गठबन्धन सरकार निर्माण भएकाले पुनः नयाँ तरिकाले सहमति गरेर जानुपर्ने भन्दै सरकार छाड्न आनाकानी गरिरहेको छ।

प्रदेशसभा ४० सदस्यीय भएपनि हाल ३५ जना मात्रै सांसद कायम छन्। जसमा एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका एक जना छन्।

हाल सरकारको नेतृत्व माओवादीका नेता शाहीले गरेका छन् भने सरकारमा काँग्रेस र एकीकृत समाजवादीको सहभागिता रहेको छ।

प्रकाशित मिति: : 2021-10-26 17:17:00

प्रतिकृया दिनुहोस्