प्रकृतिको विनाश गरेर भित्र्याउन खोजिएको आसेपासे समाजवादबाट मात्र होइन, समयसँगै मक्किएको ढोंगी समाजवादबाट पनि हाम्रो भविष्य बन्दैन
आसेपासे’ नेपालको राजकाज र प्रशासन वृत्तमा सबैभन्दा बढी प्रयोग हुने शब्द हो। यही ‘आसेपासे सम्बन्ध’का कारण हाम्रो देश संसारमै पछि पर्दै गएको छ। अर्थशास्त्रका जानकारहरू ‘आसेपासे पुँजीवाद’को निकै चर्चा गर्छन्। तर, राजनीति, प्रशासन र समाज सबैतिर ‘आसेपासे’ले जरा गाडेको छ। हाम्रो आजको लोकतान्त्रिक गणतन्त्र नेपालमा यिनै आसेपासे र तिनैका भरमा समृद्धिको सपना वितरण गरेर सत्ताको हाटबाट हप्ता असुली गर्नेहरूले आफूहरू नै असली समाजवादी भएको डंका पिटिरहेका छन्।
दोस्रो विश्वयुद्धपछि संसारभर समाजवाद र पुँजीवाद विकसित भइरहँदा नेपालमा भने सुरुदेखि नै यी दुवै विचारको ठिमाहा जन्मियो, पालितपोषित भयो। सुरुमा यो भारतको बाटो हुँदै आयो । अंग्रेजराज धपाएर बाबासाहेब अम्बेडकरको नेतृत्वमा भारतीय संविधानमै लेखिएको समाजवाद उतिवेलाको नेपालमा भित्रिनु अनौठो पनि थिएन । तर, यसलाई संस्थागत गर्ने जिम्मेवारी लिने सक्षम नेतृत्वको अभाव हुँदा यो राणहरूको जहानियाँ शासन र आसेपासे अर्थ व्यवस्थाको चक्रव्यूहमा फस्न पुग्यो। परिणामतः यही समाजवाद समयक्रममा ‘आसेपासे समाजवाद’मा रूपान्तरित हुँदै गयो। र, यो क्रम अहिलेसम्म पनि जारी छ।
प्रजा परिषद् हुँदै कांग्रेस बनेको पार्टीको यो चर्तिकलाबाट जिल्लिएका नेपालका ‘आसेपासे कम्युनिस्ट’लाई यो सबै देखेर औडाहा भयो। ती के कम हुन्थे ? उनीहरूचाहिँ पछि पर्ने कुरै भएन। भारतको उपनिवेशी बाटो आउँदा सामाजिक साम्रज्यवादी भइन्छ भन्ने डरले यसलाई तत्कालीन सोभियत संघबाट सीधै झिकाइयो। चिल्ला गातामा सजिएको सुनौला अक्षरमा लेखिएको समाजवादको बखानले सत्ता बिर्तामा पाएका राजालाई समेत उत्साहित बनायो। अनि, तत्कालीन आसेसासे कम्युनिस्ट नेतालाई दरबारमै बोलाएर उताबाट ल्याइएको सामाजिक समाजवादको अधियाँ मात्र मागेनन्, यसलाई हुर्काउन उनका आसेपासेसित साझेदारीको प्रस्तावसमेत गरे।