बेलायतको तर्फबाट प्रथम विश्वयुद्ध लड्ने क्रममा जर्मनीले बन्धक बनाएकामध्ये दुई गोर्खा सैनिकका स्वराङ्कनमा आत्मकथाको स्वाद भेटिन्छ।
आत्मकथा नेपाली साहित्यको इतिहासमा आधुनिक कालमा झङ्गिएको नयाँ विधा हो। आत्मपरक लेखन साहित्यिक महत्त्वको मात्र नभई यसले सम्बन्धित व्यक्तिका साथै उसले बाँचेको समय, समाज, संस्कृति, राजनीति, परम्परा र परिवेश आदि विविध कुरा बताउँछ। त्यसैले आत्मकथाहरूको महत्त्व साहित्यमा मात्र नभएर यो समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, मानवशास्त्र, लैङ्गिक अध्ययन आदि अन्य क्षेत्रहरूका लागि पनि उपयोगी हुनसक्छ।
नेपालमा आत्मपरक लेखनको इतिहास पल्टाउँदै जाँदा पृथ्वीनारायण शाहको दिव्योपदेशसम्म पुगिन्छ। वास्तवमा यसको रचना लेख्नका लागि भएको होइन, ती भनाइ महत्त्वपूर्ण तथा उपयोगी ठानिएर वा अन्य कुनै कारणले प्रथम पुरुषमा लिपिबद्ध गरिएका हुन्। त्यसपछिका क्रममा चिरञ्जीवी शर्मा पौड्यालको आफ्नू कथा र काशीनाथ आचार्य दीक्षितको भएका कुरा आदि जोडिन्छन्।
नेपाली आत्मकथाको खोजी गर्दै जाँदा दैनिकी वा यात्रा वृत्तान्त लेखनको खेवरासम्म पनि पुगिन्छ। तिनताका दैनिकीलाई रोजनाम्चा भनिन्थ्यो भने अहिले दिनपञ्जी, डायरी वा दैनन्दिनी पनि भनिन्छ। नेपालमा दैनिकी लेखनको परम्परा कसरी र कहिले शुरू भएको हो, किटेर भन्न गाह्रो छ।
उपलब्ध सबैभन्दा पुरानो उदाहरण जङ्गबहादुरको बेलाइत यात्रा हो। बत्तीससालको रोजनाम्चा पनि जङ्गबहादुरकै तराईको शिकार यात्राको विवरण हो। त्यसको केही वर्षपछि चन्द्रशमशेरले दरबार हाई स्कूलका शिक्षक बटुकृष्ण मैत्रेयलाई आफ्नो यात्रा टोलीमा सामेल गरी दैनन्दिनी लेख्नकै लागि बेलायत लगेका थिए। मैत्रेयले अङ्ग्रेजी भाषामा त्यो यात्रा वृत्तान्त लेखे।
यी विवरणले राणा र शाह दरबारमा र त्यससँग सम्बद्ध व्यक्तिहरूले यस प्रकारको लेखनको अभ्यास गरेको देखाउँछन्। राणा प्रधानमन्त्रीहरूले दैनिकी लेख्न कर्मचारीहरू नै नियुक्त गरे। काशीनाथ आचार्य दीक्षितका छोरा राममणि आचार्य दीक्षितलाई राजा पृथ्वी वीरविक्रम शाहको दैनन्दिनी लेख्न नारायणहिटी दरबारको ढुकुटी अड्डामा नियुक्त गरिएको थियो।
त्यसै वेलादेखि राममणि आफैंले पनि डायरी लेख्न थाले। तिनै डायरीको आधारमा उनका आत्मकथा पुरानो सम्झना र प्राचीन संस्मरण छापिएका हुन्। त्यस्तै, पण्डित हेमराज शर्माले लेखेका डायरीहरू पनि उपलब्ध छन्। यसरी शिक्षित वर्गका बीच भर्खरै मौलाएको आत्मपरक लेखन विसंको बीसौं शताब्दीसम्म पनि जनसाधारणमाझ् पुगिसकेको थिएन।
हामीलाई थाहा भएकै कुरा हो, गोर्खा सैनिकहरू प्रथम विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेर वा अन्य किसिमबाट सहयोग गर्न विविध देश वा स्थानमा पुग्ने क्रममा यूरोप पनि पुगेका थिए। सन् १९१५ मा जर्मनीले बेलायतका लागि लडिरहेको अवस्थामा धेरै सैनिकलाई आफ्नो देशमा युद्ध बन्धक बनाएर राखेको थियो। त्यसै बखत संसारका भाषाहरूको भाषिक नमूना सङ्कलन गर्ने उद्देश्यले बर्लिनमा ‘रोयल प्रसन फोनेटिक कमिशन’ स्थापना भयो।