भारतीय प्रधानमन्त्री मोदीले बुझ्न नमानेपछि इपिजी प्रतिवेदन तीन वर्षदेखि परराष्ट्रको दराजमा

नयाँ पत्रिका दैनिक

पर्शुराम काफ्ले

नेपाल–भारत सम्बन्धका सबै पक्षमाथि सरकारलाई सुझाब दिन गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन तीन वर्षदेखि परराष्ट्र मन्त्रालयको दराजमा थन्किएको छ । इपिजीको कार्यादेशअनुसार सुरुमा भारतीय प्रधानमन्त्री र त्यसपछि नेपाली प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने भनिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेपछि प्रतिवेदन अलपत्र परेको हो । इपिजीको नेपाल पक्ष भने प्रतिवेदन बुझ्ने विश्वासमा छ । 

इपिजी प्रतिवेदनको सान्दर्भिकता यथावत् छ : डा. भेषबहादुर थापा इपिजी नेपाल संयोजक

 

हामी इपिजीले तयार गरेको प्रतिवेदन बुझाउन अझै प्रतीक्षारत छौँ । इपिजीले दुई देशको सम्बन्धमा देखिएका समस्या र निराकरणका उपायहरू स्पष्ट रूपमा पहिचान गरेको छ र दुवै पक्षको सहमति छ । इपिजी प्रतिवेदन हस्तान्तरण गर्न ढिलाइ भएको हो, तर प्रतिवेदनको सान्दर्भिकता यथावत् छ ।  

०७५ असार १५ र १६ मा बसेको अन्तिम (नवौँ बैठक)ले एक महिनाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिवेदन बुझाउने तय गर्दै त्यसको समन्वय गर्न इपिजी भारतका संयोजक भगतसिंह कोस्यारीलाई जिम्मा दिएको थियो । तर, कोस्यारीले नेपाली समकक्षी इपिजीका संयोजक डा. भेषबहादुर थापालाई तीन वर्षदेखि निरन्तर ‘कोसिस गर्दै छौँ’ भन्ने जवाफ मात्रै दिइरहेका छन् । थापा भारतीय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने आसमा छन् । 

‘इपिजीको प्रतिवेदन तयार भएको तीन वर्षभन्दा बढी भयो । म भारतमा कोस्यारीजीसँग सम्पर्कमा छु,’ इपिजीको नेपाल संयोजक डा. थापाले भने, ‘हामी प्रतीक्षारत छौँ । ढिला पक्कै भएको छ, तर प्रतिवेदनको सान्दर्भिकता कायम छ ।’ 

भारतमा प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सुरुवातमा उनले इपिजी प्रतिवेदन बुझ्ने अपेक्षा नेपाल पक्षले गरेको थियो । थापाले प्रतिवेदन परराष्ट्र मन्त्रालयमा सुरक्षित स्थानमा तालाबन्द अवस्थामा राखिएको बताए । ‘इपिजी प्रतिवेदन सुरक्षित रूपमा राखिएको छ, चाबी मसँग छ,’ थापाले भने । भारततर्फ पनि प्रतिवेदन संयोजक कोस्यारीसँग छ । 

इपिजी प्रतिवेदन सदस्यबाहेक औपचारिक रूपमा कसैसँग छैन । इपिजी टोलीले अन्तिम बैठक सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदनबारे जानकारी दिए पनि प्रतिवेदन दिएको थिएन । इपिजीमा नेपालबाट डा. थापा, डा. राजन भट्टराई, सूर्यनाथ उपाध्याय र नीलाम्बर आचार्य थिए भने भारतबाट भगतसिंह कोस्यारी, डा. महेन्द्र पी. लामा, जयन्त प्रसाद र डा. बिसी उप्रेती सदस्य थिए । उप्रेतीको निधन भइसकेको छ । 

प्रकाशित मिति: : 2021-10-24 09:56:00

प्रतिकृया दिनुहोस्