चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

 प्रकाश आचार्य

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ ।

बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् ।

केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो ।

‘सफलता खोज्नेहरूले कहिल्यै हार मान्दैनन्,’ यमुना भन्छिन्, ‘मेरो संघर्षको कथा पीडा र अभावसँग जोडिएको छ ।’ 

भारतमा देखेको त्यो उद्यम

यमुुनाका दाइहरू भारतको दिल्लीमा काम गर्थे । यमुना दाइहरूलाई भेट्न कुनै समय दिल्ली पुगेकी थिइन् । उनीहरू बस्ने डेरानजिकै यमुनाले भारतीय महिलाहरू चुरा बनाउने तालिम लिइरहेका देखे ।

यमुनालाई चुरा बनाउने तरिका सिक्ने रहर थियो तर उनी नेपाली भएकै कारण सिक्न पाइनन् । ती महिलाहरूले चुरा बनाइरहेको दृश्य यमुना झ्यालबाहिर घण्टौं उभिएर हेरिरहन्थिन् । 

‘जब मनमा सिक्ने हुटहुटी हुन्छ, तब हेरेर पनि सिक्न सकिँदो रहेछ,’ यमुना चापागाईं भन्छिन्, ‘सुनेर, हेरेर अनि पछिल्लो समय चुराको काम गरेरै सिकें । चुराले मलाई उद्यमी बनायो । नयाँ पहिचान दियो, परिचय दियो र सबैका बीचमा यमुना भनेर चिनायो ।’

प्रकाशित मिति: : 2021-10-23 12:02:00

प्रतिकृया दिनुहोस्