आकाशमा बिलाउँदै गएको हेलिकप्टर नियाल्दै थिइन्, भीडमा उभिएर दिलसरा।
नेता हिँडेपछि भीड पातलिँदै गयो। उनी हेलिकप्टरबाट काठमाडौँ फर्कंदै थिए। उनले बकुल्लाजस्तो टाउको घुमाएर भीड नियाल्दै क्रान्तिकारी कुरा गरेका थिए। चौडा फ्रेमको चस्माले छोपिएका आँखा वरिपरि घुमाउँथे। स्वेटरमाथि कोट खापेका नेताको जुँगा ओठसँगै चलमलाउँथ्यो।
'हामीलाई क्रान्ति विसर्जन गरेको आरोप छ,' कुमलाई खुम्च्याएर गर्धन नजिक ल्याउँदै भने, 'तर, दिदीबहिनी तथा दाजुभाइहरु! हामीले क्रान्ति विसर्जन गरेका छैनौँ। यो क्रान्ति तबसम्म जारी रहन्छ, जबसम्म गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुँदैन, जबसम्म तपार्इंंहरुको अधिकार सुनिश्चित हुँदैन।'
नेताका कुरा सुनेर भीडका आधाजतिले ताली बजाए। कतै कतैबाट सिटी बजेको आवाज पनि आइरहेको थियो। नेता एकछिन रोकिए। मुस्कुराउँदै टाउको घुमाएर भीड नियाले।
दिलसराले नेताले बोलेका कतिपय शब्द बुझिरहेकी थिइनन्। ती शब्द त गाउँमा स्थानीय नेताहरु पनि प्रयोग गर्थे। तर, त्यसलाई बुझ्ने चेष्टा कहिल्यै गरिनन्। न अहिले ठूला नेता बोल्दा नै बुझ्ने कोसिस गरिन्। उनी उही नेतामा आएको परिवर्तन मात्र नियाल्दै थिइन्। नेता भाषणको उही सिलसिलामा थिए।
'त्यसैले सम्पूर्ण दिदीबहिनी, दाजुभाइलाई म के विश्वास दिलाउन चाहन्छु भने क्रान्ति सकिएको छैन। मात्र यसको स्वरुप बदलिएको छ र हामी दाजुभाइ, दिदीबहिनीको रगतले सिञ्चिएको क्रान्ति त्यति सजिलै विसर्जन गर्नेवाला छैनौँ।'
यत्तिकैमा परको डाँडामा हेलिकप्टर देखा पर्यो। नेता भाषण टुङ्ग्याउनतिर लागे। हेलिकप्टरको आवाज ठूलो हुँदै आयो। भाषण गरिरहेको ठाउँनजिकै अर्काे चौर थियो। त्यही चौरमा सिनोमाथि गिद्ध बसेझैँ हेलिकप्टर फनफनाउँदै झर्यो। हेलिकप्टर बस्दा उडेको धूलोले भीडलाई खर्लप्पै ढाक्यो। धूलो सेलाउँदै गएपछि नेता हेलिकप्टरतिर बढ्यो। प्रहरी र कार्यकर्ताले घेरिएर।
पाइलटले ढोका खोलिसकेका थिए। भित्र गएर बसेपछि बाहिर हेर्दै हात हल्लाए। कार्यकर्ता र प्रहरी हात हल्लाउँदै फर्किए। ठूलो आवाज निकाल्दै हेलिकप्टर जमिनबाट उचालियो। एकैक्षणमा दक्षिणपूर्वको पहाडतिर बिलाउँदै गएको थियो।
पातलिँदै गएको भीडमा उभिएर दिलसरा के के सोचिरहिन्। उनका निम्ति नेताको भाषण सुन्नु कुनै नियोजित घटना थिएन। उनी रुकुमको सुदूर बस्तीमा बस्थिन्। भर्खरै नुन किन्नका लागि सदरमुकाम आएकी हुन्। सानो भेरीको किनारैकिनार हिँडेर। आठ घन्टाको लामो यात्रामा खुट्टा दुखिरहेको थियो। अक्सर लामो यात्रा वा चिसो याममा दुख्ने खुट्टाको व्यथा माओवादी युद्धसँग जोडिएको छ।
दिलसरा फुलबुट्टे गुन्यूमा पटुकी कसेर उभिएकी छन्। खुइलिँदै गएको गुन्यूको फूलबुट्टामा चमक छैन। उनको अधबैँसै मुहारजस्तो कान्तिहीन छ। माघको जाडो छल्न नीलो भेस्टमाथि कालो स्वेटर खापेकी छन्। ठूलो टाटनको पछ्यौरा टाउको र शरीर दुवैलाई पुग्ने गरी बेरिएको छ। उनलाई पसल गएर नुन किन्नु छ। टाउको उठाएर माथितिर हेर्छिन्। झुरुप्प परेर बसेको बजार छ। उकालो चढ्दै नेतालाई सम्झिन्। १० वर्षअघि उही नेता आएका थिए गाउँमा। साँझ आएको नेतालाई प्रस्ट नियाल्न पाइनन्। तर, नेताको नाम उही हो। बोल्ने शैली पनि उस्तै छ।
त्यो फागुनको महिना थियो। घर वरिपरिका रुख उजाडिन सुरु गरेका थिए। बारी पुछारको पैयुँमात्र पालुवा फेर्दै थियो। चिसो हटिसकेको थिएन। साँझ पर्दै गएपछि चिसोको मात्रा पनि बढ्दै गयो। स्थानीय माओवादी कार्यकर्ता दिलसराको घरमा देखा पर्यो।
'काकी, झट्टै माझघरे काकाकहाँ आउनुुस् है। हाम्रा ठूला नेता आ’छन् क्या,' ऊ ढोकानिरै उभिएर बोल्यो।
'आइमाई, केटाकेटी रातविरात क्या गरी हिन्नु?', अँगेनुछेउमा बसेकी दिलसराले अप्ठ्यारो प्रकट गरिन्।
'त्यस्तो भनेर नि हुन्छ? जस्तरी भा’ नि आउनु पर्च,' उर्दी जारी गर्दै त्यो कार्यकर्ता बाहिरियो।
आफूसँगै बसेका छोराछोरी हेरिन्। तीनै जना छोराछोरी अँगेनुमा मकैको ढोड बालेर आगो ताप्दै थिए। युद्ध चर्किंदै गएपछि श्रीमान् भारत पसेका थिए। पछिल्लोपटक दुई वर्षदेखि फर्किएका थिएनन्। छ महिनादेखि कुनै चिठी खबर पनि आएको थिएन। सुकुल बिछ्याएर ओछ्यान बनाइन्। तीनै जना छोराछोरी पल्टिए। उनी एउटा झरिलो अगुल्टो हातमा लिएर बाहिरिन्। अगुल्टोलाई दायाबायाँ हल्लाउँदै अघि बढिन्। त्यसरी हल्लाउँदा चम्किएर मधुरो भए पनि बाटो देखिन्थ्यो। त्यही मधुरो उज्यालोमा देखिएको बाटो पछ्याउँदै माझघरे माइलाको घरतिर बढिन्।
माझघरे माइलाको घर छापामारले घेरेका थिए। ती छापामारसँगै उभिएका थिए स्थानीय कार्यकर्ता। तिनीहरुलाई पार गरेर अघि बढिन्। ढोकाको बाहिरपट्टि पनि छापामार उभिएका थिए। उनीहरुका अनुहार प्रस्ट चिनिनन्, तर आकृतिले छापामारको झलक दिन्थ्यो। बिस्तारै ढोकाबाट छिरिन्। साँघुरो घर गाउँलेले भरिएको थियो।
दिलसरा ढिलो पुगेकीले पछिल्तिर बसेर अगाडि नियालिन्। भित्तामा अडेस लागेर नयाँ मान्छे बसेका थिए। झ्याप्प दाह्रीजुँगा पालेका। छेवैमा एउटा लौरी ठडिएको थियो। तिनै नेताको हुनुपर्छ। टुकीको मधुरो प्रकाशमा नेताको अनुहार हेरिन्। विगतमा आएका अन्य माओवादी नेता सम्झिन्। पहिले आएकामध्ये थिएनन् यी नेता।
'अध्यक्ष कामरेड, सप्पै आइसक्नु भो,' गाउँलेसँगै बसेको एक स्थानीय नेताले भन्यो।
'हो त,' नेताले दायाँबायाँ टाउको घुमाउँदै बोले। उनले टाउको घुमाएको दिशातिर कोही मान्छे थिएनन्। आसन परिवर्तन गरेर ढाडलाई अगाडि ताने। पसारिराखेको खुट्टालाई पलेँटी मारेर बोल्न थाले।
'हामी क्रान्ति गरिरहेका छौँ, सामन्ती व्यवस्थाको विरुद्ध। यो सर्वहारा हितका लागि हो। हाम्रो क्रान्ति सफल हुनु भनेको तपाईंजस्ता दाजुभाइ, दिदीबहिनीको दिन फिर्नु हो। गरिब, निमुखाको सत्ता स्थापना हुनु हो। त्यो बेला तपाईंका श्रीमान्, छोराछोरीले इन्डिया गएर कुल्ली काम गर्नु पर्दैन।'
नेताका कुरा सबैले चाख मानेर सुनिरहे। दिलसरालाई आफ्नै व्यथा भनिदिएजस्तो लाग्यो। छेवैमा उभिएका जितमान भने बेचैन देखिन्थे। नाताले देवर जितमान छिमेकी पनि थिए। आँगन जोडिएको छ। अभरमा सहयोग दिने पनि उनै हुन्।
एक घन्टापछि उनीहरु बाहिरिए। ढोकामा बन्दुक बोकेर उभिएका छापामार यथावत् थिए। टाढा कतैबाट कुकुर भुकेको आवाज आइरहेको थियो। वातावरण निस्पट्ट अँध्यारो र सुनसान थियो। घर फर्कने कसैलाई पनि राँको नबाल्नु भन्ने उर्दी थियो।
'कुरा ता मस्तै रङ्गको गरो नेताले,' जितमानलाई पारिवारिक नामले सम्बोधन गर्दै बोलिन् दिलसरा।
उनीहरु अँध्यारोमा अन्दाजका भरमा हिँडिरहेका थिए। पाइलाको चाल सुस्त थियो। कतै भित्ता भएको ठाउँमा छामछुम पनि गरिरहेका थिए।
'कुरा ता यिनीहरु सप्पै मिठै ता गर्छन् नि,' जितमान उनीहरुका कुरामा सन्तुष्ट थिएन, 'यिनारले गर्दा कतिले दुःख पा’को छन्, त्योचाहिँ देख्नु छैन। राति राति बोला’को छ। दियालो बाल्न पनि दे’को छैन। भरे लडेर चोट लाग्यो भने त्यसले दबाई गर्छ?'
'यस्ता कुरा नगर है साइँला। काल जमाना ठीक छैन। भित्ताको नि कान हुन्च भन्छन्। कोइले कुरा लाइदेलान् र?', दिलसराले सम्झाएजस्तो गरिन्।
उनीहरु २० मिनेटजति हिँडेर घर आइपुगे। अरु समयभन्दा दोब्बर समय लागेको थियो। आँगनमा पुगेपछि जितमान घरतिर बढ्यो। दिलसरा घरको सिखुवानिर उभिइन् आकाश नियाल्दै। घाम र जून लागेका बेला दिलसरा आकाश हेरेर समयको अड्कल काट्थिन्। तर, आज जून लागेको थिएन। आकाशमा ताराहरु मात्र थिए। कहिल्यै घडी नलगाएकी दिलसराले आज तीन आँख्ले तारा हेरेर समयको अड्कल काटिन्। उनको कानमा जितमानले ढोका ढकढकाइरहेको आवाज आइरहेको थियो।
उनले बिस्तारै ढोका धकेलिन्। सुस्त आवाजसँगै खोलियो। फेरि भित्रबाट धकेलिन् र आग्लोले बन्द गरिन्। अँध्यारोमा छामछुम गर्दै ओछ्यानमा पुगिन्।
भोलिपल्ट आकाश धुम्मिएको थियो। परदेशी खसमको यादमा डुबेकी महिलाको मुहारजस्तो। दिलसरा आँगनको डिलमा उभिएर बारीका गह्रा नियाल्दै थिइन्। मकै छर्ने समय भएको थियो। गाउँले मल बोक्ने काम गरिरहेका थिए। उनी आफैँ पनि मल ओसार्ने सोचमा थिइन्।
अचानक मान्छे कराएको आवाज आयो। आवाजको मात्रा बढ्दै गयो। पश्चिमदेखि पूर्वतिर फैलिएको घोडेटो बाटो थियो। त्यही बाटोमा दुईतीन जना गाउँले दौडिरहेका थिए।
'ए भाग है भाग। आर्मी पुलिस आका छन्,' घर मास्तिरको बाटोमा दौडँदै आएको एक जनाले भन्यो।
दिलसराको मुटु तेज गतिमा धड्किन थालिसकेको थियो। परतिर हेरिन्। सैनिक र प्रहरीको जत्था आइरहेका थिए। यो सबै हिजो आउने नेताकै कारण भएको लख काटिन्। हतारमा घरको ढोका तानेर दौडिन्।
'हिजो नेता आको था पाएछन् जस्तो छ साइँला। छिटो भागम् है,' दिलसरा जितमानको घर हुँदै जङ्गलतिर बढिन्।
'ठोक! ठोक!!, कसैलाई नछोड्,' टाढाबाट आवाज आइरहेको थियो।
परको खोल्सी काटेर दौडँदै थिइन् दिलसरा। जताततै ढुङ्गा ठडिएको बाटो अप्ठ्यारो थियो। ठोक्किएर बाटोमुनि झरिन्। खुट्टाको नलीहाड ढुङ्गामाथि बज्रियो। असह्य हुने गरी दुख्यो। पीडाले आँखा चिम्म गरिन्। छेवैको बुट्यान पक्डेर मुठी कसिन् तर चिच्याइनन्। गस्तीमा आएका सुरक्षाकर्मीले थाहा पाउलान् भनेर। बिस्तारै उठ्दा खुट्टा भिजेजस्तो लाग्यो। गुन्यू उचालेर हेर्दा रगत बगिरहेको थियो। पटुकी च्यातेर घाउ बाँधिन्। यसले रगत बग्न कम गर्यो।
बाटोबाट सजिलै देख्ने त्यो ठाउँमा बस्नु खतरनाक थियो। मुनितिर जान अप्ठ्यारो थियो। दायाँबायाँ जाने ठाउँ पनि थिएन। गोली चलेको र आर्मी पुलिस कराएको आवाज अझ नजिक हुँदै आइरहेको थियो। बाटो छेउको बुट्टा पक्डेर बाटोमा आइपुगिन्। उनको खुट्टा काँपिरहेको थियो, थररऽऽऽ। खुट्टा खोच्याउँदै अगाडि बढिन्। दौडन सक्ने अवस्था थिएन। अगाडिको गहिरो ठाउँबाट मास्तिर हेरिन्।कटुसको बुट्टाले छेकिएको सानो ओडार थियो। यो ठाउँ पहिले नै बाख्रालाई घाँस काट्न आउँदा देखेकी थिइन्। बुट्यान समात्दै माथितिर उक्लिन्। झ्याम्म परेको कटुसको बोटले ओडार छेकिएको थियो। त्यहीँबाट चिहाएर गाउँतिर जाने बाटो नियालिरहिन्।
पर उनले देखिन्। जितमान आफू बसेमुनिको गहिरो काटेर पल्लो डाँडामा हिँडिरहेको थियो। वल्लो डाँडामा सैनिक आइपुगे। उनीहरुले भागिरहेको जितमानलाई देखे। एकैचोटि तीन जना सैनिकले निसाना लगाए। जितमानको पछिल्लो भागमा असिना जसरी गोली बर्सियो र ढुनमुनिँदै ढल्यो। सैनिकहरु अगाडि बढे। जितमानको लासलाई नजिकै पुगेर नियाले। उनीहरु अझ अगाडि गएको मान्छेहरु पछ्याउँदै बढे।
सेनाले डाँडा काटेर गए। पर गाउँतिर होहल्ला भइरहेको थियो। उनी ओडारमा अडेस लागेर बसिन्। खुट्टा नराम्ररी चहराइरहेको थियो। सबै पीडा सहेर बसिन्। असैह्य भएपछि गुन्यू उचालिन्। अघि नै बाँधेको पटुकीको टुक्रा रगतले छपक्कै भिजेको थियो। त्यसलाई खोलिन्।
नजिकै वनमाराको बोटबाट कलिला पातहरु टिपिन्। टुक्रा टुक्रा पारेर थुक लगाउँदै माडिन्। रगत बग्न रोकिएको थियो। घाउमाथि राखेर अझ जोडले निचोरिन्। कालो झारको नीलो रस घाउमाथि चुहियो। अझ बेस्सरी पोल्यो। दाह्रा किटेर खुट्टा तन्काइन्। पटुकीको अर्काे फेरो च्यातेर घाउमा बाँधिन्।
लत्रिएको कटुसको हाँगा तानेर चिहाइन्। जितमानको लास बाटोमा घोप्टिरहेकै थियो। उसले हिजो माओवादी नेताप्रति आक्रोश पोखेको थियो। सरकारप्रति केही हदसम्म सकारात्मक नै देखिन्थ्यो। तर, आज उही सरकारी गोलीबाट मारिएको थियो।
दिलसराले कटुसको बुट्यानबाट चिहाउँदै धेरैचोटि जितमानको लास नियालिन्। बाटो सुनसान थियो। कारण सुरक्षा कारबाही पनि एक थियो। अन्यथा त्यहाँ गोठाला हुन्थे। पारि गाउँ जाने मान्छेहरु पनि बेलाबखत हिँड्थे।
जितमानको लास देखेर सैनिकहरुसँग रिस उठ्यो। तत्कालै हिजोका नेताले बोलेको कुरा सम्झिन्। 'सेनाका जवान पनि हाम्रै दाजुभाइ हुन्। हामीजस्तै गरिब। उनीहरु गरिब भएरै जागिर खान गाका हुन्, तर त्यही गरिबीमा सामन्ती सरकार खेलिरहेको छ। र, आफ्नै गरिब दाजुभाइ दिदीबहिनीलाई मार्न उक्साइरहेको छ। ती निर्दाेष सेनाका जवानहरु मोहरा बनिरहेका छन्।'
नेताका कुरा सम्झेर सुरक्षाकर्मीप्रतिको रिस कम भएन। तर, उनलाई लाग्यो– सेनाले कुनै आतङ्ककारी मारिरहेको छैन, न माओवादीले कुनै सामन्त मारिरहेको छ। बस्, एउटा गरिबले अर्काे गरिबलाई मारिरहेको छ।
मन अधैर्य भयो, तर पनि निक्लेर जाने आँट गरिनन्। किनभने गाउँबाट अझै सेना फर्किसकेका थिएनन्। डाँडापारि गएको सैनिकको जत्था यसको प्रमाण थियो, जो यही बाटो फर्किनेछ। तिनीहरुले भेटे भने दिलसरालाई पनि बाँकी राख्ने छैनन्।
घाउ निरन्तर दुखिरहेको थियो। फेरि अघि बेरेको पटुकीको टुक्रा खोलिन् र बिस्तारै मुखले घाउमा फुकिन्। हावाले घाउको दुखाइ कम भएजस्तो महसुस भयो। अझ खुट्टा तन्काइन्। खुट्टा अब सुनिँदै गएको थियो।
'स्कुलमा ता गैनन् कहीँ सेना?', अचानक छोराछोरीको याद आयो उनलाई।
उनका तीनै जना छोराछोरी विद्यालय गएका थिए। विद्यालयमा सुरक्षाकर्मी गए त्यहाँ पनि दुर्घटना हुन सक्थ्यो। छोराछोरीको यादले चिन्तित बनायो। निस्केर जाने सोच बनाइन्। ओडारको ढुङ्गा नमिलेका थिए। कहीँ खाल्डो त कहीँ चुच्चो परेको थियो, चुच्चो परेको भागमा समातेर उठिन्। खुट्टाले राम्ररी टेकिरहेको थिएन। गाह्रो गरेर उठिन्। पूरै शरीर नराम्ररी काँप्यो। तलतिर हेरिन्। बाटो अप्ठ्यारो थियो। उनी अझ लहरा र सानो सानो रुख समात्दै माथि आएकी थिइन्।
छोराछोरी सम्झँदै बसिराखिन्। तीन घन्टा बित्यो। अघि जितमानलाई गोली हान्ने सेनाहरु परतिर देखा परे। सायद उनीहरुले माओवादी भनेर खेदाउँदै लगेका गाउँलेलाई भेटेनन्। दिलसरा श्वास दबाएर त्यतैतिर हेरिन्। सैनिकको जत्था जितमानको लासनिर आइपुग्यो। पल्लो छेउ र वल्लो छेउमा केही सैनिक सजग भएर उभिए। एक सैनिकले वरिपरि घुमेर लास नियाल्यो। सायद उनीहरुको कमान्डर हुनुपर्छ। उसले अरुलाई केही भनिरहेको थियो।
दुई जना सैनिक अगाडि सरे र लासलाई पल्टाए। अघि वरिपरि घुम्ने सैनिकले घुँडा खुम्च्याएर लास नियाल्यो। जुरुक्क उठ्यो र अगाडि सैनिकलाई अगाडि बढ्न इसारा गर्यो। ऊ सजग अवस्थामा बन्दुकको ट्रिगर समाएर तलमाथि नियालिरहेको थियो।
बिस्तारै सैनिकको जत्था दिलसरा बसेको ओडारमुनि आइपुग्यो। गर्यामगर्याम बुट बजेको आवाज रोकियो। उनले अघि आफू लडेको वरिपरि सुरक्षाकर्मी रोकिए भन्ने अनुमान काटिन्। सम्झेर मुटुको गति झन् तेज भयो।
'क्याप्टेनसाप, यहाँ त माडिएको छ,' उसको ठीक तल आइपुगेपछि सेना बोल्यो।
आफू बसेको ठाउँबाट सेना देख्न सकिँदैन्थ्यो। उनीहरुको संवादमात्र सुनिन्थ्यो। कुनै सैनिकले आफू लडी झरेको ठाउँ देखाएर बोलिरहेको अनुमान गरिन्।
'कहाँ?', एउटा धोद्रो स्वर भएकाले सोध्यो।
'डिलमुनि सर,' फेरि उही आवाजमा जवाफ आयो।
'सर यहाँ त रगतको टाटा पनि छ,' अघि सुनेको भन्दा फरक आवाज आइरहेको थियो, 'कोही घाइते भएको जस्तो छ, यतै कतै लुकेको होला।'
'अलि सतर्क भएर बस। यहीँ वरिपरि हुन सक्छन् तिनीहरु,' उही धोद्रो आवाज आयो। सायद क्याप्टेन बोलिरहेको थियो।
सेनाको कुराले अझ त्रसित भई दिलसरा। उनले अघि आफू झुन्डिँदै आएको बाटो सेना आउन सक्ने सोचिन्। चाल मारेर बसिन्। उनले त्रसित मुद्रामा भारत गएका श्रीमान् र छोराछोरी सम्झिन्। उनको निधारमा पसिना चिटचिटाइरहेको थियो।
'हे भगवान्, रक्षा गर,' दिलसराले मनमनै प्रार्थना गरिन्।
'सर, अझ तलतिर गएर लुकेको छ कि?', तलतिर कुनै जवान बोलिरहेको थियो।
'एकदुई फायर हान्न त,' क्याप्टेनले भन्यो।
एउटा जवान डिलमा उभियो। नाल तलतिर सोझ्याएर ट्रिगर तान्यो। गोली चल्यो, च्युच्युऽऽ। गोलीको आवाजले मुटुको गति नै बन्द होला जस्तो भयो दिलसरालाई।
'यिनीहरुले यस्तै मास्तिर फर्काएर गोली चलाए भने, मलै नि गोली लाग्न सक्च,' सम्भावित दुर्घटना सम्झेर अझ त्रसित भइन् दिलसरा। ओडारको अझ कुनामा गएर लम्पसार परिन्। ताकि तलबाट आएको गोलीले सजिलै नलागोस्।
'छैन, छैन। अघि नै भागिसक्यो जस्तो छ,' गोली हानिरहेको जवानले रोक्दै भन्यो।
'ल, हिँड हिँड,' क्याप्टेन बोल्यो।
फेरि बुटको आवाज सुनिन थाल्यो। बिस्तारै कम हुँदै गयो। दिलसराले सतर्क भएर ढाड उठाइन्। ताकि चलमल गर्दा कुनै आवाज नआओस्। वरिपरिको ढुङ्गा नलडोस्। बिस्तारै कटुसको बुट्यानबाट नियालिन्। सैनिकहरु आफ्नाे घर जाने डाँडातिर निक्लिएका थिए। उनले पूरै सैनिकको सङ्ख्या गनिन्। जितमानको लास वरिपरि भएजति नै थिए। आफूमुनिको ठाउँबाट सबै सैनिक हिँडिसकेको विश्वास भयो। अलि लामो श्वास फेरिन्, तर खतरा टरिसकेको थिएन।
फेरि जितमानतिर हेरिन्। लासमाथि काग उडिरहेका थिए। अझ माथि माथि नियालिन्। आकाशमा कालो बादल टुक्राटुक्रामा विभाजित थियो। विद्यालय बिदा हुने समय भयो। फेरि छोराछोरी सम्झिन्। चिन्ता बढेर आयो।
गुन्यू उचालेर घुँडासम्म तानिन् फेरि। खुट्टा अघिको भन्दा अझ धेरै सुन्निएको थियो। दुःख दिएको देखेर सेनासँग त रिस उठ्यो नै। क्रान्ति गर्छांै भन्ने हिजोका नेतासँग पनि आक्रोशित भइन्। कता कता त्यो नेताले देखाएको मीठा सपनाले भने लोभ्याइरह्यो।
यत्तिकैमा घरपट्टिबाट मान्छेहरु आइरहेको देखिन्। त्यहाँ आफ्नाे ठूलो छोरा, जितमानकी श्रीमती आशरानी र केही गाउँले थिए। उनीहरु आएको देखेर गाउँबाट सेना गइसकेको लख काटिन्। छोरालाई देखेपछि अझ ढुक्क भइन्।
दिलसरा बुट्यानबाट टाउको निकालेर कराइन्। दिलसराको आवाज सुनेपछि गाउँले छिटो छिटो अगाडि बढे। केही दिलसरा भएतिर उक्लिए। केही जितमान भएतिर गए। तीन जना लाठेले दिलसरालाई अर्काे बाटो घुमाएर मूलबाटोमा ल्याए। पर जितमानको लासनिर आशरानी डाँको छाडेर रोइरहेकी थिइन्। गाउँलेले जितमानको लास र दिलसरालाई बोकेर घर पुर्याए।
घर पुग्दा दिलसराका छोराछोरी पेटीमा बसिरहेका थिए। आमाको अवस्था देखेर उनीहरुले निन्याउरो मुहार पारे। दिलसराले भने आफ्ना छोराछोरी सहीसलामत रहेकामा राहत महसुस गरिन्। जितमानको घरमा रुवाबासी चल्न थालेको थियो।
दिलसरा घरको पेटीमा बसिन्। पर क्षितिजमा अँध्यारो बढ्न थालेको थियो। जेठा छोराले डबकोमा नुन मिसिएको तातोपानी ल्यायो। छेवैमा राखेर ऊ पनि छिमेकी घरतिर दौडियो। ऊभन्दा साना भाइबहिनी अघि नै त्यता गएका थिए। दिलसराले घाउमा बाँधेको पटुकीको झुम्रो खोल्न थालिन्। झुम्रोको अन्तिम भाग घाउमा टाँसिएको थियो। त्यसमा लतपतिएको रगत सुकेर। त्यसलाई तातोपानीले अलिअलि गर्दै भिजाइन्। बिस्तारै झुम्रो घाउबाट छुट्टियो। तातोपानीमा झुम्रो भिजाउँदै घाउ सफा गरिन्। सबै रगतका टाटा पुछेपछि घाउ देखियो। छिमेकीका घरमा आएका गाउँले धामी बोलाइन्। उनले अक्षता फ्याँक्दै झारफुक गरिदिए। सँगै ल्याएको जडीबुटी राखेर फेरि पट्टी बाँधिदिए।
रातभरि खुट्टा चहर्याइरह्यो। भोलिपल्ट बिहानै उठिन्। छिमेकी घरमा चहलपहल सुरु भइसकेको थियो। उनी पनि खुट्टा खोच्याउँदै त्यतैतिर लागिन्। जितमानको लास आँगनमा राखिएको थियो। लासछेउ बसेर आशरानी रोइरहेकी थिइन्। आमा हिक्मतीचाहिँ अलि पर बसेकी थिइन्। आँगनमा बसेर घरको पर्खालमा अडेस लागेकी थिइन्। उनको उदास आँखामा आँसु रित्तिएजस्तो लाग्थ्यो।
'असत्तिहरु,' जितमानको लासतिर हेर्दै हिक्मती बोलिन्।
यही बेला नवीन र धनमाया आँगनको डिलमा देखिए। उनीहरु हान्निँदै जितमानको लासछेउ आइपुगे। धनमाया जितमानकी दिदी थिइन्। पारि गाउँ छिबाङमा विवाह गरेर गएकी। नवीन जितमानकै जेठा छोरा थियो। भर्खरै जुँगाको रेखी बस्दै गरेको। ऊ त्यतै बसेर नौ कक्षामा पढ्थ्यो। गाउँको विद्यालयमा आठ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। छिबाङमा माध्यमिक विद्यालय थियो। आठ पास गरेपछि ऊ त्यतै गयो, फुपूको घरमा बसेर पढ्न।
नवीन बुबाको लासनिर उभिएर घोरियो। ऊ डाँको छाडेर रोएन। गालामा आँसु भने गुडुल्की मार्दै थियो। लास उठाउने बेला आशरानी गाउँ नै थर्काउने गरी रोइन्। नवीनभन्दा मुनिका भाइबहिनी चुपचाप हेरिरहेका थिए। अर्थीको अगाडिको एउटा बाँसलाई नवीनले थामेको थियो। मलामीको लस्कर माडीखोलातिर सोझियो। दिलसराको खुट्टाले मलामी जान दिएन। जेठा छोरा पठाइन्। उनी हिक्मतीको छेउ गएर बसिन्।
'आमा, हुने कुरा भैगोे, अब नरुनुस्,' हिक्मतीको पाखुरामा समाएर ढाडस दिन खोजिन्।
'जाँ गनि, मर्ने भन्या गरिबै ता रैच। जितेलाई मारे। तेरो खुट्टो यस्तो भो,' हिक्मतीले उनीतिर हेर्दै भनिन्।
खुट्टो हेरेर दिलसराले माइती गाउँको चतुरे कामी सम्झिन्। सानैमा उनीहरुसँगै घाँस काट्न जङ्गल गएका थिए। वैशाख महिना थियो। वनभरि काफल पाकेको थियो। उनीहरु दुवै घाँसको भारी पुर्याएपछि काफलको रुख चढे। त्यो दिन काफलको रुखबाट लडेको चतुरेको खुट्टामा चोट लाग्यो। आज दिलसरालाई लागेजस्तै।
चतुरेका बाआमा गरिब थिए। अस्पताल लग्न सकेनन्। आखिर चतुरे जिन्दगीभर अपाङ्ग भयो। त्यो सम्झेर उनलाई कता कता डर लाग्यो।
'मेरो नि खुट्टो बिग्रिने हो कि?', दिलसराले हिक्मतीसँग भनिन्।
'खै, क्या हो के? घाउ ठूलै छ,' हिक्मतीले पनि शङ्का व्यक्त गरिन्।
'अस्पतालसम्म जाम् कि?', दिलसराले भनिन्।
'मर्नलाई जान्छेस्, हिजो ह्याँ आउने पुलिस, सेना त्यही अस्पताल छेउ बस्या छन्। यस्तो घाउ देखेसी माओवादी भन्दैनन्?', हिक्मतीले दिलसराको मुहार नियाल्दै भनिन्।
दिलसरालाई हिक्मतीले भनेको सही लाग्यो। स्वास्थ्य चौकी नजिकै संयुक्त सुरक्षाफौजको टोली बस्थ्यो। उनीहरु स्वास्थ्य चौकीमा आउनेलाई पनि केरकार गर्थे। घाइतेलाई अझ बढी। भर्खरै सुरक्षा कारबाही भएको ठाउँबाट आएका घाइतेलाई पनि गिरफ्तार गर्थे। सम्झेर दिलसराको मुुटु काँप्यो।
'मरिजानुभन्दा त खुट्टो बिग्रिएको राम्रो दिलसरा।'
हिक्मतीको सुझाव दिलसरालाई मनासिव लाग्यो। परदेश लागेका श्रीमान् फर्कने टुङ्गो थिएन। घरमा ससाना छोराछोरी। आफू पनि मारिए उनीहरुको बिजोग हुने सम्झिन्। बिस्तारै उठिन् र खुट्टा खोच्याउँदै आफ्नाे घरतिर बढिन्।
तीन बजेतिर मलामीहरु फर्किए। जाँड र मकै भुटेर खाजा दिइयो। त्यसपछि उनीहरु घर घर लागे। केही दिनमा धनमाया छिबाङ फर्किन्। नवीनले जान मानेन। ऊ बुबाको हत्याले विक्षिप्त थियो। आमा र हजुरआमाले निक्कै सम्झाए। उदास मन लिएर घरबाट बाटो लाग्यो। सातादिन बितेको थिएन। ऊ फेरि फर्किएर आयो। त्यस्तै उदास मुद्रामा।
केही दिनमै ऊ माओवादीमा लाग्यो। यो कुराबाट उसका हजुरआमा र आमा अझै दुःखी भए।
'तँ क्यार्न गर्चस् नवीन, बाउ त्यस्तरी मारे। तँलै नि भोलि क्यै भो भने?', आशरानीले बेलुकी खाना खाएपछि सम्झाइन्।
उनीहरु दुवै जना अँगेनाछेउ बसेका थिए। आगो बलिरहेको थियो। हजुरआमा टाँडमा गँुड लागिसकेकी थिइन्।
'मलै क्यै हुन्न आमा,' चुल्होको दाउरा ठोस्दै बोल्यो नवीन, 'म बुबा मार्नेलाई नमारी छोड्दिनँ।'
'तैले सोच्याजस्तोे सजिलो छैन,' डबकामा तातोपानी पिउन लागेकी आशरानीले सम्झाउने प्रयास गरिन्, 'तिनेरु धेरै शक्तिशाली छन्। नसक्ने कुरामा जोरी नखोज।'
'म पनि शक्तिशाली भएको छु। त्यसै माओवादीमा लागेको हैन,' नवीन आफ्नाे निर्णयमा दृढ रह्यो।
आमाले निकै बेर सम्झाइरहिन्। नवीन आफ्नाे सोचदेखि डगमगाएन। केही दिन बित्दा नवीन गाउँमा थिएन। साता–महिना बित्यो। ऊ अर्काे गाउँमा माओवादी भएर खटिएको खबर आउँथ्यो। कहिलेकाहीँ घर आउँथ्यो। त्यो दिन दिलसरा पनि उनीहरुको घर जान्थी। नवीन दिलसरा र आमासँग निकै बेर कुरा गथ्र्याे।
उसलाई पढ्न छाडेकोमा पश्चात्ताप थिएन। उल्टै बुर्जुवा शिक्षा भन्दै रोष प्रकट गथ्र्याे। उसमा सेनाप्रति बदलाको भाव मरेको थिएन। अर्कातिर पार्टीप्रति झुकाव पनि बढ्दै थियो। ऊ गरिबीमुक्तिको मीठा मीठा सपना बाँड्न थालेको थियो। अर्काेतिर ऊ माओवादी भएपछि परिवारले चाहिँ सुरक्षाफौजबाट सास्ती बेहोर्नु परेको थियो।
जितमानको परिवारलाई तीन महिनापछि पीडाको अर्काे बादलले छोप्यो। दोहोरो भिडन्तमा नवीनको मृत्यु। आशरानी र हिक्मती जितमान मर्दाभन्दा बढी उदासिए।
'हामी त गाम छाडेर जान परोे,' एक दिन दिलसरासँग जितमानकी आमा हिक्मतीले भनिन्।
'किन र आमा? काँ जाने र?', दिलसराले व्यग्रताका साथ सोधिन्।
'काँ जाने ता थाहा छैन। जहाँ गए नि यी नाति–नातिनालाई जङ्गल जान नदिन परोे। छोरा ता मार्दे मार्दे। हुर्केको नाति नि बँचेन। अझै सेनाले दुःख दि’रा’ छ,' हिक्मती भारी आवाजमा बोल्दै थिइन्, 'बच्या तीन नातिनातिना छन्। यिनलाई ता जसरी नि बचाउन परो। ह्याँ ता हुर्केर नि माओवादीमा लाग्लान् र मर्लान् भन्ने डर। त्यै भर, हामी गाम छोडेर जाने भयम् दिलसरा।'
दिलसराले जितमानकी आमाका आँखा निकै बेर नियाली। तर, केही बोलिनँ। सातादिन नबित्दै हिक्मती र आशरानी त्यहाँबाट हिँडे। केटाकेटी र कुम्लोकुटुरो च्यापेर। उनीहरुको मूलढोकामा ठूलो ताल्चा झुन्डियो।
दिलसराको नलीहाडमा लामो डाम बस्यो। तर, अपाहिज हुनु परेन। त्यसैमा खुसी थिइन्। चिसो याम र लामो यात्रामा भने दुख्ने गर्छ। अहिले पनि दुखिरहेको छ। सानो भेरीको किनारैकिनार लामो यात्रा गरेकाले। भोलि त्यही बाटो नुन बोकेर जानु छ फेरि।
[बोखिमको कथासंग्रह ‘रुमानी साँझ’ प्रकाशित छ।]