वैदेशिक रोजगारीले परिवारमा विग्रह : कतै आत्महत्या, कतै सम्बन्धविच्छेद

अनलाइनखबर

काठमाडाैं

हरि अधिकारी

मोरङको कानेपोखरी गाउँपालिका–४ नारायणचोक उत्तरतर्फ एउटा प्राथमिक विद्यालय छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकबाट करीब १५ किलोमिटर दक्षिणमा पर्ने यो विद्यालयको उत्तरतर्फको टोलमा २२ परिवारको बसोबास छ ।

टोलका करीब सबैजसो घरका सदस्य वैदेशिक रोजगारीमा छन् । केही वैदेशिक रोजगारीबाट फर्किएका पनि छन् । वैदेशिक रोजगारीले गाउँमा देख्न सकिने परिवर्तन ल्याएको छ । पछिल्लो सात वर्षयता धेरैका घरका छाना फेरिएका छन् । सबैजसो परिवारको आर्थिक हैसियत थोरै भए पनि सुधारिएको छ । तर, यो आर्थिक सुधारको पारिवारिक मूल्य भने असाध्यै महँगो छ । २२ मध्ये पाँच परिवारमा वैदेशिक रोजगारीले विग्रह नै ल्याएको छ ।

पाँच वर्षअघि स्थानीय रोशन राई (परिवर्तित नाम) विवाह गरेर वैदेशिक रोजगारीमा गएका थिए । अढाइ वर्ष विदेश बसेर फर्कने तयारी गर्दै गर्दा घरबाट श्रीमती हराइन् । उनी घर आउनु भन्दा १५ दिनअघि नाबालक सन्तान घरमा छाडेर ‘पथरी बजार जान्छु’ भन्दै हिंडेकी श्रीमती फर्किइनन् । सोधीखोजी गर्दा पत्ता लाग्यो उनले दोस्रो विवाह गरिछन् ।

रोशनको घरको दायाँ–बायाँ अरू दुईवटा घर छन् । ती परिवारमा पनि उनकै जस्तो समस्या छ । घटना २०७६ साल फागुनतिरको हो । छिमेकी रामबहादुर राई (परिवर्तित नाम) पनि विदेशबाट फर्कनुअघि श्रीमती घरबाट हराइन् । खोज्दै जाँदा केही दिनपछि भेटिइन् । श्रीमतीले सल्लाह नगरी घर छाडेपछि विरक्तिएका रामबहादुर फेरि वैदेशिक रोजगारीमै हान्निए ।

प्रकाशित मिति: : 2021-10-22 11:37:00

प्रतिकृया दिनुहोस्