सरिशा अछामी
नुवाकोटकी १९ वर्षीया सुनिता नेपाली महिनावारीको तीन–चार दिन केही काम गर्न सक्दिनन्। पहिलो र दोस्रो दिन दुखाइ कम गर्न औषधि प्रयोग गर्छिन्। दुखाइसँगै रगत धेरै जाने समस्याले पीडित उनी सेनिटरी प्याड र कपडा प्रयोग गर्ने गरेको बताउँछिन्। ‘सेनिटरी प्याड दुई–तीन घन्टाभन्दा टिक्दैन, बाहिर हिँड्दा प्याड फेर्न पाइँदैन। त्यसैले रगत बाहिर नआयोस् भनेर कपडा राख्छु,’ उनी भन्छिन्, ‘सेनिटरी प्याडभन्दा कपडा सहज लाग्छ, तर कपडा लगाउँदा बाहिर रगत निस्किने हुँदा दुवै प्रयोग गर्न बाध्य छु।’
महिनावारी हुँदा सहर–बजारका बासिन्दाले सेनिटरी प्याड प्रयोग गर्छन्, तर ग्रामीण भेगका बासिन्दा अहिले पनि कपडा प्रयोग गर्छन्। धुलिखेल नगरपालिका–६ की ३८ वर्षीया भगवती भन्छिन्, ‘कपडा प्रयोग गरेमा पैसा बचत हुन्छ। एक महिनामा दुई सय रुपैयाँ प्याडमा खर्च लाग्छ, त्यसैले घरका पुराना कपडालाई टालो बनाएर प्रयोग गर्छु।’
कपडाको प्याड बनाउने कोपिला
पछिल्लो समय महिनावारीका बेला सुरक्षाका लागि लगाउने प्याडबारे विभिन्न बहस भएका छन्। ९ फेब्रुअरी २०१८ मा हिन्दी फिल्म ‘प्याड म्यान’ भएको थियो, जसमा सेनिटरी प्याडको मुद्दा उठाइएको छ। नेपाल सरकारको ०७६÷७७ को बजेटमा सामुदायिक विद्यालयमा पढ्ने किशोरीका लागि निःशुल्क सेनिटरी प्याड वितरण गर्ने उल्लेख थियो।