कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए।
उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए।
सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे। पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए।
‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा बगायौं, बगेर ओह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने।
उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो।
कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे।