विमानस्थल सुरक्षा प्रणाली : गल्ती गर्ने प्रहरी, सास्ती यात्रुलाई

सुरक्षा जाँचमा प्रहरीबाट भएका चरम लापरबाहीपछि यात्रुलाई जुत्तासमेत खोल्न लगाएर जाँच गर्न थालिएको छ

काठमाडौं विमानस्थल हुँदै दुई युवकले चार केजी सुन नेपालगन्ज पुर्‍याएको घटनामा प्रहरीको चरम लापरबाही रहेको छानबिन समितिले औँल्याएको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गठन गरेको छानबिन समितिले प्रहरीको मिलेमतो नदेखिएको, तर गम्भीर लापरबाही गरेको भन्दै सुरक्षा प्रणालीमा सुधार ल्याउन सिफारिस गरेको छ। 

एसएसपी सन्दीप भण्डारी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउँदै सुरक्षा कमजोरीहरू सुधार गर्न सुझाब दिएको हो। गत १८ भदौमा बुद्ध एयरका दुई यात्रु नेपालगन्ज विमानस्थलमा करिब चार किलो सुनसहित पक्राउ परेका थिए। जुत्तामा लुकाएर उनीहरूले सुन लगेका थिए। काठमाडौंस्थित विमानस्थलमा सुरक्षा जाँच गराउँदा उनीहरूसँग सुन देखिएको थिएन। जाँचमा संलग्न प्रहरीको लापरबाहीले गर्दा सुन पत्ता नलागेको छानबिन समितिको निष्कर्ष छ। 

विमानस्थलमा सबै यात्रुलाई ‘वाक थ्रु’ गेटमार्फत प्रवेश गराइन्छ । त्यसरी प्रवेश गराउँदा शरीरमा कुनै धातु भए मेसिन बज्ने गर्छ। सुन बोकेका दुई युवक गेटबाट प्रवेश गर्दा पनि मेसिन बजेको तैपनि प्रहरीले त्यसतर्फ ध्यान नदिएको र शरीर खानतलासी गर्दा पनि घुँडाभन्दा माथि मात्र गर्दा उनीहरूले सहजै अवैध सुन विमानस्थलबाटै ओसार्न सफल भएको छानबिन समितिले औँल्याएको छ। लापरबाही गर्ने प्रहरीलाई कारबाहीको सिफारिस भएको छ। तर, तस्करीमा मिलेमतो भने नदेखिएको छानबिन समितिका एक अधिकारीको दाबी छ। 

 

प्रकाशित मिति: : 2021-10-18 11:27:00

प्रतिकृया दिनुहोस्