सनातन संस्कृतिमा चार रात्रिको महत्त्वपूर्ण स्थान छ– मोहरात्रि (श्रीकृष्णाष्टमी), कालरात्रि (विजयादशमी) सुखरात्रि (लक्ष्मीपूजाको रात्र) र शिवरात्रि।
यी रात्र बोधार्थक पर्वले रात्रिको दार्शनिकतामाथि प्रकाश पारेका छन्। दिन र रात अर्थात् अनन्त समयभन्दा माथि रहेका कालका पनि काल महाकाल शिवस्वरूप रहेको भन्ने चिन्तनमा शिवरात्रिको महत्त्व छ। शिव र शक्तिको संयोजनबाटै सृष्टिचक्र प्रणालीको लय र प्रलय हुने शाश्वत सारमा ब्रह्मा, विष्णु र महेश्वर स्वरूपको त्रिदेव चिन्तन ओमकार चिन्तनमा झंकृत भएको छ।
पुरुष र प्रकृति अर्थात् कर्ता र कारकको सम्बन्ध कारक भावार्थबाट सृष्टि र वियोजनबाट प्रलय हुने यस कार्य¬कारण भावको अद्वैतदर्शनको बोधार्थ भएको छ, (राधाकृष्ण, भारतीय दर्शन, भाग २,पृष्ठ २२२)। शक्तिविना शिव शव हुने भएकाले शिवशक्तिको एकात्मक स्वरूपमै सिर्जना हुने प्रकृतिको शाश्वत चिन्तनलाई अभिव्यक्त गरिएको छ। त्यसकारण शिवशाक्त दर्शनका अनुयायी अर्थात् कौलमार्गीले जीवित स्त्रीको योनिस्वरूपलाई पूजा अनुष्ठान गर्ने परम्परा रहेकोे यस चिन्तनलाई अभिव्यक्त गर्न शिवशक्तिका आलिंगनरत, ललितासन र सौम्यभाव स्वरूपका प्रतिमा बनाउने प्रचलन काठमाडांै उपत्यकाका नेवार समुदायमा आजपर्यन्त जीवन्त रहेको छ।