स्वास्नीमान्छेलाई वेश्या बनाएर भोग्न एक सेकेन्ड नहिचकिचाउने, तर विदूषी भएर ससम्मान फूलमालाले सजिएको पनि सहन नसक्ने शासक सोचले ग्रस्त छ, समाजको मूल धार।
अग्निजडित अस्तित्व-यात्राका उनी सिद्ध नायक!
उनी कसैकी नायिका होइनन् आज, उनी आफैं नायक! उनी कसैकी नायिका थिइन् त्यो प्रहरसम्म; जतिखेरसम्म युगौंदेखि हिमाल एकान्तमा टल्किरहे जस्तै, पहाड शून्यतामा उभिइरहे जस्तै, खोला शून्यतामै बगिरहे जस्तै उनै हिमाल, पहाड, खोलाको शून्यतामा पनि कसैका नाममा प्रेमको आदर्श स्वप्नफूल सिउरिएर उनी आफ्नै एकान्त आँसुको प्रवाहमा पौडिरहिन्।
आज आँसुको सम्पूर्ण बाँध तोडेर आफ्नो भावनाको बादशाह आफैं उनी स्वच्छन्द यमुना बगिन् र ताजमहल आइपुग्दा आफ्नै किनार सिर्जेर अडेसा लागिन्। त्यहाँ आफ्नो अस्तित्व थाहा दिन बतास पनि उनलाई बारबार अदृश्य स्पर्श गरेर जान्थ्यो, पानीको बहाव पनि सङ्गीत भएर अस्तित्वको झङ्कार दिन्थ्यो। उनकै छायामा सूर्यतेज पनि आफ्नो अस्तित्वको दाबी गर्न चुक्दैनथ्यो।