डा. गोविन्दराज भट्टराई
योकुरा पनि अट्लान्टिक महासागरको किनारामा अकस्मात् समुद्री आँधी क्याट्रिना उठेको वेला को हो। एक्लै उनीहरूले केही क्षण प्रतीक्षा गरे र तत्क्षण विकल्परहित भै मृत्युवरण गरे; अथवा इटालीको भिसुभियस पर्वतमा ज्वालामुखी पड्केको वेला जस्तै हो।
एक्लै उनीहरू ‘हामी समाप्त भयौं’ भन्न नपाउँदै लाभा र खरानीले पुरिए। त्यो उम्लँदो अग्निको लेदो कस्तो थियो! भर्खरै अस्ट्रेलिया महादेश सिङ्गै बेह्रेर उठ्ने अग्निज्वाला जस्तै हो; त्यो कत्रो थियो? अब जीव, वनस्पतिको खरानी मात्र रहला भन्ने लागेको थियो। सबैभन्दा ठूलो दोस्रो विश्वयुद्ध थियो। त्यो ता हामी आफैंले सल्काएको मृत्युको हवनकुण्ड थियो।
मृत्युको जीवन्त रूप विश्वव्यापी खाण्डव वनमा दनदनाइरह्यो। त्यसैमा हामीले भाग लिइरह्यौं। त्यसको पूजा गरिरह्यौं। देशदेशबाट उत्कृष्ट शक्तिका, सौर्यका, तेजका, बलका युवाहरू छानेर पठायौं- यसरी त्यहाँ गएर हामफाल्नु र समाप्त हुनु भनेर सिकायौं। उनीहरूले त्यस्तै गरे।
उनीहरू संसारको कुनाकुनाबाट बिदाइका माला भिरेर निस्के, भय मिश्रित परन्तु निर्भीकता र साहसको रापमा किञ्चित् मुस्कुराउँदै। मुटुमा पनि किञ्चित् मूर्खताको लेप लगाएर।
यसरी हामी कहिलेकाहीं चुप लागेर खेलिरहेको मैदानमा उम्लेर मृत्यु आफैं आउँथ्यो, ऐया भनी नसक्दै, आत्था भन्न नपाउँदै एकै गाँस चपाउँदै जान्थ्यो। कति हजारले, कति लाखले एक गाँस हुन्छ; कति अक्षौहिणीले हामीलाई के थाहा छ र ! त्यो ता उसैलाई थाहा छ! ऊ कत्तिको भोकाएको हुन्छ; त्यसैमा भर पर्छ, तर हामीलाई कसरी थाहा हुन्छ र? हामीसित उसको संवाद भए पो। उसको यस्तो अवतार एकैपल्ट देख्न पाएको भए पो अनुमान गर्नु हुन्थ्यो।