सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरेको देखेर यो वर्षको दसैँ आएकाे थाहा पाइयो। हरेक पटक फोनमा टिङ्गरिङ्ग गरेर आउने शुभकामनाले मलाई आश्चर्य मिश्रित खुशी प्रदान गर्छ। सामान्य अवस्थामा फुटेको आँखाले पनि हेर्न नरुचाउनेहरुले पनि के कारणले उन्नति प्रगतिको शुभकामना दिएका हुन् भनेर र पंक्तिकार जस्तो सामान्य सामाजिक आर्थिक हैसियतको व्यक्तिलाई पनि शुभकामना आउँदो रहेछ। यस्ता कुराले आश्चर्य लाग्नुको साथै सम्झना गरेर साथीभाइले शुभकामना दिएछन् भनेर खुशी लाग्नु स्वाभाविक हो।
अब यस्ता शुभकामना कति हदसम्म लाग्छ त्यो अर्कै बहसको विषय भयाे। अहिले त्यतातिर नजाँदा उचित होला तर चाहिने समयमा फोन नलाग्ने नेपाल टेलिकम, मिसावटयुक्त पेट्रोलियम पदार्थ बेच्ने नेपाल आयल निगम र समयमा प्लेन नउडाउने नेपाल एयरलाइन्सलगायतका निकायहरुले पत्र–पत्रिकामा दिएको शुभकामनालाई आधार मान्ने हो भने यस्ता शुभकामनाहरु पूरा हुँदैनन। र, यी निकायहरुले आफ्नो कर्तव्य इमान्दारिपूर्वक निर्बाह गरिदिए मात्र त्यो नै असली शुभकामना हुन्थ्यो।
व्यक्तिगत रुपमा मलाई यो चाडसँग त्यति आत्मियता छैन। यो वर्ष बुवा बितेको कारण दसैँ मनाउने कुरै भएन। कुनै खास कारणले होइन कि त्यसै चाडप्रति रुचि नभएको हो। मान्छेले महिनौं दिन अघिदेखि दसैँमा यस्तो र उस्तो गर्ने भनेर योजना बनाएको नै मलाई अच्चम लाग्छ। तर, त्यो उनीहरुको स्वतन्त्रता हो। मलाई राम्रो वा नराम्रो भनेर टिप्पणी गर्नु छैन। केटाकेटी छँदा लामो छुट्टी हुने, चङ्गा उडाउन पाइने र नयाँ लुगा लगाउन पाइने बाहेक मलाई दसैँको अरु कुनै कुराले पनि तानेन। मासु खानेप्रति त्यति रुचि नभएको कारणले पनि हुन सक्छ, यो चाडप्रति मलाई त्यति आकर्षण नभएको होला। दसैँको अवसरमा र अरु सामान्य अवसरमा मैले खाने पदार्थ वा भोजनमा कुनै फरक नहुने कारणले पनि दसैँमा खाने पिउने भनेर उत्तेजित हुनुपर्ने कुरा पनि आएन।
नयाँ लुगाको हकमा इन्द्रचोकभित्रको वटु मुबाहलस्थित हनुमान साहुको पसलबाट किनेर ल्याएको एक थान कपडाबाट आवश्यक सबै लुगा सिलाउने चलन थियो। यसको बेफाइदा के थियो भने लुगा सिलाइसकेपछि थाहा हुन्थ्यो आफ्नो कमिज र आमाको चोलो एउटै भएछ भन्ने। यदी घरैमा लुगा नसिलाएको अवस्थामा भने पोलिस्टरको लुगा सिलाउनु पर्यो भने साउनेपाटीमा रहेको जी एन टेलर्स (सुट स्पेसलिस्ट) र खद्दरको लुगा सिलाउनु पर्यो भने नयाँ बजारस्थित गुरुमा (बास्तबिक नाम थाहा छैन)को पसल हुन्थ्यो। जी एन टेलर्समा सिलाएको पाइण्ट र कमिज लगाउनु भनेको आजको समयमा प्रवल गुरुङ्गले डिजाइन गरेको लुगा लगाउनु जस्तै थियो। तर, त्यसमा पनि एउटा ठूलो समस्या थियो, पाइण्टमा जिपर राख्यो भने सिलाई खर्च दुई रुपैयाँ बढी हुन्थ्यो। त्यो दुई रुपैयाँको बचतको लागि हामीले सधैँ टाँक भएको पाइण्ट लगाउनु पर्थ्यो।
त्यस्तै गुरुमाले कहिले पनि समयमा लुगा डेलिभरी नदिने कारणले लुगा लिन पटक–पटक जानु पर्थ्यो। तर, उनी सधैँ तनावमा हुन्थिन्। उनको बुहारी घर छोडेर भाग्ने र छोराले फेरि नयाँ बुहारी ल्याउने एउटा नियमित आकस्मिकता जस्तै थियो। त्यती छोटो समयमा नयाँ–नयाँ श्रीमती खोजेर ल्याउने उनको छोरो सायद त्यो जमानाको 'प्ले ब्वाई' हुनुपर्छ। याे मेरो अनुमान छ। कैँची तरीकाले साइकल चढेर पटक–पटक गएपछि मात्र बल्ल लुगा डेलिभरी हुन्थ्यो। त्यो पनि कच्याककुचुक भएको अवस्थामा। त्यसमाथि उनले सिलाएको लुगाकाे साइज सधैँ ठूलो हुन्थ्यो। अहिलेको 'बेग्गी' जस्तै तर समयमा लुगा तयार भएन भने टीका लगाउन जान नपाइने र टीका लगाउँदा पाइने दक्षिणाबाट हात धुन पर्ला भन्ने डरको अगाडि त्यो समस्या कुनै ठूलो हुन्थेन। यसको साथै त्यो बेला सबै दाजुभाइलाई एउटै र सबै दिदीबहिनीलाई एउटै कपडा र डिजाइनको लुगा सिलाउने चलन थियो, त्यो किन होला ?
त्यस्तै, मान्यजनबाट टीका लगाएर आशिर्वाद लिने/दिने कुरा राम्रो हो। तर आजको जमानामा सयौं पाप सोचेको मन र हजारौं झुट बोलेको मुखले दिएको आशिर्वाद लाग्ला भन्ने कुरामा मलाई शंका छ वा लाग्दैन भन्ने कुरामै ठोकुवा गर्न सकिन्छ। स्वीकार गर्न कठिन होला आजकाल आफूलाई काम पर्ने, धनी र उच्च पदस्थ ब्यक्तिको हातबाट मात्र टीका लगाउन तछाडमछाड गर्नेहरूलाई। सामान्य सामाजिक र आर्थिक हैसियत भएकाहरुको हातबाट टीका लगाउन कोही जाँदैन, केही अपवादको रुपमा यस्तो भेदभाव नगर्ने ठूलो ह्रदय भएका पनि होलान त्यसमा उनीहरुलाई हार्दिक अभिवादन गर्नपर्छ।
त्यस्तै, टीका लगाएर दिने पैसा (दक्षिणा) को रकमले पनि समाजमा एक किसिमको 'हाइर्यार्की' खडा गरेको छ। त्यस्तो थोरै दक्षिणा दिनेको घरमा के जानु वा अहो! त्यसले त धेरै पैसा दिन्छ जसरी भए पनि जानुपर्छ भन्ने जस्ता मिल्दाजुल्दा संवादहरु पंतिकारले धेरै पटक सुनेको छ। हामी केटाकेटी छँदा छोरीलाई मात्र दक्षिणा दिने चलन थियो। पैसा नपाउने कारणले टिका लगाउन जान त्यति रुचि हुन्थेन। एउटा नाताले हजुरआमा (कार्टुनिस्ट राजेस के सी को आमा पट्टिको हजुरआमा) पर्नेले भने छोरालाई पनि पैसा दिने कारणले उनकाेमा जान छुटिएला कि भनेर चनाखो भएर बसिन्थ्यो। समग्रमा भन्नु पर्दा मेरो लागि दसैँभनेको रु.एक संकलन कार्यक्रमभन्दा माथि कहिले गएन।
आजकाल धेरैले यो चाडलाई 'स्केप' (छल्न) गर्न कतै घुम्न जाने वा हाम्रो फलानो मरेको कारण दसैँ नमनाउने भनेर भन्ने गरेको पाइन्छ। आफन्त वा नजिकको व्यक्तिको मृत्यु भएको कारण चाड नमनाउने तर खाने पिउने कुरामा कुनै बन्देज नहुने क्रियाकलापलाई के उपमा दिने यो विद्वत पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु। मेरो विचारमा सामान्य आर्थिक हैसियत भएकाहरुलाई त यो चाड दशा नै भएर आउने गरेको छ। आफ्नो हैसियतभन्दा बढी अरुलाई देखाउन खर्च गर्ने कारणले पनि धेरैलाई 'आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई' जस्तै हुने गरेको छ। मान्छेले के भन्लान् भनेर देखावटी गर्नु कुनै कोणबाट पनि बुद्धिमानी होइन। आफ्नो जीवन आफूले बाँच्ने हो र खुशी वा दु:ख सबै आफ्नै मात्र हुने कारणले कसैले सम्पन्नताको प्रमाणपत्र देलान् भन्ने झुटो सपना नदेख्दा पनि हुन्छ। अरुको पिठ्यु पछाडि कुरा काट्नेहरुले तपाईंले जे गरे पनि कुरा काट्न छोड्दैनन्। मैले भने त्यस्ता ब्यक्तिहरुलाई तलब दिनु नपर्ने तर काम भने अति नै राम्रोसँग गर्ने दासको रुपमा हेर्ने गरेको छु। अर्थात्, आलोचना गर्ने दास।
त्यस्तै पशुबलिको बिरोध गर्नेहरुको क्रियाकलाप हास्यास्पद छ। यदी दसैँमान्ने हो भने पशुबलिलाई पनि मान्नु पर्छ, किनकी यो दसैँ कै एउटा प्रमुख अङ्ग हो। यदी पशुलाई मार्नु हुँदैन भन्ने हो भने सबैभन्दा पहिले मासुजन्य पदार्थ खान छोड्नुपर्छ। पशुलाई जिउँदै पोलेर र काटेर हेर्दै मन खल्लो हुने तरिकाले मासु खाने सेतो छाला भएकाहरुको कुरामा लागेर मारकाट गर्नुहुँदैन भनेर रोएर र कराएर सामाजिक सञ्जालहरुमा फोहर गर्नुको कुनै औचित्य छैन। पशुलाई काट्न हुँदैन भन्नेहरुले सबैभन्दा पहिले मासु त्याग गर्नुपर्यो। यदी मासु खाने हो भने चुप लागेर बस्नु उचित छ। आफ्ना साना–साना बच्चाहरुलाई खसी, बोका र च्याप्न लगाएर बलिन्द्र धारा आँशु बगाएर पशु नमार्नु भन्ने आशय को भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नु अर्को नाटक मात्र होइन त्यो बालापनको शाेषण पनि हो।
प्रस्तुत आलेखमा कसैलाई व्यक्तिगत रुपमा इङ्गित गर्न खोजिएको छैन। पात्रलाई नभई प्रवृतिलाई मात्र भन्न खोजिएको हो। मेरो विचारसँग सहमत हुनेलाई धन्यबाद छ र असहमत हुनेहरुले पनि अरुको बिचारको कदर गर्नुपर्ने सामान्य सिष्टाचार पालना गर्नुहुनेछ भन्ने आशा गर्दछु। अन्तमा दसैँको सम्पूर्ण पाठक वर्गमा हार्दिक मंगलमय शुभकामनाका साथै हालको महामारीमा आफ्नो ख्याल गरेर दसैँ मनाउनुहोला भन्ने विनम्र अनुरोध गर्दछु।