सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ।
कांग्रेसले मन्त्रिमरिषद्मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
कांग्रेसले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरेको छ। त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ।
नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो।
सत्ता साझेदार प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले यसअघि नै मन्त्रीको नाम टुङ्ग्याइसकेका छन्। मुख्यमन्त्री कार्यालयले अपरान्ह ३ बजे शपथको तयारी गरेको छ।
माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो। दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषदमा पठाउने निर्णय माओवादीले गरेको हो। निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन्। उनी सूर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोजेकी थिइन्।
माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ।
माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एस) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ। नेकपा (एस)बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछिन्।
१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।
जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ। त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन्।