करिब २६ घण्टासम्म बसको यात्रा गरेर म राजधानी आइपुगेँ।
वास्तवमा भन्ने हो भने, मलाई यो शहर खासै मन पर्दैन। आँखा नभएको शहर हो, यो। कान नभएको शहर हो, यो। जिब्रो र नाक नभएको शहर हो, यो। अझै खुलेर भन्दा, मष्तिस्कको खोपडी र कुनै गिदी नभएको शहर हो। यो शहरले देशका सुदुर भूगोलको अनुहार कहिल्यै देखेन। सुदुरका आवाज कहिल्यै सुनेन।
यो शहरसँग मेरो विचार कहिल्यै मिलेन। तर के गर्नु ? आफ्नै विचारलाई चक्का बनाएर यो शहरमा आइरहनुपर्छ।
यही श्रृंखलामा गत सोमबार काठमाडौं आएँ। सानो काम थियो, राहादानी विभागमा।
म यो शहरमा आएको चार दिन भइसकेछ। चार दिनमा धुलो र धुवाँले आजित बनाइसक्यो। अन्ततः मेरो योजनाका कामहरु सकाएर अस्ती (बिहिबार) साँझ म काठमाडौंको नयाँ बसपार्क पुगेँ।
मलाई शुक्रबार बिहानै गाडी चढ्नु थियो। बिहानै गाडी चढ्न सजिलो होला भनेर नयाँ बसपार्कस्थित 'बीजी मल' छेवैको एउटा होटलमा कोठा लिएँ, एक रातको निद्रा कटाउँन।
एक रातको कोठा भाडा सात सय रुपैयाँ। मैले होटलको काउन्टरमा नाम लेखाएँ। त्यसपछि होटलकै एक जना भाइले देखाइदिए, कोठा नं १०४।
(प्रिय पाठक, तपाईलाई जानकारी गराउँ कि तपाईले पढिरहेको यो ब्लग पनि सोही कोठा नं १०४ को झ्याल छेउको बेडमा बसेर लेखिरहेको छु।)
कोठामा प्रवेश गरेपछि काधको झोला नजिकैको टेबलमा बिसाएँ। पंखा चलाएँ। मोबाइल हेरेँ, साँझ ७ः२३ भइसकेछ।
फ्रेश भएर म कोठाबाट एकछिन बाहिर निस्के। यो शहरको रात्रिकालिन प्रहर हेर्न चाहन्थे, म। एक्लै निस्फिक्री हिँडेँ। भित्रका केही गल्लीहरुमा त झण्डै हराए पनि। धन्न, सोधी-सोधी मुख्य सडकसम्म निस्किएँ।
यतिन्जेलसम्म रात छिप्पिदै गइरहेको थियो। मोबाइल हेरेँ, ८ः३९ भइसकेछ।
दिउँसोभरी आराम गरेर, रातभरी हल्ला गर्ने शहरको यो संस्कारसँग मैले पहिल्यै साक्षात्कार गरिसकेको छु। करिब एक घण्टाजति सडकतिर बरालिदै हिँडे। त्यसपछि पुनः आफ्नै कोठा रहेको होटलतिर हानिएँ।
मैले कोठा लिएको होटल छेवैमा एउटा सानो भट्टी रहेछ। भट्टीमा पाकिरहेको सुकुट्टीको गन्धले मलाई तानिहाल्यो। म पनि भट्टीभित्र छिरिहालेँ। तर ठाउँ रहेछ साँघुरो। जसोतसो दुईवटा टेबल र आठ वटा कूर्सी भने अटाएकै थिए।
मैले साहुनीले भने, 'दिदि, तपाईको पाककला त गज्जबकै रहेछ त ! बाहिरैसम्म मिठो वासना गइरहेको छ।'
सायद साहुनी पूर्वेली हुन्। उनले पूर्वकै भाषा झल्कने गरी हाँस्दै भनिन्, 'हा हा, भाइ पनि ! खानेलाई मिठो लाग्छ, नखानेलाई वास्तै हुन्न !'
मैले थपेँ, 'लु त, मलाई पनि दिनु तपाईले पकाएको सुकुट्टी !'
उनले सोधिन्, 'सुकुट्टीसँग अरु केही नखाने भाइ ?'
ती साहुनीले घुमाउरो तरिकाले मलाई मदिरा पिउन आग्रह गरेकी थिइन्। उनकोे घुमाउरो कुरा मैले पनि बुझिहालेँ। र भने, 'ल्याउनुहोस् न त, के छ !'
एकछिनमै उनले सुकुट्टी र एउटा गोर्खा वियर मेरोअघि राखिदिइन्।
त्यसो त, मदिरा पिउने मामलमा मलाई अरुजस्तो धेरै सोचिरहनै पर्दैन। मगरको छोरो हुँ। घरमै बा-आमाले जाँड खाएपछि मैले पनि सिकेँ। र मलाई जहाँसम्म लाग्छ कि, अधिकांश मगर परिवारहरुमा यो विषय सामान्य नै हो।
मैले मदिरा पिउन थालेको करिब १०/१५ मिनेटपछि मेरो छेवैको एउटा कूर्सीमा एउटी महिला आएर बसिन्। झ्वाट्ट हेर्दा लगभग ३८/४० वर्ष उमेरकी महिला थिइन्, उनी। तर मैले सोधिनँ।
म आफ्नै सुरमा थिए। ती महिलाले अचानक मलाई बोलाइन्, 'भाइ, भर्खर काठमाडौं आएको हो कि क्या हो ?'
मैले टाउकै हल्लाउँदै सहमतीको संकेत दिए।
त्यसपछि ती महिलाले अरु दायाँ-बायाँ केही कुरा गरिनन्। उनले सिधै सोधिन्, 'भाइ जाने हो त, सस्तो सस्तोमा छन् केटीहरु !'
ती महिलाको यस्तो अप्रत्यासित कुराले मलाई एकछिन अचम्म बनायो। म मदिरा पिइरहेकै थिए।
ती महिलाले थप्दै अझै भनिन्, 'त्यस्तो डराउनु पर्दैन भाइ ! सुरक्षित तरिकाले नै हुन्छ। बस्ने व्यवस्था पनि मै गरिदिउँला।'
महिलाको त्यस्तो अप्रत्यासित प्रस्तावले एकछिन त म अकमक्क नै भएँ। तर केहीछिन् पछि मैले पनि ती महिलाको प्रस्ताव स्वीकार गरेँ। अर्थात, अब म भाडाकी युवतीसँग सुत्न जाने भएँ।
(प्रिय पाठक, अब यहाँ तपाईलाई जानकारी होस् कि ती महिला दलाली रहेछिन्। उनले यौनकर्मी युवतीहरुको लागि ग्राहकहरु (पुरुष) खोजिदिँदै आएकी रहिछन्।)
करिब १० मिनेटपछि ती महिला र म भट्टीबाट बाहिर निस्कियौँ। त्यसपछि महिलाले मलाई आफ्नो पछि-पछि आउन भनिन्। म पनि महिलाले भने बमोजिम नै पछि-पछि लागेँ।
करिब पाँच मिनेटजति हिँडेपछि ती महिला एउटा पुरानो घरअगाडि रोकिइन् र मलाई सोही घरभित्रै छिर्न संकेत गरिन्।
वास्तवमा त्यो घर पनि एउटा होटल नै रहेछ। जहाँ, यौन व्यवसाय चल्दो रहेछ।
ती महिलाले मलाई सरासर होटलको २०७ नं कोठामा छिराइन्। र एकछिन बस्न भन्दै उनी बाहिर निस्किइन्।
म कोठा नं २०७ मै बसेँ। शौचालय कोठाभित्रै थियो। दुई वटा बेड थिए। बेडमा लगाइएका ओछ्यान भने पुराना थिए। एउटा झ्याल थियो। झ्यालमा कुनै पर्दा थिएन। फोहोर फाल्नको लागि एउटा बाल्टिन राखिएको थियो। जसमा प्रयाेग गरिएका कण्डम र खाेलहरू थिए।
एकछिनपछि म बसिरहेको कोठामा एउटी युवती आइन्। उनै थिइन्, पैसा लिएर यौनसम्बन्ध राख्ने युवती।
मैले उनलाई बेडमा सजिलोगरी बस्न आग्रह गरेँ। त्यसपछि ती युवतीसँग वार्तालाप सुरु भयो।
मैले सोधेँ:
तिम्रो नाम ?
- देवीका कार्की (परिवर्तन)।
घर ?
- जाजरकोट।
अहिले कति वर्ष भयौँ त ?
- अस्ती भदौ २७ गते १९ वर्ष पुगेर २० मा लागेँ।
काठमाडौं कहिले आएको त ?
- भयो होला, पाँच/छ महिना।
पढिरहेकी छौ ?
- ११ मा पढिरहेको थिएँ। तर, छाडेँ। आमा बिरामी पर्नुभयो। भाइ सानो छ। पैसा नभएपछि मैले आफै कमाउन थालेँ।
तिमीलाई यो काम गलत हो भन्ने थाहा छ कि नाई ?
- थाहा त छ नि, तर पैसा चाहिन्छ। घरमा आमालाई दबाइ किन्ने पैसा पठाइदिनुपर्छ।
सुरुमा कसरी थाल्यौ त यस्तो काम ?
- एक जना दाईले होटलमा खाना पकाउन सहयोगीको रुपमा काम लगाइदिनु भयो। तर होटलमा केटा-केटी मात्रै आउँदा रहेछन्। एकदिन मलाई पनि दाईले वियर खाउ भन्नु भयो। मैले पनि खाएँ। म मातेर त्यही पल्टिएछु। बिहान उठ्दा त म नाङ्गै थिए। घुँडासम्म रगत लागेको थियो। शरीर नै दुखिरहेको थियो। त्यसपछि यस्तै काममा लागेँ।
उमेर सानै रहेछ, गाह्रो हुँदैन ?
- गाह्रो त हुन्छ नि ! अंगहरु दुख्छन्। त्यहीमाथि कोही त राम्रा हुन्छन् र मेरो दुखाइ बुझ्छन्। तर कोही त, खतम नै हुन्छन्। रक्सीले मातेर कुट्दै सम्बन्ध राख्छन्। पैसाको लागि भए पनि सबै सहनुपर्छ।
एक जनाबाट कति कमाउँछौ त ?
- ठ्याक्कै यति नै भन्ने हुँदैन। एक रातकाे कसैले चार हजार दिन्छन्। कसैले खुसी भएर ७/८ हजार दिन्छन्।
प्रत्येक रात ग्राहक आउँछन् ?
- अँ, आइरहन्छन्। प्राय दैनिक भइरहन्छ। मिन्स भाको बेला चाहीँ म आफै मोबाइल अफ गरेर बस्छु।
अघि मलाई तिमीसँग भेट गराइदिने दिदिलाई कति रुपैयाँ दिन्छौ त ?
- त्यो दिदिलाई एउटा केटा ल्याइदिए वापत पाँच सय रुपैयाँ दिन्छु।
दशैँ आउँदैछ, घर जाँदैनौ ?
- नाइ जादिनँ। पैसा नै जम्मा गर्न सकेको छैन। लकडाउनले खासै मान्छे नै आउँदैनन्। एक महिनादेखि बल्ल ग्राहकहरु आउन थालेका छन्। पैसा जम्मा गरेर तिहारमा जानु पर्ला।
तिमीले यस्तो काम गरिरहेको तिम्रो साथीहरु वा आफन्तीले थाहा पाए भने नी ?
- लौ मलाई मार्छन् होला। मेरो मुख पनि हेर्दैनन् होला। मलाई सराप्छन् होला। यस्तो कुरा त म कहिल्यै सोच्न पनि सक्दैन।
यस्तो काम गर्दा त, एड्स संक्रमणको पनि हुनसक्छ। यसबारे थाहा छ ?
- अँ थाहा छ। सबैलाई कण्डम प्रयोग गर्न भन्छु। कोहीकोहीले रक्सीले मातेर कण्डम नै प्रयोग गर्न मान्दैनन्। त्यस्तोबेला मैले नि मान्दिनँ। बरु भागेर कोठाबाट निस्किन्छु।
अलिकति होशियार बन है। सकभर यस्तो काम छाड। लेउ यो रुपैयाँ ! (मैले दुई हजार दिँदै भने)
- किन यत्तिकै दिनु भएको त, मसँग बस्नहुन्न ? (प्रतिप्रश्न गरिन्।)
म मुस्कुराउँदै त्यस कोठबाट बाहिर निस्केँ।
त्यसपछि म सरासर मैरै कोठा भएको होटल पुगेँ। यतिन्जेलसम्म रातिको ११ः४३ भइसकेको छ। म यो ब्लग १०४ नं को मेरै कोठाको झ्याल छेउमा बसेर लेखिरहेको छु।
र अन्त्यमा म यहीँ साेचिरहेकाे छु- आखिर उनीजस्ता युवतीहरू याे शहरमा कति हाेलान् ? नकाबभित्रकाे शहरकाे चेहेरा किन यति डरलाग्दाे र घिनलाग्दाे छ ?