नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति हुन्– नीलकाजी शाक्य, ६५। एक साताअघि असोज १६ गते भएको कांग्रेसको नगर महाधिवेशनमा संस्थापन पक्षका उम्मेद्वारलाई हराएर सभापति बनेका हुन्। उनी काठमाडौं महानगरपालिका, वडा नम्बर २५ का निर्वाचित वडाध्यक्षसमेत हुन्।
२०३३ सालबाट कांग्रेस राजनीतिमा लागेका थिए– शाक्य। उनी ०४३ सालमा नेपाल विद्यार्थी संघको उम्मेद्वार बनेर काठमाडौंको धोबीचौरस्थित पब्लिक युथ क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को सभापति निर्वाचित भएका थिए, जुन निर्वाचनमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँण त्रिवि, कीर्तिपुरको स्ववियू सभापति चुनिएका थिए।
गणेशमान सिंहको आदर्श पछ्याउँदै राजनीतिमा लागेका थिए– शाक्य। उनी खाँण अध्यक्ष भएको बेला तरुण दलको केन्द्रीय सदस्य भएका थिए। लामो समयदेखि निरन्तर राजनीतिमा सक्रिय उनले काठमाडौं महानगरको महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानसमर्थित उम्मेद्वारलाई पराजित गरे। उनलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवानेता गगन थापाको समर्थन थियो।
राजधानी महानगरकोसभापति चुनिएका उनले छरिएको कांग्रेसलाई एकत्रित बनाउने योजना रहेको बताए। उनले भने, ‘विगतमा काग्रेसले गुमाएको शाखः फिर्ता गरेर त्यो शक्तिलाई आगामी स्थानीय तहको निर्वाचनमा प्रयोग गर्नेछौँ।’
प्रधानमन्त्री देउवालाई गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्तै सर्वोच्च स्थान बनाउने हो भने अवकाश लिन सुझाव दिँदै भने,‘गणेशमान प्रधानमन्त्री भएर उनको फोटोमा माला लगाइएको हो र? किशुनजी पदले आदरणीय हुनुभएको होइन। त्यसैले आदरणीय नेता बन्ने हो भने शेरबहादुर दाइले अब पदको लोभ गर्नुहुन्न।’
प्रस्तुत छ– कांग्रेसका नवनिर्वाचित काठमाडौं नगरसभापति नीलकाजी शाक्यसँग बिएल नेपाली सेवाका लागि कमल प्रभात विकले गरेको कुराकानीः
संस्थापन पक्षका उम्मेद्वारलाई पराजित गरी काठमाडौँ महानगरपालिकाको कांगे्रस सभापति निर्वाचित हुनुभएको छ, कस्तो महसुस गर्नुभएको छ ?
सर्वप्रथम मलाई नगर सभापतिको चुनावमा सहयोग गर्ने सपूर्ण मित्रलाई धन्यवाद दिन्छु। तपाईंले भनेजस्तो संस्थापन र असंस्थापन भन्ने केही छैन। पार्टीलाई राम्रो बनाउन खोज्दा अलिअलि आन्तरिक द्वन्द्व हुन स्वाभिकै हो। यो नेपालमा मात्रै होइन संसारभरि हुन्छ नै। यसलाई अन्यथा ठान्नु हुँदैन।
तपाईंले भनेको जस्तो संस्थापन पक्षको हार भयो भन्नेमा म सहमत छैन्। यो हार र जीतको कुरा होइन। नेपाली कांग्रेसको विजय हो। यस हिसाबमा खुशी छु।
सभापति बनेपछि अब के गर्नुहुन्छ ?
लामो इतिहास बोेकेको नेपाली कांग्रेस नेपाल र नेपालीको भलो गर्ने पार्टी हो। त्यसैले मेरो विश्लेषण के छ भने २०१७ सालमा राज महेन्द्रले जुन ‘कू’ गर्नुभयो। त्यहीदेखि नेपालको भविष्य अन्धकार भयो।
त्यस्तो ‘डाइनामिक लिडर’ विश्वेश्वप्रसाद कोइराला, गणेशमान सिंहजस्ता नेताहरुलाई प्रतिबन्धमा राखेर देश चलाउनु कतिसम्म गलत थियो होला ? यदि त्यो बेलादेखि प्रजातान्त्रिक प्रणालीबाट देश चलेको भए यो देश धेरै नै अगाडि पुगिसक्थ्यो। त्यतिबेला‘ग्याप’ भयो।
२०१७ सालको ‘कू’पछि हामी एकैचोटी २०४६ सालमा आइपुगियो। त्यसपछि पनि धेरै उपलब्धि हुन सकेका छैनन्। यसबीचमा आएका पार्टीले बाटो बिराएका छन्। त्यसलाई सही बाटोमा ल्याउने हाम्रो दायित्व हो। आधुनिक युगमा जनताले चाहेअनुसार हामीले काम गर्नुपर्छ।
काठमाडौँ कांग्रेसको नेतृत्व गर्न पाउँदा आफूलाई कत्तिको जिम्मेवारी बोध गर्नुभएको छ ?
म त धर्म, खेलकुद र कला क्षेत्रमा लागेर सबै ठाउँमा भिजेर अनुभव बटुलेको मान्छे। त्यसकारण मैले बुझेअनुसार कांग्रेसलाई हराउने कांग्रेस नै हो। अब यो प्रवृत्तिलाई कसरी हटाउने भन्ने कुराले मलाई घच्घच्याएको छ।
अब अहिले काठमाडौँमै हेर्नुहोस्। भयङ्कर राम्रो माहौल भएको ठाउँमा कांग्रेसले हार्ने हो ? अब मलाई निर्वाचित गर्ने प्रतिनिधिको भावना छ– मैले राम्रो गरोस्। मैले छरिइरहेको कांग्रेसलाई एक ठाउँमा ल्याउनु र त्यो शक्तिलाई आगामी निर्वाचनमा प्रयोग गर्नु छ।
०७४ को चुनावमा कांग्रेसले गुमाएको साख फिर्ता गर्ने तपाईंको योजना छ ?
मेरो मूलमन्त्र नै त्यही हो। अब पनि कांगे्रसमा नयाँ पुस्ताले यो कुरामा ध्यान दिएन भने राष्ट्र बर्बाद हुन्छ। मेरोे अनुभवले त्यही देखाएको छ। अब पछाडिको दृश्य त्यही छ।
त्यसकारण म के भन्छु भने पाका, नयाँपुस्ता सम्मिश्रण गरौँ। २१ औं शताब्दीलाई ठीक हुने किसिमले नयाँ नेतृत्वमा कांग्रेस जानुको अरु विकल्प छैन।
संस्थापन पक्षलाई पराजित गरेर तपाईं विजय भएको विषयले केन्द्रमा कस्तो सन्देश प्रवाह गर्छ ?
बाघले वन नचिनेको होइन, वनले बाघ नचिनेको होइन। चाहे त्यो सम्माननीय प्रधानमन्त्री शेरबहादुर दाई नै किन नहोस्। जति पनि त्यो बेलाका ‘लिडर’हरु छन् उहाँहरुले मलाई नचिन्ने भन्ने छैन। मैले उहाँहरुसँग पनि काम गरेको छु। अब यसले के गर्छ भन्ने उहाँहरुलाई लागेको होला।
नगर सभापति हुनुभो। आगामी स्थानीय निर्वाचनमा तपाईं काठमाडौंको मेयरको उम्मेद्वार हो ?
मलाई सबैले त्यही सोध्छन्। मोबाइल गर्ने पनि सबैले भन्छन्, ‘दाइ अब तपाईं मेयरमा उठ्ने हैन ?’
अब हेर्नुहोस्, मेयरमा उठ्ने नउठ्ने भन्ने पछिको कुरा हो। मेरो पहिलो लक्ष्य अस्तव्यस्त भएको काठमाडौँको कांग्रेसलाई कसरी सक्रिय बनाउने भन्ने हो।
कांग्रेस एकत्रित भयो भने त जो उठे पनि जितिन्छ तर पहिला कांग्रेसको शक्ति बालियो हुनपर्याे नि !
अहिले मलाई पार्टीले मूल्याङ्कन गर्याे नि ! मेरो समकालिन साथी प्रकाशजी (प्रकाशमान सिंह) ले सही निर्णय गरिदिनुभयो। गगन थापाले पनि यो दाइलाई गर्नुपर्छ भन्नुभयो।
त्यस कारण म त खुल्ला किताब हो। मैले त्यो कोशिश गर्छु। अब तपाईंको मिडियाबाट के भन्छु भने– चाहे त्यो सत्ता पक्ष होस्, चाहे त्यो प्रकाशमानजीको पक्ष होस्, नेपाली कांग्रेसलाई बलियो बनाएर लैजानु पर्याे। नभए त यो देशको अवस्था नाजुक हुन्छ।
त्यसकारण कांग्रेसप्रति समर्पित भएका युवा होस् या युवती होस्, जसले भए पनि छातीमा हात राखेर भन्नुपर्छ। अब हामी गुटभन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई सुदृढीकरण गर्ने किसिमले जानुपर्याे। त्यसको नेतृत्व युवापुस्ताले गर्नुपर्छ।
मतलब, नयाँ पुस्ता अगाडि आउन चाहेमा तिनीहरुलाई मार्गनिर्देश गर्ने काम तपाईंबाट हुन्छ ?
हुन्छ हुन्छ, किन नहुने ? मलाई अरुले पनि सोध्छन्, ‘तपाईंबाट केही क्षति हुन्छन् कि ?’ ए बाबा, मैले त्यस्तो नराम्रो काम गर्नुपरेछ भने त आत्महत्या गर्छु। त्यो होइन नि ! मेरो जिन्दगी नै राष्ट्र र राष्ट्रियताका लागि काम गरेर बित्यो।
तपाईंलाई एउटा कुरा भन्छु– ०४६ सालको आन्दोलन हुनुअगाडि चन्द्रशेखर (भारतीय समाजवादी नेता) हरु सबै काठमाडौँ आउनुभएको थियो। म त्यो बेलामा गणेशमानजीसँग थिए। चन्द्रशेखरहरु त्यहाँका सबै ‘लिडर’हरुले आएर गणेशमानजीको खुट्टा छुनुभएको थियो।
चन्द्रशेखरले भन्नुएको थियो, ‘म परेर मात्रै राजनीतिमा लागेको हो।’ भन्दाखेरी त्यस्तो राम्रो नेता हामीले पायौँ। बीपी कोइराला– त्यस्तो ‘डाइनामिक’ नेता हामीले पायौँ। अब जहिले पनि बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाको नाम भजेर, मेरो बाजेले घ्यू–भात खाएको वास्ना अहिलेसम्म आएको छ भनेर खाने किमैले घ्यू–भात खाएको हो भनेर हात सुँघाएर जाने ? अहिलेको युग भनेको त यो हो नि ! अब त बाजेले होइन, नातिले गरेर देखाउने अवस्था आइसक्यो। अहिले त जनताले त्यही भनिरहेको छ।
त्यो मैले मात्रै भनेको होइन, जनताले भनेको हो। जनताको आवाजलाई कदर गरेर मैले निर्णय गर्ने हो।
तर,कांग्रेसभित्रै पनि युवा नेताले अवसर नपाएको अवस्था पनि छ नि ?
०३३ सालदेखि गणेशमान सिंहदेखि सुशील कोइरालासँग काम गर्दा–गर्दा ०७४ सालको चुनावमा आएर वडाध्यक्ष मैले पाएँ। अब मैले कति पर्खिएर बस्नुपर्याे त ? तपाईं कल्पना गर्नुहोस् न !
त्यसकारण म के भन्छु भने राजनीतिमा हतार गर्नु हुँदैन। म युवाहरुलाई पनि यही भन्छु– धैर्य गर्नुपर्छ। गणेशमानजी भन्नुहुन्थ्यो, ‘मसान कुर्नुपर्छ, मसान कुर्न गाह्रो छ– मुर्दा आउछ कि आउँदैन।’
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा होला ?
होइन, महाधिवेशन सुरु भइसक्यो। अब धेरै शङ्का गर्नुपर्ने केही छैन। हामी विपक्षीसँग लडेका होइनौँ। हामी आन्तरिक कुरा मिलाउन खोजेका हौं।
साढे पाँच वर्षसम्म पनि कांग्रेसको महाधिवेशन हुन सकेको छैन। अब त कानूनी रुपमा त कांग्रेस त अवैधानिक भइसक्यो नि, होइन र ?
तपाईंको यो कानूनी भाषा भयो तर मैले कानूनी भाषाबाट कुरा गरेको छैन। मैले जति पनि भनिरहेको छु– कांग्रेसको इतिहास, कांग्रेसले गर्नुपर्ने काम र एक्काईसौँ शताब्दीमा अब कांग्रेसलाई कसरी अगाडि बढाउने ? नेपाली जनतालाई कसरी चित्त बुझाएर मत माग्न जाने ? सवाल यो हो।
अब कांग्रेस सही मार्गमा हिँड्छ भन्ने विश्वास लाग्छ, तपाईं ?
अब त्यसको केही विकल्प छैन। कांग्रेस अब पनि यसरी लड्दै जाने हो भने प्रजापरिषद् हुन्छ।
यही अवस्थाबाट कांग्रेस कसरी अगाडि बढ्न सक्छ ?
कठिनबाट नै एउटा सुगन्ध भएको फूल निस्कन्छ के ! कमलको फूल कहाँ फूल्छ? हिलोमा फूल्छ तर पनि सबैले मन पराउँछन्। अझै यो के कठिन हो र ! योभन्दा त राणा शासनमा कति कठिन थियो होला ? पञ्चायतमा हजारौँ युवा शहीद भएका थिए। त्यो बेलाको भन्दा त यो त केही कठिन होइन।
अहिले त लहर बनेको छ नि ! बनेको मञ्चमा जो पनि आएर नाच्छन नि ! तर, त्यो मञ्च बनाउन ख्याल गर्ने हो। हामी अहिले मञ्च बनाउनमा लागेका छौँ। कांग्रेसको अवस्थासँग राष्ट्र, राष्ट्रियता र नेपाली जनता गाँसिएका छन्।
कांग्रेसमा पिता–पुर्खाको विरासतबाट नेता बनेकाहरु अहिले सभापति लड्ने घोषणा गरिरहेका छन्। कांग्रेसको भावी जीवनमा यसले कस्तो प्रभाव पार्ला ?
यहीँ कुरालाई मैले एउटा उदाहरण दिन्छु– त्यो बेलामा मङ्गला भाउजू (गणेशमान सिंहकी धर्मपत्नी एवम् कांग्रेस–नेतृ मंगलादेवी सिंह) उठ्नुभयो। त्यही बेलामा प्रकाशमानजी पनि उठ्नुभयो।
आमा पनि उठ्यो, छोरा पनि उठ्यो भनेर अरुले भनेनन्। कांग्रेसमै विवाद आयो। अरु पार्टीमा हेर्नुहोस् त भाञ्जा छ, भाञ्जी छ। सबै शाखा सन्तान लडिरहेका छन्। उहाँहरुको नाम आउँदैन नि !
तर, मङ्गला भाउजूको नाम आउँछ। प्रकाशमानको नाम आउँछ। अरुका शाखा–सन्तानले लड्न हुने, उहाँ उठ्दा महिलाको लागि हर्ष हुने कि हराउने ?
भनेपछि ‘लिगेसी’ले कांग्रेसमा सकारात्मक प्रभाव पार्छ ?
हरेक चिजको समय आउँछ। जस्तो, काठमाडौँ नगर–सभापतिमा १५ वर्षपछि चुनाव भयो। मलाई नेतृत्व सुम्पनुभयो। त्यस्तै, यो महाधिवेशनमा ठाउँ–ठाउँको नतिजा हेरियो भने सबै जुझारु युवा आइरहेका छन्। त्यसले नयाँ सन्देश त दिइसक्यो नि ! अब त्यसलाई रोक्न त सकिँदैन।
त्यसो भए तपाईं यो महाधिवेशनबाट शेरबहादुर देउवाले सभापतिबाट बिदा लिएको देख्न चाहनुहुन्छ ?
यो विषयमा मैले ‘क्लियर’ भन्छु। गणेशमानजीले पद लिनु भएको थियो ? प्रधानमन्त्री बन्नुभएको थियो ? नभए पनि गणेशमानजीको इज्जत त कम भएको छैन नि ! अहिलेसम्म पनि उहाँको फोटोमा किन माल्यार्पण गरिन्छ ? त्यो त्याग, तपस्या कसको लागि हो। राष्ट्र, राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको लागि होइन ? पदले इतिहास बनाउँदैन। राणा शासनमा कति प्रधानमन्त्री भएका छन्। के उहाँहरु सबैको फोटोमा माल्यार्पण भएको छ ?
देउवाजीले पनि सभापति पद छाडेर नयाँ नेतृत्वलाई सुम्पनुहोस् भन्ने तपाईं चाहनुहुन्छ ?
त्यसको विकल्पै छैन। म शेरबहादुर (देउवा) दाइलाई भेटेर पनि भन्छु। अब पुग्यो होई दाइ, अब अभिभावक भएर बस्नुहोस्। दाइले धेरै पद पाइसक्नुभयो। त्योभन्दा माथि जाने ठाउँ छैन। दाइ, अब पुग्यो नयाँ पुस्तालाई अवसर दिनुपर्याे। अब त दाइले अभिभावक भएर राष्ट्र प्रजातन्त्रको ट्रयाकबाट बाहिर जान खोज्यो भने खबरदारी गर्ने हो।