‘ठूला माछा’ समात्ने भनियो, ‘भुरा’को पनि अभियोग पुष्टि भएन

अनलाइनखबर

काठमाडौं

शनम शाक्यको हत्यासँगै खुलेको साढे ३३ किलो सुन तस्करीको अनुसन्धानका क्रममा ईश्वरराज पौडेलको नेतृत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिको निष्कर्ष थियो, ‘तीन वर्षमा ३८ क्वीन्टल सुन तस्करी भयो ।’

तस्करी भएको सुन त बरामद भएको थिएन, तर सरकारले तस्करीको र्‍याकेट ध्वस्त बनाउन सफल भएको बतायो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले २३ जेठ २०७५ मा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘सुरुमा भुरा माछा समातिए, त्यसपछि मझौला समातिएका छन् । माछा मार्ने क्रम जारी छ । अनुसन्धान जति नजिक पुग्छ, त्यति ठूला माछा छटपटाइरहेका छन् ।’ तर तीन वर्षसम्ममा ठूला माछा त समातिएनन् नै, ‘मझौला र भुरा माछा’ भनिएकाहरुले समेत न्यायिक छिनोफानोमा सुरुको अदालतबाटै सफाइ पाएका छन् ।

प्रमाण जुटाउनुभन्दा पक्राउ श्रृंखलालाई प्राथमिकता दिँदा सुन तस्करीको आरोपमा पक्राउ परेका सबैले सफाइ पाएका हुन् । यतिसम्म कि सरकारी वकिलले मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले समेत सुन तस्करी गरेको पुष्टि गर्न सकेन । ज्यानसम्बन्धी कसूरमा भने गोरेसहित आठ जना दोषी ठहर भएका छन् ।

प्रकाशित मिति: : 2021-10-06 06:46:00

प्रतिकृया दिनुहोस्