‘सत्याग्रहको सिमा हुँदैन। एक सत्याग्रहीको सहन शक्तिको पनि कुनै सिमा हुँदैन’, महात्मा गान्धीले धेरै पहिले यसो भनेका थिए।
संयुक्त राष्ट्र संघमा महासभाको अवसर पारेर एक सत्याग्रही बुद्धको देशबाट न्यूयोर्क आइपुगे। उनी अरू कोही नभएर प्राध्यापक डाक्टर गोविन्द केसी हुन्।
डाक्टर केसी उनै हुन् जसले गुजरातको भुज, पाकिस्तान र हाइटीमा भूकम्प पीडितको उपचारमा महिनौं बिताएका छन्। म्यान्मारको साइक्लोने, फिलिपिन्सको सुनामी प्रभावितलाई स्वास्थ्य सेवा दिएका छन्।
यमनका द्वन्द्वपीडित क्षेत्रमा गएर निःशुल्क सेवा गरे। यो सबै कुनै संघ संस्थाको सहयोगमा नभएर आफ्नै विगतको आफ्नो कमाइबाट र सेवा निवृत्त भएपछि आउने पेन्सनबाट गर्दै आएका हुन्।
सुलभ स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग गर्दै सुरू भएको डाक्टर केसीको न्याययात्रा बहुआयामिक छ। मेडिकल अभियन्ताबाट उनी शान्ति, न्याय र सुसाशनको अधिवक्तासमेत भएका छन्। न्यूयोर्क पुगेर उनले यही सन्देश बाँडे।
डाक्टर गोविन्द केसीको न्यूयोर्क आगमनको खबरसँग उनलाई भेट्न ममा आतुरी थियो। उनलाई भेट्न गएँ। यसपटक डाक्टर केसीमा उमेरको रङ देखिन थालेको थियो। शरीर केही कमजोर देखिन्थ्यो। तर अनुहारमा अद्भूत कान्ती थियो, चमक थियो।