तीन दिनसम्म चलेको एमालेको विधान महाधिवेशनमा निर्वाचन प्रणालीबारे प्रशस्त बहस भए।
महाधिवेशनमा पेश भएका दस्तावेजउपर छलफल गर्न बनाइएको १० वटै समूहमा नेपालले अपनाएको निर्वाचन प्रणाली परिवर्तन हुनुुपर्ने आवाज उठ्यो।
समूहमा भएको छलफलको निष्कर्ष सुनाउँदै नेता भानुभक्त ढकालले भनेका थिए, ‘निर्वाचन प्रणाली खर्चिलो भयो। निर्वाचन प्रणाली सुधारमा पार्टीले अगुवाइ गर्नुपर्छ भन्ने सुझाव आएको छ।’
ढकालले केन्द्रीय निकाय समूह अन्तर्गतको सुझाव पेश गरेका थिए। त्यसैगरी, लुम्बिनी, गण्डकी, बागमती लगायतका समूहमा पनि निर्वाचन प्रणालीबारे छलफल भएको थियो। यद्यपि एमालेको विधान महाधिवेशनले निर्वाचन प्रणालीको बारेमा कुनै प्रस्ताव भने पारित गरेको छैन।
नेकपा एमालेमा उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले केही दिन अघिको भेटमा भनेका थिए, लोकप्रिय पार्टीले बहुमत ल्याउन नसक्ने अहिलेको निर्वाचन प्रणाली फेर्न आवश्यक छ।