संसारभर आपूर्ति शृङ्खला धर्मरायो, गाडीदेखि खेलौनासम्म अभाव

रातोपाटी

काठमाडौँ

यतिखेर विश्वभर आपूर्ति शृङ्खला (सप्लाइ चेन) ले पहिले झैँ काम गरिरहेको छैन। बालबालिकाले खेलाउने खेलौनादेखि गाडीको अर्थचालक (सेमिकन्डक्टर) सम्म अभाव भइरहेको छ । माग र आपूर्तिबीच निकै ठूलो अन्तर देखिएको छ।

मालसामान ढुवानी गर्ने अमेरिकी पानीजहाजहरू कयौँ दिनसम्म समुद्रमै रोकिइरहेका छन्। किनकि ढुवानी गर्ने पर्याप्त सामग्री नै तयार छैन । अत्यधिक माग भए पनि बन्दरगाहहरूले पानीजहाजमा लाद्ने सामान उत्पादकबाटै पाइरहेका छैनन्।

अमेरिकीहरूमा अरूभन्दा धेरै सामान खरिद गर्न सक्ने क्षमता भए पनि सबै पानी जहाजलाई स्थान उपलब्ध गराउन नसकिएको लस एन्जलस बन्दरगाहका कार्यकारी निर्देशक जेन सेरोकाले बताएका छन्।

वाल स्ट्रीट जर्नलको एक प्रतिवेदनअनुसार विश्वविख्यात ब्राण्ड नाइकीसँग यतिखेर मागअनुसार जुत्ता उत्पादन नै गर्न सकिरहेको छैन। कास्टो कर्पोरेशनले पेपर टावलको बिक्री सङ्कुचित तुल्याएको छ । कृत्रिम क्रिसमस ट्रीको मूल्य २५ प्रतिशतसम्म बढेको छ।

कारण

महाशक्ति राष्ट्र अमेरिकामै सामान अभाव हुनुका पछाडि विभिन्न कारण छन्। ती मध्ये एक हो–कोरोना महामारी । कोभिड महामारीका कारण मानिसहरूले खर्च गर्ने ठाउँ सीमित भएको थियो।

जस्तो कि, खानपानका लागि रेस्टूराँ संस्कृतिमै निर्भर देशका अधिकांश नागरिकले घरमै खाना बनाएर खान थालेका थिए। रेस्टूराँमा खर्च गर्न नसक्दा रकम बचेको थियो। यो बचतलाई मानिसहरूले अन्य सामान खरिदमा खर्च गर्न चाहिरहेका छन् । माग त बढेको छ, तर सामान पाइरहेका छैनन्। 

 

प्रकाशित मिति: : 2021-10-03 06:54:00

प्रतिकृया दिनुहोस्