शनिबार गान्धी जयन्ती हो। दक्षिण एसियामा छापिने धेरै पत्रिकाका पाना भरिन्छन् गान्धीको सत्याग्रहको महिमागानले। द्रविड आन्दोलन तथा आत्मसम्मान आन्दोलनका अभियन्ता एरोड वेङ्कटप्पा रामाशामी गान्धीका कट्टर आलोचक थिए। गान्धीवाद र ब्राह्मणवाद तथा गान्धी र एक राजनीतिक तानाशाहमा केही फरक छैन भन्थे उनी। नभनुन् पनि किन? कुनै समय वर्णाश्रम धर्मभन्दा श्रेष्ठ सामाजिक प्रणाली संसारमा अरू कुनै छैन भन्दै वकालत गर्दै हिँड्थे गान्धी। जातीय विभेदविरुद्ध आवाज उठाइदिन रामाशामीले एकाधपटक अनुरोध गर्दा गान्धीले भारतीय समाजमा त्यस्तो विभेद हुँदै नभएको भनी जिद्दी गरेका थिए। यी तिनै गान्धी हुन्, जसले विभेद भोगिरहेका व्यक्तिका लागि मागिएको पृथक निर्वाचन क्षेत्रको विरोधमा पछि गएर पूणेस्थित यरवदा जेलमा आमरण अनशन बसेका थिए।
सन् १९०० को शतकको पूर्वार्द्धतिर एरोड वेङ्कटप्पा रामाशामी भारतको उत्तर प्रदेश राज्यमा अवस्थित काशी विश्वनाथको मन्दिर गएका थिए। परिवार र समाजको प्रभाव थियो– सानैदेखि हिन्दू गुरु, अझ मुख्यगरी वैष्णव गुरुहरूका प्रवचन सुन्दै हुर्किएका थिए उनी।