नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको महायज्ञमा जुटेको छ । केन्द्रीय महाधिवेशन मंसीर ९-१३ गतेसम्म गर्ने पूर्वघोषित कार्यतालिका अनुसार यतिबेला स्थानीय अधिवेशनहरू धमाधम भइरहेका छन् ।
मंगलबारसम्मको तथ्यांक हेर्ने हो भने झण्डै ६० जिल्लामा पालिका अधिवेशन भइसकेको छ भने वडा तहको अधिवेशन ६४ जिल्लामा सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा पनि दशैंअघि नै पालिका अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय छ ।
एकातिर पार्टी महाधिवेशन सम्पन्न गर्ने र अर्काेतिर गठबन्धन सरकारको नेतृत्व गर्दै मुलुकलाई संविधान र लोकतान्त्रिक बाटोमा अगाडि बढाउनुपर्ने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा छ । दोहोरो जिम्मेवारीमा खरो उत्रिन देउवाको कार्यकुशलताको खाँचो जति आवश्यक छ, उति नै आवश्यक छ, पार्टीभित्रबाट सहयोग । तर नेतृत्वलाई सहयोग गर्नुको साटो असहयोग गर्ने र असफल बनाउन कांग्रेसभित्रबाटै कतिपय जिम्मेवार नेताहरू उद्यत देखिन्छन्, जुन विडम्बना हो ।
पार्टीमा सधैंको असहयोग
कांग्रेसभित्र सभापति देउवाको प्रष्ट बहुमत छ । तर उनी बहुमतबाट होइन, पार्टीका हरेक निर्णय सहमतिमै गर्दै आउनुभएको छ । पछिल्ला चार वर्षका हरेक निर्णय हेर्ने हो भने पनि त्यसले सहमतिबाटै देउवाले पार्टी सञ्चालन खोजेको प्रष्ट हुन्छ । १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएलगत्तै उहाँले विभाग गठनका लागि संस्थापनइतर पक्षसँग पटक–पटक नाम माग्नुभयो । तर नाम नै दिइएन ।
आवरणमा सधैं लोकतन्त्र, विधि, पद्धति र राजनीतिक संस्कारका कुरा गरेर नथाक्नेहरू नै पार्टीमा चरम गुटबन्दी गरेर नेतृत्वलाई कमजोर बनाउन सक्रिय छन् । जुन आजपर्यन्त जारी छ । मेरो प्रश्न छ– के पार्टी यसरी नै बलियो र सशक्त बन्ला ?
कार्यकालभर विभाग नै गठन गर्न सकेन भन्ने आरोप लाग्ने अवस्था भएपछि सभापतिले ढिला गरी केही विभाग गठन गर्नुभयो । ४० प्रतिशत विभाग पौडेल पक्षलाई नै छाडिदिनुभयो । गठन गरिएका विभाग सदस्यमा पनि पौडेल पक्षधरलाई ४० प्रतिशत खाली राख्नुभयो । पार्टीभित्र बृहत्तर एकता कायम गर्न सहमतिमै विभाग गठन खोज्दा केही ढिलाइ भएको सत्य हो तर विभाग गठन हुनु नै अपराध थियो त ?
६ महीनापछि विभाग गठन नै गर्न नपाइने व्यवस्था विधानमा छैन । तर विभाग गठनप्रति आपत्ति जनाउँदै पार्टीभित्र द्वन्द्वको अवस्था सिर्जना गर्ने काम भयो । पार्टीका बैठकहरू बहिष्कार गरिए । समानान्तर गतिविधि सञ्चालन भए । नेताहरूका घरघरमा बैठकहरू बसेका दृश्यले लोकतन्त्र र विधिका कुरा गरेर कहिल्यै नथाक्ने नेताहरूको प्रवृत्तिलाई गिज्याइरहेको थियो । विभाग गठन भएको भए देशभरका करीब पाँच हजार बढी नेता कार्यकर्ताले संगठनमा काम गर्ने अवसर पाउँथे । ठूलो पंक्तिमा नेता कार्यकर्ताहरूलाई पार्टीमा काम गर्ने अवसर दिंदा किन विरोध ?