आफन्तबाटै असुरक्षित, बढ्दो छ अपराधको ग्राफ

बाह्रखरी

काठमाडाैं

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो। योजनाबद्ध रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीलाई मुख्य योजनाकारसहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाती दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो। हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो। पछि छिमेकी ४७ वर्षीय खड्गबहादुर कार्की पक्राउ परे। मुख्य योजनाकार खड्गबहादुर २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीले कर्तव्य गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ। उनीहरु सबै मृतकका आफन्त हुन्।

लोकबहादुरको घरमा मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसेर हत्या योजना बनाएको प्रहरी अनुसन्धाबाट खुल्न अएको छ। मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आएका बेला पहिले उनलाई र त्यसपछि परिवारका अन्य सदस्यको हत्या भएको प्रहरीको भनाइ छ। पारिवारिक रिसिइवी र इखका कारण घटना गराइएको प्रहरीको निष्कर्ष छ।

प्रकाशित मिति: : 2021-09-27 12:15:00

प्रतिकृया दिनुहोस्