जब प्रमुख अतिथिले बेडमै आसन ग्रहण गरे !

शिलापत्र

काठमाडाैं

फेसबुकमा लाइभ भएको एक कार्यक्रममा मेरा आँखा पुगे। विषय ठीकै लागेर एकछिन रोकिएर कार्यक्रम हेरेँ। जुमलाई प्रयोग गरी भर्चुअल विधिबाट यो कार्यक्रम आयोजना गरिएको थियो। र, सोही लिङ्कलाई फेसबुकमा लाइभ गरिएको थियो। कार्यक्रम सञ्चालकले पहिला ‘सभापति’को आसन ग्रहण गराए। त्यसपछि आयो प्रमुख अतिथि, अतिथिहरूको पालो। भौतिक रूपमा उपस्थित भएर कार्यक्रम गर्नु र भर्चुअलमा केही फरक छ कि छैन भनेर एकछिन रोकिएँ। र, कार्यक्रम हेर्न थालेँ। अचम्म, सबैले भर्चुअलमा आसन ग्रहण गर्दा रहेछन्। अझ प्रमुख अतिथि त बेडमै पो रहेछन्। भिडियो अन गरेर त्यहीँबाट जुरुक्क उठेर नमस्कार गर्दै बसे। उनको आसन ग्रहण सकियो।

२७ मिनेट ४३ सेकेण्ड आसन ग्रहणमा खर्च भयो। सबैको नाम लिँदै सञ्चालकले आसन ग्रहण गराए। त्यसपछि पालो आयो स्वागत मन्तव्यको। स्वागत मन्तव्य राख्न सुरु भयो। कार्यक्रमका ‘सभापति’, प्रमुख अतिथि भन्दै अतिथिहरूको उनले नाम लिए। उनको सम्बोधन पनि झण्डै २० मिनेटको थियो। सबैको नाम लिइसकेपछि बल्ल उनले कार्यक्रममा स्वागत छ भने।

त्यसपछि सञ्चालकले कार्यक्रमका बारेमा जानकारी दिन र यो छलफल, अन्तर्क्रियालाई सहज बनाउन भन्दै अर्को वक्तालाई समय दिए। उनले पनि ‘सभापति’, प्रमुख अतिथि, अतिथिहरूको सम्बोधनमा पूरै २० मिनेट खर्चिए। त्यसपछि बोल्ने वक्ताहरू सबैले ‘सभापति’, प्रमुख अतिथि, अतिथिहरूको नाम पद लिएर सम्बोधन गरे। ५ घण्टाभन्दा बढी चलेको यो कार्यक्रममा ७० प्रतिशत जति समय सम्बोधनमा गयो। 

प्रकाशित मिति: : 2021-09-27 11:31:00

प्रतिकृया दिनुहोस्