'डाक्टरी' पढ्न अब कर्णालीतिर

नेपालगन्जमा बसाेबास गरिरहेका जुम्ला बारकाेटाेबाडाका प्रकाश शाही घर पुगेकाे बेला उनी आमा बिरामी भइन्। हतार-हतार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइयाे।

झण्डै एक दशकपछि आफ्नाे जन्मभूमि पुगेका उनले प्रतिष्ठानकाे नाम धेरै सुने पनि आफ्ना आँखाले देखेका थिएनन्। तर त्यसबेला आमालाई अस्पतालले गरेकाे उपचार र डाक्टर नर्सहरुकाे 'केयर' देख्दा उनले नेपालगन्ज, लखनउका निजी अस्पताललाई समेत बिर्सिएर प्रशंसा गरे।

'हामी सानै हुँदा अस्पतालमा डाक्टर हुँदैन थिए। वर्षामा चल्लाले टाेकेर घाउ हुँदा अस्पतालमा ओैषधि पाइदैँन थियाे। आइएनएफले भने निलाे जिबी दिन्थ्याे। त्यही लगाए निकाे हुन्थ्यो। ठूलाे राेग लाग्नेवित्तिकै नेपालगन्ज, लखनउ, काठमाडौं जानुपर्थ्याे,' उनले पुराना दिनलाई वर्तमानसँग तुलना गर्दै भने, 'त्यतिमात्र हाेइन सामान्य चोटपटक लागे पनि रेफर गरियाे भन्ने सुनिन्थ्याे। तर अहिले त उपचारको दृष्टिकोणले निकै लाेभलाग्दाे अस्पताल बनिसकेछ। अब त डाक्टर उत्पादन कर्णाली आफैले गर्ने भयाे। याे भन्दा ठूलाे खुसीको कुरा के हाेला?'

जुम्लामा कर्णाली अञ्चल अस्पताल थियो। दरबन्दी मेडिकल अधिकृतको हुन्थ्यो। तर मेडिकल अधिकृत जुम्ला बस्दैनथे। एचए, स्टाफ नर्स, अहेबले कर्णालीको सिंगो स्वास्थ्य क्षेत्र धानेका थिए। समग्रमा कर्णालीको स्वास्थ्य अवस्था भगवान भराेसामा थियाे। त्यसैले अधिकांश मानिस अस्पताललाई भन्दा बढी धामी-झाँक्रीलाई विश्वास गर्थे।

दुर्गम मानिएको कर्णालीमा याे सबैभन्दा ठूलो उपलब्धि हो।

तर कर्णाली अहिले डाक्टर उत्पादन गर्ने कारखाना बनेको छ। २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि कर्णालीमा डाक्टर अभाव टरेको छ। अहिले प्रतिष्ठानमा प्राध्यापक, विशेषज्ञ, एमबीबीएससहित ९० जना डाक्टर छन्। कर्णालीबासीले चिकित्सक रोजेर सेवा लिइरहेका छन्।

तातोपानी गाउँपालिकाका स्थानीय भरत नेपालीले भने, 'पहिले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको कर्णालीले अहिले डाक्टर उत्पादन गरेर दुर्गम क्षेत्रमा परिचालन गर्न सक्षम भएको छ। यो दुर्गम मानिएको कर्णालीको लागि याे सबैभन्दा ठूलो उपलब्धि हो।'

कर्णाली प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा कार्य गरिरहेको छ। कर्णालीलाई सुहाउँदो डाक्टरी पढाई चलिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले बताए।

'अहिले एमबिबिएसलगायत सबै फ्याकल्टीमा विद्यार्थी भर्ना भइसक्नु भएकाे छ। अब चाँडै नै अध्यापन कार्य सुरु हुनेछ। प्राध्यापकहरु तयारी अवस्थामा हुनुहुन्छ,' उनले भने, 'अब कर्णाली स्वास्थ्यका हिसावले निकै सुगम बनिसकेको छ। यहाँ डाक्टर उत्पादन गरेर विकट र विकसित दुबै क्षेत्रमा पठाउने हैसियत राख्ने भइसक्यो।'

०७१ सालदेखि कर्णालीमा स्टाफनर्स पढाइ सुरु भएको थियो। अहिले ६ व्याज पास आउट भइसकेका छन्। तीन वर्षे स्टाफ नर्स सकाएर अधिकांश विद्यार्थीले स्वास्थ्य सेवा दिन थालेका छन्। पहिलो दुई वर्ष ३० जनाको कोटा थियो। २०७४ देखि ४० जना पढ्न पाउने गरि संचालन भएको थियो।

०७३ सालदेखि एचएको पठनपाठन सुरु भयो। अहिले पाँच व्याच पास आउट भइसकेका छन्। अधिकांश विद्यार्थी पढाई सकाएर सेवा क्षेत्रमा काम गर्ने भइसके। एचए र स्टाफनर्स पठनपाठनले कर्णालीका धेरै विद्यार्थीले स्वास्थ्य सेवा दिन थालेका छन्। वर्षौदेखि अभाव झेलिरहेको कर्णाली अब आफै स्वास्थ्यकर्मी उत्पादन गर्ने दिशामा लम्किरहेकाे छ।

२०७५ सालदेखि स्वास्थ्य क्षेत्रमा स्नातक कार्यक्रम सुरु भयो। स्नातकस्तरमा बीपीएच र बीएमएस पठनपाठन भयो। बीपिएच २० सीट, बीएमएस १० सीट पढाइ हुन थालेकाे छ। पहिलोपटक स्नातक पठनपाठनले कर्णालीमा निकै राम्रो प्रभाव पारिरहेकाे अस्पताल प्रशासनले जनाएको छ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानले ०७६ सालबाट प्रमाणपत्र तहकाे फार्मेसी जाजरकोट जिल्लामा सुरु गरेकाे छ। यो तीन वर्षे कोर्ष थियो। ०७७ देखि एमडीएमएस पठनपाठन सुरु भयो। यो सँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातकोत्तर तहको पढाइ सुरु भयो। एमडीएमएस अन्तर्गत तीनवटा एनएसथेसिया, एक पेडाटिक्स र एक सीट जिपी इमरजेन्सी मेडिसिन गरेर पाँच सीट प्राप्त भयो। अहिले पठनपाठन भइरहेको छ।

निम्न आय भएका परिवारलाई लक्षित गरेर काेटा निर्धारण गर्दा धेरैले स्वास्थ्य शिक्षा हासिल गर्ने माैका पाएका छन्।

याे शैक्षिक सत्रबाट एमबिबिएसकाे पढाइ सुरु हुने शिक्षाध्यक्ष थापाले बताए। बी फार्मेसीमा २० सीट र बी नर्सिङमा २० सीट पठनपाठन सुरु हुन थालेको छ।

'अब निश्चिन्त भन्न सकिन्छ कर्णाली स्वास्थ्य शिक्षाको हब हाे। देशैभरीबाट कर्णालीमा डक्टरी पढ्न आउँनेछन्,' शिक्षाध्यक्ष थापाले भने, 'राम्रा डाक्टरलाई टिकाइरहन तल्लो तहका राम्रा शिक्षण संस्था हुन जरुरी छ। जसबाट उहाँहरुका बालबालिकाले पनि राम्रो शिक्षा प्राप्त गर्न सकुन्। उहाँहरुलाई आफ्ना छाेराछाेरी भविष्यबारे चिन्ता नहाेस्। अनि मज्जाले उहाँहरुले काम गर्ने वातावरण बन्छ।'

कर्णालीका नागरिककाे प्रतिव्यक्ति आए कम छ भने गरीबीकाे दर पनि बढी नै छ। तर निम्न आय भएका परिवारलाई लक्षित गरेर काेटा निर्धारण गर्दा धेरैले स्वास्थ्य शिक्षा हासिल गर्ने माैका पाएका छन्।  हालसम्म पिछडिएको क्षेत्र, जनजाति, दलित, मधेशी र महिला गरेर २ सय ६९ जनाले आरक्षित कोटामा स्वास्थ्य शिक्षा हासिल गरेकाे प्रतिष्ठानले जनाएकाे छ। 

पहिले सुविधा सम्पन्न र सुगम मानिएका मेडिकल कलेजबाट डाक्टर उत्पादन हुन्थे। सहरका निजी तथा सरकारी कलेजबाट उत्पादन भएका कारण विकट कर्णालीमा डाक्टर आउन नमानेका धेरै उदाहरण छन्। परिणाम कर्णालीमा सदाझैं स्वास्थ्यकर्मी तथा डाक्टर अभाव कायमै रहेकाे रजिस्टार नृपेन्द्र महतले बताए। उनले भने, 'अब हामी डाक्टर निर्यात गर्ने दिशातिर उन्मुख छाैं।'

यसमा शिक्षाध्यक्ष डा. थापाले थपे, 'सहर र गाउँको अनुपात ८० र २० थियो। ८० प्रतिशत डक्टर २० प्रतिशत जनघनत्व भएको सहरमा बस्थे। २० प्रतिशत डाक्टरले ८० प्रतिशत जनघनत्वमा काम गर्नु पर्ने अवस्था थियो।'

उनका अनुसार अब कर्णालीमा उत्पादन हुने डाक्टर गाउँमा केन्द्रित हुनेछन्। किनभने उनीहरु कर्णाली जस्तो दुर्गम क्षेत्रमा यहाँको सुखदुःखको प्रत्यक्षदर्शी भएर अध्ययन गरिरहेका छन्। समाजको उत्तरदायी डाक्टर कर्णालीले उत्पादन गर्न थालेको छ।

सहर बसेर पढेको डाक्टर गाउँमा नपुग्ने मात्रै हाेइन विदेश पलायनसमेत भएपछि त्यसको प्रत्यक्ष मार कर्णालीलाई परेको  प्रा. डा. सुनिल बुढाथोकीले बताए।

'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले कर्णालीमा स्वास्थ्य पर्यटनको संभावना पनि बढेको छ,' उनले भने, 'कर्णाली अस्पतालाई रेफरल अस्पतालका रुपमा विकास गर्न सकिन्छ।'

महत्त्वपूर्ण पक्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढेका ९० प्रतिशत विद्यार्थीले काउन्सिलको लाइसेन्स परीक्षा उत्तिर्ण गरेका छन्। बाहिरबाट पनि राम्रै प्रतिक्रिया आएको छ।

'कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान अब्बल बन्न एक व्यक्तिकाे चमत्कारले सम्भव थिएन'

शिक्षाध्यक्ष डा. थापाले चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानसँगको सहकार्यमा यहाँ उत्पादित जनशक्तिलाई पिछडिएको क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने बताए।

'सुरुमा तत्कालीन कर्णालीको ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पा, सुदूरपश्चिमको बझाङ, बाजुरा र अछाम, भेरीको जाजरकोट गरेर ९ जिल्लालाई कार्यक्षेत्र तोकिएको थियो,' उनले भने, 'संघीयता कार्यान्वयनसँगै सुर्खेत, दैलेख, सल्यान र रुकुम पनि कर्णाली प्रतिष्ठानको कार्यक्षेत्र भित्रका जिल्ला पर्दछन्।'

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठानले केही समस्या भने बेहाेरिरहेकाे छ। जस्ताे ओैषधिजन्य वस्तुको आपूर्ति व्यवस्थापन गर्न गाह्रो छ। बिजुलीको नियमितता छैन। इन्टरनेटको समस्या छ। उनले भने, 'कर्णालीका अन्तर्जिल्ला जोड्ने सडककाे स्तराेन्नति हुन सकेको खण्डमा कर्णाली स्वास्थ्य सेवाका हिसावले निकै प्रभावकारी मानिनेछ।'

अब कर्णालीबाटै देशको जुनसुकै ठाउँमा गएर पनि काम गर्न सक्ने सक्षम चिकित्सक उत्पादन हुनेछन्।

उनले कर्णालीकै विशेषता अनुकूलको शैक्षिक पाठ्यक्रम तथा तालिम, दुर्गम क्षेत्र लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम संचालनका लागि देशभर विशेषज्ञकाे राय लिने कार्यक्रम तय गरेकाे बताए।

'यहाँ उत्पादित यसअघिको जनशक्ति पनि अब्बल नै निस्क्यो,' उनले भने, 'आगामी दिनमा पनि यहाँको उत्पादन सफल हुने देखिएकोले आकर्षण बढेको छ।'

उनका अनुसार हरेक पहिलो व्याच विशेष हुन्छ। पहिलो व्याच कस्तो निस्कन्छ। त्यसले मात्र यहाँको शिक्षा क्षेत्रको रेखा कोर्ने भएकोले सबैको आकर्षणको थलो कर्णाली बनेको छ।

उनले आठौं वर्षदेखिको निरन्तर प्रयासका बावजुद कर्णालीमा डाक्टरी पढाइ हुन थालेकोले सिंगो देशको नजर कर्णालीतिर सोझिएको थपे।

'देशको कुनै पनि कुनामा गएर पनि काम गर्न सक्ने सक्षम चिकित्सक कर्णालीले उत्पादन गर्छ, नेपालभरीको उत्पादनमा कर्णाली नमुना हुनेछ,' उनले थपे, 'अरु प्रतिष्ठानभन्दा यहाँको पठन-पाठन अलि फरक छ। गुणस्तरीय हुने गरी तयारी थालिएकाे छ।'

कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा सँगसँगै अघि बढ्न थालेपछि कर्णालीबासी उत्साहित बनेका छन्। चन्दननाथ १० कि छुमकली सार्कीले खुसी हुँदै भनिन्, 'याे साल मेरा सबै परिवारलाई काेराेना लाग्याे। छाेराछाेरी र श्रीमान् बेलाबेला बिरामी परिरहन्छन्,'

उनले थपिन्, 'हामीले सस्तोमा उपचार गर्न पाएका छाैं। यतै डाक्टर पढाइ हुने कुरा सुन्दैछु। धेरै डाक्टर भएभने धेरैले सुविधा पाउँछन्। हामीलाई खुसी लागेको छ।' 

कर्णालीकाे 'एमबीबीएस' सपना 

प्रकाशित मिति: : 2021-09-27 21:24:00

प्रतिकृया दिनुहोस्