कम्युनिष्टद्वारा हत्या गरिएका एक जना कम्युनिष्ट क्रान्तिकारी

आज असोज १० गते। नन्दलाल सुस्लिङको ४२ औँ स्मृति दिवस। तत्कालीन नेकपा मार्क्सवादीका नेता सुस्लिङको २०३६ सालमा हत्या गरिएको थियो - कम्युनिष्टहरूबाटै।

हो तत्कालिन नेकपा चौथो महाधिवेशनका स्थानीय 'नेता' भन्नेहरुले नै सुस्लिङको हत्या गरेका थिए।

सुस्लिङ गोप्य रूपमा राजनीतिमा लागेका थिए। उनी जिमिदारका 'पटवारी' थिए। जिमिदारका पटवारीको काम भनेको स्थानीय जनताबाट पोत (जमीनको कर) उठाएर सरकारलाई बुझाउनुपर्ने। तर, उनी पोत बुझाउन कसैलाई बाध्य बनाउँदैनथे। जेजति बुझाउँथे, त्यही पञ्चायती शासन व्यवस्थालाई बुझाइदिन्थे।

किनभने, सुस्लिङ भित्रभित्रै मार्क्सवादीबाट किसान आन्दोलनमा होमिएका थिए। महोत्तरी, किसाननगरका उनले त्यहाँको जङ्गल फाँडेर जनतालाई वितरण गरिदिए।

जङ्गल फँडानी गरेको अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरी सदरमुकाम लैजादै गर्दा जनताले प्रहरीबाट खोसेका थिए। उनको किसान आन्दोलनकै कारण उनको गाउँको नाम किसाननगर राखिएको थियो।

सुस्लिङ शिक्षाप्रेमी थिए। सुस्लिङले आफ्नै नाममा नन्दलाल सुस्लिङ प्राथमिक स्कुल दर्ता गरे। उक्त स्कूलको नाममा ५५ बिघा जग्गा नै दान गरिदिए। अहिले उक्त स्कूल प्राविधिक इञ्जिनियरिङ पढाइ हुने कलेजमा रूपान्तरण भएको छ।

कलेजको नाम श्री जनहित नन्दलाल उच्च माध्यामिक  इञ्जिनियरिङ प्राविधिक शिक्षालय, चौलिखा रहन गएको छ। जननेताका रूपमा समेत परिचित उनले चौलिखा बजारलाई मात्रै १० बिघा जग्गा दान दिएका थिए।

फँडानी गरेको जग्गा मात्र जनतालाई बाँडेनन्, आफ्नो नाममा रहेको सबै जग्गा उनले विद्यालय, बजार र मठमन्दिरहरूलाई दान दिएको उनका नाति कुमार सुस्लिङले जानकारी दिए।

कुमारका अनुसार, नन्दलालको हत्याको कारण नै यही जग्गा वितरण थियो। त्यतिबेला महोत्तरीमा कम्युनिष्ट पार्टीहरूमध्ये निर्मल लामा नेतृत्वको नेकपा चौथो महाधिवेशनको दबदबा थियो। मोहनविक्रम सिहंसँग फुटेर गठन गरिएको चौथो महाधिवेशनको जनकपुर ईञ्चार्ज थिए– जयगोविन्द साह।

चौथो महाधिवेशनपछि विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा (मानन्धर) को प्रभाव थियो– महोत्तरीमा। त्यही नेकपा (मानन्धर) को जुझारू नेता थिए– नन्दलाल।

जग्गा वितरणपछि नन्दलालसँगै नेकपा (मानन्धर) को लोकप्रियता जनकपुर अञ्चलभरि बढ्यो। भनिन्छ– उनको यही लोकप्रियताले तत्कालीन चौथो महाधिवेशनका स्थानीय नेताहरूले नन्दलालको हत्या गरेको उनका नाति कुमार सुस्लिङले बताए।

पार्टीको योजनाबिनै नन्दलालको हत्या गरिएको भन्दै जयगोविन्द साहले हत्यामा संलग्नहरूलाई कार्वाही गरेका थिए। आज असोज १० गते। उनैनै किसान नेता नन्दलाल सुस्लिङको ४२ औँ स्मृति दिवस। हार्दिक श्रद्दाशुमन नन्दलाला सुस्लिङ !

प्रकाशित मिति: : 2021-09-26 14:20:00

प्रतिकृया दिनुहोस्