दीपक हर समय पढिरहेको देखिन्छ। लेखिरहेको भेटिन्छ। ऊ हरदम शब्दहरूको बगैँचामा टहलिन्छ। सिर्जनाका बीजहरू उमार्छ। गोडमेल गर्दै हुर्काउँछ। फूलहरू फुलाउँछ। अथवा यसो भनौँ ऊ प्रत्येक क्षण साहित्य साधनामा निमग्न रहन्छ। साहित्य साधनामा लागेपछि भोक–निद्रा पनि बिर्सन्छ दीपक ! श्रीमती आशा दीपकलाई एकोहोरो मान्छे भन्ने गर्छे।
सरकारी सेवामा छँदा सेवाग्राहीको काममा बढी नै व्यस्त रह्यो दीपक। तथापि त्यही समयमा उसले पाँचवटा उपन्यास लेख्यो। दीपकलाई आम पाठकमाझ परिचित गराउनमा ती उपन्यासहरूको ठूलो भूमिका छ। दीपकको पाँचौँ कृति त साहित्य बजारको हटकेक नै बनेको थियो।
दीपकलाई राम्रो लगाउन र हाँसो, ठट्टा गर्नमा खासै सोख देखिँदैन। ऊ अधिकांश समय शब्दसँग खेल्छ, बरालिन्छ। दीपकको कोठाको र्याक साहित्य, इतिहास, दर्शन, धर्मशास्त्र, समाजशास्त्रलगायतका पुस्तकले भरिभराउ छन्। राम्रा पुस्तक देख्यो कि किनेर ल्याउने गर्छ ऊ।