विराटनगरका पुराना उद्योगी ताराचन्द खेतान (वर्ष ८४) को सक्रिय दिनचर्या छ । पहिलेजस्तो धपेडी छैन, तर व्यस्त भने छन् । जीवन भोगाइका उनको अनुभव प्रकाशोन्मुख पुस्तकको पाण्डुलिपिका केही पृष्ठमा भर्खरै उतारिएका छन् ।
हिजोआज फुर्सद मिल्यो कि उनी सुटुक्क कार्यकक्ष छिर्छन् । घर्रा तानेर ‘एफोर साइज’को कागजमाथि घोत्लिन्छन् । दोहोर्याइतेहेर्याइ ‘२० फन्ट साइज’का अक्षर सरसर्ती पढ्छन् । फरक परेका हरफ पुनर्लेखन गर्छन् । नमिलेका हिज्जे, मिति र दिनहरू भएका ठाउँमा रातो कलमले कोर्छन् । सच्याउनुपर्ने विषय थपिदिन्छन् ।
त्यही घर्राको अर्को छेउमा एउटा निवेदनको प्रतिलिपि बडो जतनले राखेका छन् । तर, त्यसको कार्यान्वयन हुने/नहुने विषयले भने उनको मन पोलिरहन्छ ।