कांग्रेसको वडा अधिवेशनमा मतदाता बन्धक, तामा–तुलसी छुवाएर कसम खुवाएपछि मुक्त (एक्सक्लुसिभ भिडियो)

कमल प्रभात

काठमाडौँ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ–१० को वडा अधिवेशनको अघिल्लो राति नयाँ बानेश्वरमा रोचक दृष्य देखिएको छ।

वडा प्रतिनिधिका उम्मेदवार वडा अध्यक्ष रामकुमार केसी र प्रदेश सभासद् दीपेन्द्र श्रेष्ठले क्रियाशील सदस्यहरुलाई आफ्नो पक्षमा मतदान गर्न भन्दै तामा र तुलसी छोएर कसम खान लगाएका हुन्।

सर्वसम्मत चयन भएका प्रतिनिधिहरुसहित करिब ५० जनालाई मंगलबार राति थापागाउँ बैंवक्वइटमा थुनेर जबर्जस्ती कसम खान लगाएको क्षेत्रीय प्रतिनिधि दिलिप गौतमले जानकारी दिए। बिएल नेपाली सेवाको टोली घटना स्थल पुग्दा कसम खुवाउने क्रम जारी थियो।

‘प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ र वडाध्यक्ष रामकुमार केसीले हामीले सर्वसम्मत रुपमा चयन गरेका महिला, दलित र जनजातिसहितका सदस्यहरुलाई थुनेर जबर्जस्ती आफ्नो पक्षमा भोट हाल्न भनेर कसम खान लगाउनुभयो’, उनले भने।

गौतमले भने, 'थुनिएकाहरुले मलाई फोन गरी जबर्जस्ती भइरहेको बताए। अनि हामी प्रहरी लिएर साथीभाइ सहित पुग्दा यस्तो भइरहेको रहेछ।'

प्रकाशित मिति: : 2021-09-22 12:35:00

प्रतिकृया दिनुहोस्