ईश्वर पोखरेलको प्रतिवेदन : माओवादीकेन्द्रसँग एकता भङ्ग भएपछि एमालेमा युवाको आकर्षण ह्वात्तै बढ्यो

केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे 

फाइल तस्वीर
फाइल तस्वीर

एमाले महासचिव ईश्वर पोखरेलले माओवादीकेन्द्रसँगको एकता भङ्ग भएपछि पार्टीमा युव पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन्।

एमालेको आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्दै पोखरेलले एकता भङ्ग भएपछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन्।

उनले माधव नेपालको नेतृत्वमा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी)  नामको बेग्‍लै पार्टी गठन भएपछि केन्द्रमा एमालेले २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् । प्रदेश र स्थानीय तहसमेतमा गरी १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन्।

प्रतिवेदनमा उनले पार्टी सदस्य बढेको त बताएका छन् तर एमाले एकताका लागि कार्यदलले तयार पारी स्थायी कमिटीले ग्रहण गरिसकेको १० बुँदे सहमतिको प्रस्तावमा भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने उल्लेख छ।

पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन्।

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ। बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन्।

प्रकाशित मिति: : 2021-09-20 14:42:00

प्रतिकृया दिनुहोस्