एमालेको नाराबाजीबीच बजेट पारित, सरकारलाई खर्च गर्ने बाटो खुला  

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले प्रतिस्थापन विधेयकका रुपमा ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद्हरुले वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले बहुमतका आधारमा  'विनियोजन विधेयक २०७८'  पारित भएको घोषणा गरेका हुन्।

प्रतिनिधिसभा विघटन भएपछि अघिल्लाे सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशका रुपमा बजेट ल्याएका थिए। अध्यादेशबाट ल्याएको उक्त बजेटलाई वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका रुपमा संशाेधन गरेका हुन्। 

संसदीय व्यवस्थामा एउटा सरकारले ल्याएको बजेट अर्को सरकारले संशाेधन गर्नुपरेमा पुरक बजेट ल्याउने गरिन्थ्यो। अर्थमन्त्री शर्माले भने अरु विधेयकहरुजस्तै आर्थिक विधेयकहरुलाई  पनि प्रतिस्थापन विधेयकका रुपमा ल्याएर बजेट संशाेधन गरेका हुन्। यो नेपालमा पहिलो अभ्यास हो।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख सापकोटाले अवरोधका बीच पनि निर्णयार्थ पेश गरेका थिए। एमाले सांसदको नाराबाजीबीच नै सभामुख सापकोटाले मत विभाजनका आधारमा  बहुमतबाट विधेयक पास गरेको घोषणा गरे।

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याएका कारण गत भदौ ३० गतेदेखि देश बजेटबिहीन अवस्थामा पुगेको थियो। पाँच दिनदेखि बन्द भएको सरकारी ढुकुटीबाट अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ।

प्रकाशित मिति: : 2021-09-20 12:07:00

प्रतिकृया दिनुहोस्