असोज ३ : २९ भदौ बुधबार। ‘ञंलाथ्व नवमी’को एकाबिहानै किलागल टोलको रौनक साविकभन्दा भिन्न थियो। स्थानीय डबलीमा ‘दीप्याखं’ अर्थात् ‘देवी नाच’को उल्लास थियो। नाच हेर्न र मुखौटा लगाएका देवदेवीको दर्शनमा टोलवासी गुजमुज्ज उभिएका थिए। सोही टोलका एक ज्येष्ठ नागरिक भन्दै थिए, ‘ल अब इन्द्रजात्रा सुरु भयो।’
‘दीप्याखं’ अर्थात् देवी नाचसँगै काठमाडौंका नेवार समुदाय इन्द्रजात्राको तयारीमा लाग्छन्। उपत्यकाकै सबैभन्दा ठूलोमध्यको एक हो, इन्द्रजात्रा। यसलाई नेपाल भाषामा ‘येँया पुन्ही’ भनिन्छ।
‘ञँलाथ्व नवमी’मा देखाइने दीप्याखंले इन्द्रजात्रा नजिकिएको संकेत गर्छ। जात्राको औपचारिक सुरुवात भने भाद्र शुल्क पक्षको ञंलाथ्व द्वादशीमा इन्द्र ध्वजोत्थानसँगै हुन्छ। जात्राको अवधि आठ दिनको हुन्छ। अन्तिम दिन ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतन गरी जात्रा सम्पन्न हुन्छ।
दीप्याखंजस्तै इन्द्रजात्राको रौनकता थप्ने नाच हुन्, महाकाली र दशावतार नाच। काठमाडौंको इन्द्रजात्राका लागि भक्तपुरबाट महाकाली गणको नाच आउँछ। भाद्र शुक्ल द्वादशीमा यो नाच देखाइन्छ। सोही दिन कुमारीघर सामुन्ने त्रैलोक्यमोहन नारायण मन्दिरको पछाडि पाँच खुड्किलाको पेटीमा दशावतारको नृत्य पनि प्रदर्शन गरिन्छ।
इन्द्रध्वज उठाइसकेपछि कागेश्वर महादेव मन्दिर अगाडि पुनः नाच प्रदर्शन गरिन्छ। जात्रा अवधिभर विभिन्न समय र खण्डमा नाच देखाइन्छ। ‘देवी नाच इन्द्रजात्राबाहेक अन्य समयमा पनि हुन्छ, इन्द्रजात्राको अवधिमा पनि देखाइन्छ,’ दीप्याखं गणका भैरव नर्तकको रूपमा रहेका बद्री महर्जन भन्छन्।