सर्वोच्च अदालतले पटक पटक दिएको कम्मरभन्दा माथि वा गोली नै नचलाउने आदेशलाई समेत टेरिएन। राज्यको दमनमा चार वर्षे बालकदेखि ६० वर्षीय वृद्ध पनि परे। दर्जनौं मधेशीको छाती र टाउकोमा गोली हानियो।
मैथिलीमा एउटा भनाइ छ- ‘सुर-सुर मुर-मुर दुनु एके सँगे नै भसकैत अछि।’ यो भनाइले एकैसाथ पक्ष र विपक्षमा उभिन नसकिने भन्ने बुझाउँछ। सामान्य भाषामा भन्दा एउटा हातमा चिसो र अर्को हातमा चिया लिई सँगसँगै पिउन सकिंदैन भन्ने हो। तर, मधेश केन्द्रित दलहरूको हकमा भने यो सिद्धान्त लागू हुंदैन।
किनकि, मधेश केन्द्रित दलहरू ३ असोज २०७२ मा जारी भएको संविधान अन्तर्गत बनेको सरकार र त्यसभित्र स्थापित पदहरूको रसास्वादन त गर्न रमाउँछन्, तर संविधान दिवस मनाउन अप्ठ्यारो मान्छन्। उनीहरूले त अझ ३ असोजलाई कालो दिवसको संज्ञा दिएका छन्। यसका विरुद्ध काठमाडौंमा पनि जनता उचाले, आन्दोलन गरे र गराए।
संविधान जारी हुँदा मधेशमा आन्दोलन भएको थियो। आन्दोलनमा उठाइएका माग जायज थिए र छन् पनि। तर, आन्दोलन गर्न र गराउन उत्प्रेरित गर्ने शक्ति भने सही थिएनन् र छैनन् पनि।
उनीहरूले पाए जतिका राजनीतिक पदमा आफ्नो मान्छेलाई नियुक्त गरे। मन्त्री भए, संवैधानिक निकायमा गए, आफू र आफन्तलाई त्यो ठाउँमा पुर्याए। जुन संविधान विरुद्ध १३५ दिन नाकाबन्दी गरे, त्यही संविधानको मर्मभित्र रहेर सत्ताको स्वाद लिए र लिइरहेका छन्।