सोमबार, १५ डिसेम्बर २०२५

लण्डनमा आयाेजना हुन लागेकाे ‘एनआरएन दी सिङ्गर’ कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

News Image
• • •

गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ।

दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ। कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसारण गरिने सम्झौतामा उल्लेख छ।

आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हुनेछ र त्यसको प्रत्यक्ष प्रसारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ।

एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले ‘प्रि अडिसन’ तयारी लगभग सकिएको बताए। गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो।

कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए।

दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन्। ‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!