'कस्तो सोमत नभएको केटा रैछ,' घाँटीघाँटी आइसकेको वचन मैले रुद्रघन्टीमै रोकेँ। जाडो महिनाको एकसाँझ कमलपोखरीबाट सिनामंगल जाने टेम्पो चढ्नेबित्तिकै मैले उसलाई देखेकी थिएँ।
त्यो साँझको अन्तिम टेम्पो थियो। सिट जति भरिएका। म उभिनेमा परेँ। दायाँपट्टि अन्तिमबाट दोस्रोमा त्यो केटा थियो। सायद २३/२४ वर्ष उमेरको हुँदो हो। पछाडि झोला बोकेको, दुब्लो देखिन्थ्यो। उसका लामा-लामा खुट्टा फैलिएका थिए। यता छेउतिर दुई महिला थिए। उनीहरूले आफ्ना खुट्टा यसरी खुम्च्याएका थिए, मानौं उनीहरूकै कारण अरू कोच्चिन परिरहेको छ। ऊ भने घरको सोफामा झैं मस्तराम।
हामी केटीहरू त यति मस्तराम हुन कहाँ पायौं र?
घरमै त पाएनौं।सानैमा जब हामी दिदीबहिनी त्यसरी नै खुट्टा फैलाएर बस्थ्यौं, हजुरआमाले 'कसरी बसेको हो, सोमत पनि छैन?' भन्नेबित्तिकै खुम्च्याउँथ्यौं। मैतिदेवी पुगेपछि सबभन्दा अन्तिमको सिट खाली भयो।
म 'सोमत नभएको केटा' को छेउमा बस्नुपर्यो। बस्दाबस्दै मैले भनिहालेँ 'तपाईं अलि राम्ररी बस्नु है।' उसको ज्यान र खुट्टा दुवै चलमलाए।
म उसैगरी बसेँ जसरी सानैमा हजुरआमाले सिकाउनुभएको थियो। अलिकति फैलाए अर्कालाई हेर्न पनि गाह्रो हुन्छ कि भनेझैं खुट्टा खुम्च्याएँ।
परिवार र गाउँभरिका ठूलाहरूले सोमत सिकाउँदा सिकाउँदै मेरो, बहिनीहरूको, केटीसाथीहरूको खुम्चिने बानी परिसकेको छ। कतिसम्म, हामी एक्लै बस्दा समेत फुक्दैनौं।
तर अहँ, त्यो सार्वजनिक टेम्पोमा भेटिएको केटाले आफ्ना दुई खुट्टा नजिक लगेन। उसका खुट्टा मेरै खुट्टासँग ढेस्सिए। उसैगरी फैलिए। उसलाई हजुरआमाले कहिलै 'कसरी बसेको, सोमत नभएको केटा!' भनिनन् होला।