देउवा–निधि सम्बन्धको नालीबेली : २५ वर्षको सहयात्रापछि वारपारको भिडन्त

देउवाको त्यो वचन, निधिको यो अडान

लोकान्तर

उद्धव थापा

२०७३ सालमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन भत्काएर कांग्रेसलाई सत्तामा पुर्‍याउने ‘गेम चेन्जर’ थिए विमलेन्द्र निधि।त्यही वर्ष वैशाखमा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्काएर कांग्रेस–माओवादी केन्द्रको गठबन्धन बनाउने प्रयास असफल भयो। प्रधानमन्त्री लिएर कांग्रेससँग मिल्न तयार भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम क्षणमा एमालेसँगै मिले। सत्तारोहणको सबै तारतम्य मिलाएको कांग्रेस एकाएक पछारियो। कांग्रेसका नेता प्रचण्डसँग आगो भए।

त्यसबेला देउवाले कांग्रेसका नेताहरूसँग भन्ने गरेका थिए, ‘फुटेको कांग्रेसको सभापति भइयो, सिंगो कांग्रेसको पनि सभापति भइयो। ३ पटक प्रधानमन्त्री पनि भइयो। अब गणतन्त्रपछिको नयाँ व्यवस्थामा प्रधानमन्त्री बन्ने रहर छ।’देउवाले निधि लगायतको टीमसँग यो रहर व्यक्त गरेपछि निधिले माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनसँग संवाद बाक्लो बनाए। २ महिनाअघि खेर गएको प्रयास निधिले २ महिनापछि सफल बनाइदिए।

एमाले–माओवादी गठबन्धनको सरकार ढल्यो र कांग्रेस–माओवादी गठबन्धन बन्यो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। उनले एक चरणको स्थानीय तहको चुनाव गराए। अर्को चरणको चुनाव गराउनका लागि पूर्व सहमतिअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छाडिदिए।

एमालेलाई प्रतिपक्षमा पुर्‍याएर चुनावी सरकारको नेतृत्व आफ्नो पार्टीमा ल्याउने राजनीतिक खेलाडी थिए सभापति शेरबहादुर देउवाका विश्वासपात्र विमलेन्द्र निधि। 

विमलेन्द्र निधिले गरेका कैयौं गोप्य भेट र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिसँग गरेको ‘डिल’को परिणाम थियो कांग्रेस–माओवादी गठबन्धन। त्यही सरकारमा उनी उपप्रधानसहित गृहमन्त्री बनाइए।

त्यति मात्रै होइन, सत्तारोहण गराएको गुन देउवाले निधिलाई उपसभापति मनोनयन गरेर तिरे। त्यसअघि देउवाले उनका अर्का विश्वासपात्र गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने वचन दिएका थिए तर निधिले श्रेष्ठलाई पछि पारिदिए। देउवालाई कांग्रेस भित्रको राजनीतिक मोर्चा र सत्तारोहणमा सफल बनाउन सबैभन्दा बढी खट्ने मध्येका हुन् निधि।

प्रकाशित मिति: : 2021-09-17 10:48:00

प्रतिकृया दिनुहोस्