मन लागेको काम गर्नु जस्तो विलासी जीवन अरु केही होला?
किशोरवय अवस्थामा प्रेमको बिउँ कोही अपरिचितसँग अंकुराउँदै थियो। बिउँले मुना हाल्यो। करिब डेढ वर्ष भेटघाट बिना प्रेमिल जीवन चल्यो।
एक दिन प्रेमिकाले भेट्न प्रस्ताव राखिन्। प्रेमीले भेट्न चाहेका थिएनन्। उनी 'लङ डिस्टेन्श रिलेशनसिप'मा बस्न चाहन्थे।
दूरीमा बसेर प्रेमीले प्रेमिकालाई जुनसँग तुलना गरे। फूलसँग तुलना गरे। सँगै जिउने सपना पनि देखे। यहि बिच प्रेमिकाले भेट्न इच्छा गरिन्। उनी तत्काल भेट्न चाहन्न थिए। कारण उनीसँग आज पनि छैन। प्रेमिकाले भेट्ने इच्छा तिव्र पारेपछि चिया खाने मेलो प्रेमीले मिलाए। राजधानीको कुनै एक क्याफेमा दुवैको भेट भयो। र त्यहि भेटले एक प्रेमिल जोडीको प्रेम सदाका लागि नभेटिने गरेर छुट्टियो। डेढ वर्ष प्रेममा डुबेका प्रेमी थिए गायक दिनेश गौतम अर्थात पुस्तक प्रसाद।
अनि प्रेमिका ?
एक भेटमा उनले ती प्रेमिकाको परिचय त खोलेनन्। तर, उनको सौन्दर्य, आनीबानीबारे सविस्तार सुनाए। 'अग्लो जिउडाल थियो। अनुहारमा चमक थियो। बोलिरहनु पर्ने उसको बानी थियो। फेशनसेन्स थियो उसमा', गौतमले छुटिजाने प्रेमिकाको नामको बखान गर्दा पंक्तिकारले उसको अनुहारको दृश्य कल्पना मात्र गर्यो। कुनै प्रेमिल उपन्यासको पात्र सम्झ्यो। खिस्स हाँस्यो। उनी त्यो प्रेम छुट्नुमा आफू दोषी मान्छन्। 'म उनीसँग सुहाउँदो थिइन्। न मसँग रुप थियो। न त आर्थिक सम्पन्नता', मन्द मुस्कानसहित गौतमले यति बोले।
अपूरो प्रेमको उक्त भाइरसले मुटुमा बिझाउन सुरू गर्यो। छटपटिकाबीच उनले गीत लेखे। 'पैसा कसले बनायो?'
प्रेमको नाममा उनीसँग भएको यहि एउटा गीत हो। उनी अहिले आफ्नो यहि गीत सुन्दा अतितमा फर्कन्छन्, 'मैले पनि कसैलाई प्रेम गरेको थिएँ नी।' उक्त गीत उनी आफैले गाए। गीत हिट भयो। त्यहि गीतको फेरो समात्दै उनी नेपाली संगीत क्षेत्रमा आए।